१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

हवाई उडानमा तुँवालो बाधक

दिनहुँ आधाजति उडान रद्द

पोखरा विमानस्थलमा शनिबार दिउँसो हवाई उडानको पर्खाइमा रहेका यात्रु। तस्बिरः उमेश पुन/नागरिक

एकसातादेखि पोखराबाट हुने हवाई उडान दिनहुँजसो प्रभावित भएको छ। तुँवालोका कारण भिजिविलिटी नपुग्दा विभिन्न गन्तव्यमा हुने उडान प्रभावित भएका हुन्। उडान प्रभावित हुँदा यात्रुलाई सास्ती हुने गरेको छ।  

पोखरा विमानस्थलका सुचना अधिकारी देवराज सुवेदीका अनुसार पछिल्लो एकसातादेखि दिनहुँ आधाजसो उडान रद्द भईरहेका छन। पछिल्लो समय पोखरा विमानस्थलबाट विभिन्न गन्तव्यका लागि दिनमा करिब तीनदर्जन (एकतर्फी) उडान हुने गरेका थिए। त्यसबाहेक अल्ट्रालाइट र हेलिकप्टरको उडान पनि उत्तिकै हुने गरेको थियो। पोखरा विमानस्थलले दिनमा एकसय बढी उडान र अवतरण व्यवस्थापन गर्दै आएको थियो।  

तर, भिजिविलिटी नपुग्दा उडान र अवतरण प्रभावित भएको सुवेदीले बताए । उनका अनुसार सबैजसो रुटका उडान अहिले प्रभावित भएका छन्। ‘एकसातादेखि दैनिक आधाजत्ति उडान अवरुद्ध भएका छन। अल्ट्रालाइटका उडान पनि प्रभावित छन्। डाँडाकाँडा ढाकिने गरि बाक्लो तुवाँलो लागेकोले उडान प्रभावित भएका छन। उडान प्रभावित हुँदा व्यवस्थापन चूनौतीपूर्ण बन्दै गएको छ,’ उनले भने, ‘उडान हुनका लागि आवश्यक पाँचहजार मिटरको भिजिविलिटी पुग्दैन। त्यसैले उडान रोकिएका छन्।’ सुवेदीका अनुसार पोखराको भिजिविलिटी चारहजार मिटर मात्र हुने गरेको छ।

पोखराबाट बिहान ६ बजे नै मुस्ताङको जोमसोमका लागि उडान सुरु हुन्छ। तर, अहिले विमानस्थल बिहानको समयमा समेत खुल्न छाडेको छ। बिहानपख खुलिहालेको खण्डमा पनि केहीबेरपछि पुन बन्द हुने गरेको छ। शनिबार बिहान ६ बजे नै खुलेको विमानस्थल ७ बजेपछि बन्द भएको थियो। तुवाँलो बढ्दा जोमसोमबाट फर्केको जहाज अवतरणमा समेत अप्ठेरो परेको थियो। विमानस्थल खुलै रहेको जानकारी पाएपछि जोमसोमबाट उडेको जहाज पोखरा आइपुग्दा तुवाँलोले ढाकिसकेको थियो।  

बिहानपख खुलेको विमानस्थल उडान र अवतरण पनि तुुवाँलोले ढाकेपछि रोकिने गरेको उनले बताए। ‘बिहानपख खुलेको विमानस्थल पनि पछि बन्द हुने गरेको छ। अनि दिउँसो ढिलागरि मात्र विमानस्थल खुल्ने गरेको छ,’ उनले भने, ‘एकसातादेखि दिनहुँ यस्तै अप्ठेरो आउने गरेको छ।’  

सुवेदीका अनुसार दिउँसो २ बजेपछि मात्र उडान र अवरण हुने गरेको छ। बिहानपखका अधिकांश उडान रद्द हुने गरेको उनले बताए। ढिलागरि विमानस्थल खुलेपछि एकैपटक उडान र अवतरणमा चाँप पर्ने गरेको सुवेदीले बताए। अहिले पोखरा विमानस्थलबाट बेलुकी साढे ६ बजेसम्म उडान हुने गरेको छ। पोखराबाट काठमाडौं, जोमसोम, भरतपुर, भैरहवा, नेपालगञ्ज, धनगढी, सिमरा र जनकपुरसम्म नियमित उडान भईरहेका छन्। ती मध्ये सबैभन्दा बढी बुद्ध एयरले काठमाडौंका लागि दैनिक दर्जन हाराहारीमा उडान गर्दै आएको छ। पोखराबाट बुद्ध, यती, श्री, गुण, तारा र समिट एयरले विभिन्न गन्तव्यमा उडान गर्छन्।

पोखरामा भिजुअल फ्लाईट रुल्स (भिएफआर) प्रविधिमा आधारित भएर मात्र उडान हुन्छ। भिएफआरमा ५ किलोमिटर दुरीको ग्राउन्ड भिजिविलिटी हुनुपर्छ। तर तुवाँलोले पोखरा विमानस्थलको भिजिविलिटी कम हुने गरेको सुवेदी बताउँछन्। हवाई उडड्यन क्षेत्रका पदाधिकारीका अनुसार विमानस्थलमा सामान्यतया दुई नियम अनुसार उडान र अवतरण संचालन हुन्छ। एउटा भिजुअल फ्लाइट रुल (भीएफआर) र अर्को इन्स्ट्रयुमेन्टल फ्लाइट रुल (आइएफआर) हुन्छ। सामान्य अवस्थामा भीएफआरबाट उडान–अवतरण गरिन्छ। यस नियम अनुसार भिजिबिलिटी ५ किलोमिटर आवश्यक पर्छ। यो नियमअनुसार जहाजको उडान–अवतरण छिटो हुन्छ। किनकि यसमा जहाजको ककपिटमा बसेका पाइलटले आफैले हेरेर कन्ट्रोल टावरसँगको समन्वयमा जहाज उडान–अवतरण गराउन सक्छन।  

तर, मौसम बिग्रदा, तुवाँलो लाग्दा भीएफआर नियमअनुसार उडान अवतरण सम्भव नभए आइएफआरबाट उडान गर्छन। यसका लागि काठमाडौंमा २ किलोमिटर भिजिविलिटी आवश्यक पर्छ। आइएफआरमा ढिला उडान हुने पदाधिकारी बताउँछन्। प्रविधिमा आधारित रहेर उडान गर्ने भएकोले आइएफआर नियमअनुसार उडान–अवतरण गर्न २ हजारदेखि २५ सय मिटरसम्म भिजिबिलिटी चाहिन्छ। भिएफआरको तुलनामा आइएफआरमा उडान–अवतरणको समय बढी लाग्ने भएकाले जहाज डिले हुने र आकाशका होल्ड गर्नुपर्ने प्राविधिकहरुको भनाई छ। पोखरामा सधैं भिएफआरबाट उडान संचालन हुन्छ।

तुँवालोका कारण यहाँ पर्यटकीय गतिविधि पनि प्रभावित भएको पर्यटन व्यवसायीले बताएका छन्। पोखरा अल्ट्रालाइट कम्पनिका संचालक समेत रहेका पोखरा पर्यटन परिषद (पिटिसी)का उपाध्यक्ष पोमनारायण श्रेष्ठ भन्छन, ‘अल्ट्रालाइट जहाजको उडान पनि प्रभावित भएको छ। लामो समयपछि पर्यटनमा चहलपहल सुरु भएको बेला फेरि तुवाँलोको असर परेको छ।’

बुद्ध एयरका पोखरास्थित स्टेशन म्यानेजर गौतम बरालले पनि तुवाँलोको कारण दिनहुँ उडान प्रभावित भएको बताउँछन्। उनका अनुसार बिहानीपखका अधिकांश उडान रद्द हुने गरेका छन्। ‘विमानस्थल नै दिउँसोमा मात्र खुल्ने भएको छ। बिहानपखका सबै उडान रोकिएका छन,’ बरालले भने, ‘यसले यात्रुलाई समस्या परेको छ। व्यवस्थापनमा समेत चुनौती थपिएको छ।’ उडान तालिका अनुसार यात्रु गन्तव्यमा जान नपाएपछि गाडी रिजर्भ गरेरै हिड्नुपर्ने अवस्था आएको उनले बताए।  

प्रकाशित: १९ चैत्र २०७८ १०:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App