coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

आफ्नै स्रोतले मात्र अर्थतन्त्र दिगो हुने

एसियाली विकास बैंक एडिबीका दक्षिण एसिया मामिला हेर्ने उपमहानिर्देशक मनमोहन प्रकाशले नवीन र स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादनमा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन्।

विश्वव्यापी बजारको अवसर, अन्वेषण र नयाँ प्रविधिमार्फत देशको आफ्नै स्रोतसाधनले अर्थतन्त्रलाई दिगो बनाउनुपर्नेमा उनले जोड दिएका हुन्। बैंक तथा वित्तीय संस्था परिसंघ नेपालका पदाधिकारीसँग काठमाडौंमा भएको छलफलमा उनले साना तथा मझौला व्यवसायीलाई विनाधितो कर्जा उपलब्ध गराएर उनीहरूलाई दिगो रूपमा व्यवसाय सञ्चालन गर्नसक्ने वातावरण तयार गर्नुपर्ने बताए।

‘यस्ता उद्योगबाट ठूलो संख्यामा रोजगारी सृजना हुने हुनाले यी उद्योगलाई वित्तीय पहुँच, बजार र पूर्वाधारसँगै सिप सहयोग गर्नुपर्छ,’ उनले भने। यस्तै महिलालाई सिप र सहज वित्तीय पहुँचको माध्यमबाट व्यवसाय प्रवर्धन गरी दिगो बनाउन सके अर्थतन्त्रलाई ठुलो सहयोग पुग्ने उनले सुझाव दिए।

यस्तै एडिबी मनिलाका निर्देशक थियाम हि इंगले स्वदेशी उद्योगको सम्भावना र आत्मनिर्भर अर्थतन्त्रका लागि यस क्षेत्रको दिगो रणनीतिबारे धारणा राखे। परिसंघ अध्यक्ष पवनकुमार गोल्यानले आर्थिक संकटको बेलामा एडिबीले नेपाललाई एक अर्ब डलरभन्दा बढीको सहुलियत ऋण उपलब्ध गराउन अनुरोध गरे।

गोयलका अनुसार यो सहयोग आए तरलता समस्या समाधान हुने र बैंक तथा वित्तीय संस्थाले निजी क्षेत्रलाई लक्ष्यअनुरूप ऋण पनि दिन सक्नेछन्। गोल्यानले वाणिज्य बैंकहरूले उपभोग गर्न सक्ने अन्तर्राष्ट्रिय वित्तीय संस्थाबाट व्यावसायिक ऋण ल्याउन एडिबीको सहजीकरण आवश्यक रहेको बताए।

‘हाल आयात ४२ प्रतिशतभन्दा बढीले बढेको र रेमिट्यान्स निकै न्यून भएको र सोधनान्तर अवस्था पनि २ सय ४७ अर्ब ३ करोडले घाटामा रहेकाले सहयोग आवश्यक परेको हो,’ उनले भने। परिसंघका वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाहले लगानीकर्तामैत्री वातावरण सिर्जना गर्नुपर्ने आवश्यकतामाथि जोड दिए।

प्रकाशित: ६ चैत्र २०७८ ०४:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App