१८ असार २०८१ मंगलबार
image/svg+xml
अर्थ

आन्तरिक उडानमा फड्को मार्दै पोखरा

पोखरा विमानस्थलबाट अहिले दिनमा ३० को हाराहारीमा ठुला उडान भइरहेका छन्। त्यसबाहेक हेलिकोप्टर र अल्ट्रालाइटको समेत त्यत्तिकै संख्यामा उडान हुन्छ। ठुलासाना गरी पोखरा विमानस्थलले अहिले दिनमा एक सय बढी उडान व्यवस्थापन गरिरहेको छ।

पोखराबाट यतिबेला भइरहेका उडानमध्ये काठमाडौंसँगको हिस्सा बढी छ। काठमाडौसँग पोखराको उडान संख्या अहिले दिनमा डेढ दर्जनभन्दा बढी छ। तीमध्ये अधिकांश उडान ठुला आकारका जहाज (७२ सिट क्षमताका एटिआर ७२–५००) बाट भइरहेका छन्। यती र बुद्ध एयरलाइन्ससँग ती जहाज छन्। त्यसबाहेक पोखरालाई अन्य ठुला सहरसँग हवाई उडानले जोड्दै जाँदा पोखराको हवाई सञ्जालले गति लिएको छ।

निजी हवाई कम्पनी अझै नयाँ गन्तव्यसँग पोखरालाई जोड्ने योजनामा छन्। पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीका अनुसार अहिले पोखरा–काठमाडौंको उडान संख्या निकै नै बढेको छ। कोरोना सुरु हुनुअघि सानो आकारका जहाजबाट उडान हुने गरेकोमा अहिले हुने उडानका सबैजसो जहाज ठुला आकारका छन्।

अहिले बुद्ध एयरले मात्र पोखरा–काठमाडौं रुटमा दिनमा दर्जन उडान गरिरहेको छ। ती सबै उडान ठुला आकारका जहाजबाट हुने गरेको छ। त्यस्तै पोखरा–काठमाडौं रुटमै उड्ने यती एयरलाइन्सका जहाज पनि ठुला छन्। श्री एयरलाइन्सले पनि अहिले यो रुटमा उडान गरिरहेको छ। गुण एयरलाइन्सले पनि दैनिक उडान गरिरहेको छ।

‘अहिले सबै गरेर दिनमा १४ सय यात्रुुले एकतर्फी यात्रा गरेका छन्। कोरोनाले पर्यटन क्षेत्र थलिएको अवस्थामा पनि हवाई उडानमा भने व्यापक सुधार देखिएको छ,’ सुवेदी भन्छन्, ‘कोरोना सुरु हुनुअघि विदेशी पर्यटक हुँदाको अवस्थामा हुने उडानभन्दा अहिले यात्रुको संख्या धेरै छ। अहिले विदेशी एकाध मात्र छन्, सबैजसो आन्तरिक यात्रु छन्। कोरोना सुरु हुनुअघि आन्तरिक यात्रु कम थिए, विदेशीको बाहुल्य थियो। अहिले आन्तरिक यात्रुकै भरमा हवाई क्षेत्रले स्थान बढाएको छ।’

त्यसबाहेक पोखराले पछिल्लो केही समयमा हवाई सञ्जाल पनि व्यापक विस्तार गर्न सकेको छ। पोखराबाट नियमित हवाई उडान भइरहेका काठमाडौं र जोमसोम पुराना गन्तव्य हुन्। ती रुटमा लामो समयदेखि नियमित उडान भइरहेको छ। तर पछिल्लो समय भरतपुर, भैरहवा, नेपालगन्ज, धनगढी, जनकपुर र सिमरासम्म उडान भइरहेको छ।

पोखरा विमानस्थलले अहिले मुख्य सातवटा ठुला सहरसँग हवाई सञ्जालले आफूलाई जोडेको छ। अबको केही समयभित्र बुद्ध एयरलाइन्सले पोखरालाई विराटनगर र भद्रपुर जोड्नेगरी उडानको तयारी गरेको छ। ती गन्तव्यमा उडान सुरु भएपछि पोखराको हवाई सञ्जालले अझै फड्को मार्ने उनले बताए।

‘पोखरासँगको हवाई सञ्जालले तीव्र गतिमा फड्को मारेको छ। कोरोना संक्रमणले अरु क्षेत्र साँघुरिएको भए पनि पोखराले आन्तरिक हवाई रुटमा भने आफूलाई विस्तार गर्न सफल भएको छ,’ सुवेदीले भने, ‘आन्तरिक उडानमा काठमाडौंपछि सबैभन्दा धेरै गन्तव्यमा उडान गर्ने सहर पोखरा बनिसकेको छ।’ अहिलेको उडान संख्या हेर्दा आगामी दिनमा पोखरा आउने आन्तरिक पाहुनाको आकार बढ्नेमा आशंका गर्नुनपर्ने उनले बताए।

‘छोटो रुटको दुरीमा पनि ठुला आकारका जहाजबाट नियमित उडान हुनुले पनि आन्तरिक यात्रुले खर्च गर्न सक्ने क्षमता राख्छन् भन्ने पुष्टि हुन्छ,’ उनले भने, ‘कोरोनाले पर्यटन क्षेत्र ध्वस्त भएका बेला पनि आन्तरिक हवाई उडान भने बढिरहेको देखाउँछ। ’पोखराबाट चितवनको भरतपुर १२६ किलोमिटर टाढा पर्छ। निजी गाडीमा जाँदा पोखराबाट तीन घन्टामा सहजै भरतपुर पुगिन्छ। सार्वजनिक गाडीमा जाँदा पनि बढीमा चार घन्टामा भरतपुर पुग्न सकिन्छ। पोखराबाट भरतपुर १५ मिनेटको हवाई दुरी हो। बुद्ध एयरलाइन्सले यो रुटमा उडान सुरु गर्दा धेरैको जिज्ञासा थियो, पोखरा–भरतपुर उडान चल्छ र?’

त्यो बेला मुग्लिन–नारायणगढ सडकको झन्झटिलो यात्रालाई सहजीकरण गर्ने भन्दै पोखराबाट हवाई उडान थालिएको थियो। तीन घन्टामा गाडीमा पुगिने दुरीमा हवाई उडान सुरु गर्दा यो रुटमा यात्रु नपाउने धेरैको आशंका थियो। तर पोखरा–भरतपुर अहिले स्थापित रुट बनिसकेको छ। कोरोनाले पर्यटन क्षेत्र थलिएर विदेशी पाहुनाको आगमन शून्यमा झरेको अवस्थामा पनि यो रुटमा नियमित उडान भइरहेको छ। त्यो पनि ४७ सिट क्षमताको एटिआर–४२ जहाजका लागि यात्रु अभाव छैन।

‘पोखरा–भरतपुर धेरैले नपत्याएको हवाई रुट हो। छोटो दुरीमा हवाई उडान सञ्चालन गर्दा यात्रु अभाव हुने धेरैको अनुमान थियो,’ बुद्ध एयरका पोखरास्थित स्टेसन म्यानेजर गौतम बराल भन्छन्, ‘तर अहिले यो रुटमा दिनहुँ उडान भइरहेको छ। १८ सिट क्षमताको जहाजले माग थेग्न नसकेपछि ४७ सिट क्षमताको जहाज प्रयोग भएको छ।’

अहिले उडान भइरहेका रुटमध्ये स्थापित गन्तव्यमा भैरहवा र नेपालगन्ज पनि हुन्। पोखरा–भैरहवा अहिले दैनिक दुईवटा उडान भइरहेका छन्। त्यस्तै नेपालगन्जमा पनि उडान नियमित भइरहेको छ। सातामा १० वटासम्म उडान नेपालगन्जमा हुने गरेका छन्। बुद्धले मात्र नभई गुण एयरलाइन्सले पनि अहिले पोखराबाट भरतपुर, भैरहवा र नेपालगन्ज उडान गरिरहेको छ।

‘विदेशी पाहुनाबिनाको हवाई उडान संख्या निकै नै राम्रो मान्नुपर्छ। कोरोना संक्रमण यत्तिकैमा रोकिने र विदेशी पाहुना आउन थाल्ने हो भने यो उडानले झनै गति लिनेछ,’ बरालले भने, ‘कोरोनाअघि अहिलेभन्दा केही महँगो भाडा थियो। किनकि विदेशी पाहुना पर्याप्त हुँदा भाडा घट्न सकेको थिएन। अहिले भाडादर घटेको छ र आन्तरिक यात्रु पनि थपिएका छन्।’

कोरोनाअघिको अवस्थामा विदेशी यात्रु पर्याप्त हुँदा पोखराबाट काठमाडौंसम्मको सबैजसो उडानको भाडादर महँगो पथ्र्यो भने चाहेको बेलामा टिकट पाउन पनि हम्मेहम्मे थियो। पर्यटन व्यवसायी पनि पोखरा विमानस्थलले पछिल्लो समय निकै नै ठुलो सञ्जाल विस्तार गर्न सकेको बताउँछन्। पोखरा पर्यटन परिषद् (पिटिसी) का उपाध्यक्ष पोमनारायण श्रेष्ठ आन्तरिक र भारतीय पर्यटक भित्र्याउन यो सञ्जाल निकै प्रभावकारी भएको बताउँछन्।

‘स्थलमार्ग अप्ठेरो हुँदा यात्रुले छोटो दुरीमा पनि हवाई माध्यम खोजेका हुन्,’ श्रेष्ठले भने, ‘स्थलमार्ग अप्ठेरो हुँदा साह्रै नै सास्ती थियो। अब सहज भएको छ। अहिले पोखरा हवाई उडानबाट ठुला सहरसँग धमाधम जोडिन थालेको छ।’ हवाई सञ्जाल विस्तार हुँदा आन्तरिक यात्रुलाई नै बढी फाइदा पुग्ने उनले बताए। ‘पोखराको हवाई सञ्जालले सोच्दै नसोचेको गति लिएको छ। यसबाट पोखरामा पाहुना आगमन बढाउन सहज हुन्छ,’ उनले भने।

प्रकाशित: ६ चैत्र २०७८ ०१:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App