coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

सुरुङ खन्ने प्रक्रिया सुरु हुँदै

तराई/मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) अन्तर्गतको सुरुङमार्ग निर्माणमा ठेकेदार कम्पनी परिचालन भइसकेको छ। फास्ट ट्रयाकमा ६.३७५ किलोमिटर सुरुङमार्ग निर्माण गर्नुपर्ने हुन्छ। आयोजनाले सुरुङमार्ग निर्माणको लागि दुई प्याकेजमा निर्माणको लागि प्राविधिक प्रक्रिया पूरा गरिसकेको जनाएको छ। साढे ७२ किलोमिटरको द्रुतमार्गमा दुई प्याकेजमा गरेर ६.३७५ किलोमिटर सुरुङ निर्माण गर्नुपर्ने हुन्छ।

नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले काठमाडौं–तराई/मधेश द्रुतमार्ग अन्तर्गत सुरुङ निर्माणका ठेकेदार कम्पनीले सुरुङ खन्नुपूर्वको तयारी सुरु गरिसकेको बताए। ‘सुरुङमार्गको दुई प्याकेजको टेन्डर प्रक्रियाको सबै प्रक्रिया सकेर निर्माण कम्पनीले मोबिलाइजेसन बापतको रकम समेत बुझिसकेका छन्,’ उनले भने, ‘उनीहरूले निर्माणको काम पनि सुरु गरिसकेका छन्। आयोजनास्थलमा क्याम्प निर्माण र फिजिकल सर्भे लगायत काम भइसकेको छ। निर्माण कम्पनीले सुरुङमार्ग निर्माणअघि गर्नुपर्ने सुरुङको पोर्टलको रक स्ट्याबिलाइजिङ लगायत काम गरिरहेको छ।’ प्रवक्ता सिलवालले सुरुङको पोर्टल (मुख) खन्ने काम सुरु भइनसके पनि सुरुङ खन्नुपूर्वको काम भइरहेको बताए।

काठमाडौं–तराई/मधेश द्रुतमार्ग आयोजना कार्यान्वयन तथा अपरेसन महाशाखा प्रमुख विश्वबन्धु पहाडीले फास्ट ट्रयाक अन्तर्गतको सुरुङमार्ग केही समयभित्रै खन्न सुरु गरिने बताए। ‘अहिले सुरुङमार्गको पोर्टल (मुख) वरपर रक स्टेबिलाइजिङ लगायतको काम सुरु हुन लागेको छ,’ उनले भने, ‘तीन वर्षभित्रै आयोजना मातहतका सुरुङमार्ग निर्माण गर्ने लक्ष्य राखेका छौं।’ आयोजनाका अनुसार दुई–दुई लेनको सुरुङमार्ग निर्माण गरिनेछ। सुरुङमार्गको प्याकेज १ अन्तर्गत महादेवटार खण्डको ३.३५५ किलोमिटर सुरुङ खन्ने ठेक्का चाइना स्टेट कन्सट्रक्सन कम्पनीले पाएको छ। आयोजनाले चिनियाँ कम्पनी चाइना स्टेटसँग २१ अर्ब ६१ करोड लागतमा ठेक्का सम्झौता गरेको थियो। यो खण्डको ठेक्का सम्झौता २०७८ वैशाख ३१ गते भएको थियो।

दोस्रो प्याकेजको सुरुङमार्ग निर्माणको ठेक्का पनि चिनियाँ कम्पनी पोलिचङ्दाले पाएको छ। उसले धेद्रेदेखि लेनडाँडासम्म ३.०२ किलोमिटर सुरुङ खन्ने ठेक्का पाएको छ। दोस्रो प्याकेजलाई १.६१ किलोमिटर र अर्काे १.४१ किलोमिटरमा वर्गीकरण गरेर सुरुङमार्ग निर्माण गर्न लागिएको हो यो खण्डको ठेक्काको लागत २८ अर्ब ५३ करोड रूपैयाँ छ।

फास्ट ट्रयाकलाई विभिन्न १६ खण्ड र अन्य ७१ वटा खण्डमा विभाजन गरेर निर्माण गर्न लागिएको छ। सरकारले आयोजनाको लागि चालु आर्थिक वर्षमा पु्ँजीगततर्फ ८ अर्ब ८४ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ। चालु आवको ६ महिनामा आयोजनाले १ अर्ब ४१ करोड रूपैयाँ खर्च गरेको छ। आयोजनाको हालसम्मको समष्टिगत भौतिक प्रगति १६.१० प्रतिशत र वित्तीय प्रगति १४.५१ प्रतिशत छ। आयोजनाले चालु आर्थिक वर्षको अन्त्यसम्म आयोजनाको समष्टिगत प्रगति २१ प्रतिशत हुने प्रक्षेपण गरेको छ।

आयोजनाले तीन वर्षभित्रै सुरुङमार्ग आयोजना निर्माण सम्पन्न गर्न १ खर्ब ३१ अर्ब २९ करोड रूपैयाँ बराबरको बजेटको स्रोत सुनिश्चितता खोज्दै आएको छ। तर अर्थ मन्त्रालयले अहिलेसम्म आयोजनाले मागे बमोजिमको रकम सुनिश्चित गरिसकेको छैन।

आयोजनाले आर्थिक वर्ष ०७९/८० मा ४८ अर्ब ८४ करोड रूपैयाँ बराबरको बजेटको स्रोत सुनिश्चितता हुनुपर्ने माग गरेको छ। त्यसैगरी आयोजनाले आव ०८०/८१ मा ४३ अर्ब ४३ करोड रूपैयाँ खर्च लाग्ने प्रक्षेपण गरेको छ। आयोजनाले आर्थिक वर्ष ०८१/८२ को लागि ३९ अर्ब २ करोड रूपैयाँ बजेट प्रक्षेपण गरेको छ। आयोजना आर्थिक वर्ष ०८१/८२ भित्रै सम्पन्न गर्ने हो भने १ खर्ब ३१ अर्ब रूपैयाँ आवश्यक पर्ने दाबी गरिएको छ। 

प्रकाशित: २० फाल्गुन २०७८ ०३:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App