जनयुद्धका डायरी समालोचना (मनऋषि धितालका जनयुद्धका डायरी विवेचना) प्रकाशित भएको छ। डायरीहरू सँगालेर पनि किताब हुन सक्छ र डायरीका किताबमाथि समालोचनात्मक दृष्टिकोणसहित समालोचना गर्न सकिन्छ भन्ने कुरा यो किताब एउटा उदाहरण बनेको छ।
प्रगतिवादी समालोचक खेम थपलियाले यो नयाँ कामको सुरुआत गरेका छन्। सर्वप्रथम यी किताबका दुई पक्ष समालोचक र डायरीकारबारे चर्चा गर्नु उपयुक्त हुन्छ।
वरिष्ठ प्रगतिवादी साहित्यकार खेम थपलियाको लेखनको सुरुआत बालसाहित्यबाट भएको देखिन्छ। यो अवधिमा उनले २३ मौलिक किताबको लेखन गरेका छन्। खेम थपलियाले बहुविधामा योगदान दिएका छन्। मूलतः उनी कवि, नाटककार, लेखक र समालोचक हुन्। नेपालको प्रगतिवादी नाटकलाई एउटा उचाइ दिनका निम्ति थपलियाले महत्त्वपूर्ण योगदान पुर्याएका छन्। उनको मञ्चित नाटक ‘उनी मरेका छैनन्’ ले व्यापक चर्चा पनि बटुल्न सफल भएको थियो।
थपलिया एक प्रतिबद्ध र वर्ग पक्षधर पत्रकारको रूपमा समेत परिचित छन्। उनले सम्पादन गरेको ‘जलजला मासिक’ पत्रिकालाई मिसन पत्रकारितामा एक महत्त्वपूर्ण पत्रिका मानिन्छ। मलाई जानकारी भए अनुसार रचना सुन्ने र सुनाउने कार्यक्रम ‘प्रतिभा प्रवाह’ (जसको सुरुआत पारिजातले गरेको मानिन्छ) मा उनी कार्यसमितिका सचिव जोडिएका थिए। साथै, नेपालको जनसांस्कृतिक आन्दोलनमा उनले जीवनको महत्त्वपूर्ण समय दिएका छन्। प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा अहिले पनि यही सक्रिय छन्।
डायरीकार मनऋषि धिताल लेखक, पत्रकार र प्रतिबद्ध राजनीतिकर्मी हुन्। माओवादीले सुरुआत गरेको जनयुद्धको क्रममा जनदिशा र जनादेश लगायत पत्रिकामार्फत धितालले मिसन पत्रकारिता गरेका थिए।
रोल्पा, रुकुम, जुम्लाका पहाडहरूमा बसी जनताको पक्षमा काम गर्ने मनऋषि धिताललाई जनपत्रकार पनि भन्न सकिन्छ। मनऋषि चोटिला कविता पनि लेख्छन्। बेलाबेलामा पत्रपत्रिकामा लेखिरहन्छन्। वैदेशिक रोजगारको अनुभव पनि छ, उनीसँग।
समालोचक र डायरीकार दुवै भुइँमान्छेको पक्षमा लेख्दै, बोल्दै र सङ्गठित गर्दै र हुँदै आएका छन्। मनऋषिले आठ डायरीलाई पुस्तकका रूपमा प्रकाशन गरी डायरी लेखनमा उल्लेखनीय काम गरेका छन् भने समालोचक थपलियाले डायरी समालोचनालाई सैद्धान्तिकीकरण गरी समालोचकीय विधाको रूपमा यसलाई स्थापित गर्ने प्रयास गरेका छन्।
प्रगतिशील तथा प्रगतिवादी समालोचनाको फाँटमा कृष्णचन्द्रसिंह प्रधान, गोविन्द भट्ट, निनु चापागाईं, मोदनाथ प्रश्रित, ऋषिराज बराल आदिले युगीन योगदान दिएको इतिहास छ।
पछिल्लो समय प्रगतिवादी समालोचनाको क्षेत्रमा त्यति सशक्त काम हुन सकेको देखिँदैन। यस्तो अवस्थामा खेम थपलियाले डायरी समालोचनालाई एउटा नवीन विधाकै रूपमा विकास गर्न खोज्नु महत्त्वपूर्ण कदम मान्नुपर्छ। एक वाक्यमा भन्दा डायरीकारको लेखन र समालोचकको समालोचना दुवै आआफ्ना ठाउँमा अर्थपूर्ण, सार्थक र महत्त्वपूर्ण छन्।
नाटककार मे वेस्टको एउटा भनाइ चर्चित छ। यो भनाइलाई यस पुस्तकमा केही ठाउँमा उल्लेख पनि गरिएको छ। मे वेस्ट भन्छन्, ‘आफ्नो डायरी जोगाऊ, एक दिन यसले तिमीलाई जोगाउनेछ।’
यो भनाइलाई एक लाइन (सिनेमाको सारांशमा प्रयोग हुने) मान्ने हो भने मनऋषिको लेखन यात्रालाई यी डायरीले उच्चस्तरीय बनाउन सहयोग गरेका छन् भन्न सकिन्छ।
मनऋषि धिताललाई गुफा प्रेसका पत्रकार भनेर पनि एक खालको वृत्तमा सम्बोधन गरिन्छ। माओवादी जनयुद्धका क्रममा जङ्गलको गुफामा बसेर माओवादी पत्रकारहरूले समाचार लेख्थे। रेडियो चलाउँथे। गीत लेख्थे अनि सङ्गीतसम्म भर्थे। गुफा प्रेसका अग्रज पत्रकारको रूपमा धिताल पनि एक हुन्। यसै गुफा प्रेसले तत्कालीन समयमा नेपालको परिवर्तनका लागि निकै राम्रो योगदान दिएको थियो।
माओवादी जनयुद्धमा सांस्कृतिक मोर्चामा सक्रिय सङ्गीतकार तथा गायक मोहितसँग मेरो भेटघाट भइरहन्छ। ती दिनहरूमा नेपालका बस्तीमा उनको गीत गुञ्जिन्थे। उनले फेसबुक स्टाटसमा आफू राजु परियार गाएका लाइभ गीतका भिडियो बनाउने काम गरेर जीविका गरिरहेको मार्मिक भावना लेखेका थिए। हाल यस्तो छ, प्रगतिशील संस्कृतिकर्मीको अवस्था। यहाँनेर उनै मे वेस्टको भनाइ सान्दर्भिक हुन्छ, ‘आफ्नो डायरी जोगाऊ।’
हो, हरेक मान्छेका डायरी हुन्छन्, कसैले लेखेका हुन्छन्, कसैले लेखेका हुँदैनन्, त्यो भिन्नै कुरा हो।
मनऋषि धितालले गुफाप्रेसमा बसी समाचार मात्र लेखेनन्; साहित्यिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व राख्ने डायरीहरूसमेत लेखे। ती डायरीलाई अनेकौँ बाधा र व्यवधानबाट जोगाए। ती डायरी आजको दिनमा निकै महत्त्वपूर्ण बन्न गएका छन्। मूलतः प्रगतिशील साहित्यको फाँटमा यो निकै महत्त्व र गौरवका साथ पढिने विश्वास छ।
सुदूर पहाडमा माओवादीहरू के गर्थे? उनीहरूको रणनीति केके हुन्थ्यो? उनीहरूको सामूहिकता कस्तो थियो? माओवादीप्रति स्थानीय जनताको दृष्टिकोण कस्ता थिए? जनताका बिचमा माओवादीहरू कसरी प्रस्तुत हुन्थे? के मूलधारको मिडियाले व्याख्या गरे जस्तै थिए त माओवादीहरू? यी यावत् प्रश्नको हल गर्छन्, धितालका डायरीहरूले।
माओवादीले कतै मान्छे होइनन् भन्ने अवस्था हुँदा माओवादीलाई भेटेपछि जनताले यी त हाम्रै मान्छे रहेछन् भनेको प्रसङ्ग मार्मिक लाग्छन्। कतै युद्ध अनुभूति, कतै सङ्कटमा सङ्घर्षको सोच, कतै प्रकृति देखेर भावुक यस्तै देखिन्छ मनऋषिका भावना, साहित्य र विचारसहितको डायरी।
मनऋषिका यही साहित्य, भावना र विचारमाथि बृहत् रूपमा खेम थपलियाले चर्चा गरेर डायरीहरूको महत्त्व झनै बढाइदिएका छन्।
समालोचना विधामा अनेकौँ चुनौती छन्। यो सामान्य अध्ययनले पुग्ने विषय पनि होइन। खेम थपलियाले ती आठ युद्धका डायरीको मिहीन अध्ययन गर्दै, डायरी समालोचनाको खाका कोर्दै, प्रगतिशील कोणबाट ती डायरीकाे समालोचना गरेका छन्।
स्थापित समालोचक भएकाले पुस्तकमा खासै समस्या देखिएको छैन। यो समालोचना सिद्धान्तको परिधिभित्र नै बसेर तयार पुस्तक हो। कतैकतै उदाहरण धेरै दिएको महसुस हुन्छ। यो आवश्यकताले दिएको होला जस्तो लाग्छ।
यस पुस्तकले प्रगतिशील तथा प्रगतिवादी समालोचना क्षेत्र अझै परिष्कृत र व्यापक बनाउनु मार्गनिर्देशन गर्दछ। प्रस्तुत समालोचनात्मक पुस्तकका माध्यमबाट परम्परावादी समालोचनाको परिधिभित्र मात्र रहनुहुन्न भन्ने रोचक सन्देश पनि समालोचकले दिएको महसुस भएको छ।
डायरीकारको कवित्व सबल देखिन्छ। उनी सिड्नी पुगेर पनि सिञ्जालाई सम्झेका छन्। उनको एक कविताको अंश यहाँ राख्नु उपयुक्त ठान्दछु
दोबाटो आयो
एउटा छङ्गाछुर भीरतिरको
अर्को लमतन्नसम्म मैदानतर्फको
मैले भीरको बाटो रोजेँ
तिब्बतका पठार उक्लिँदै
मलायाको झाडी छिचोल्दै
फिलिपिन्सका टापु चाहार्दै
फिजी झर्दै फेरि समुद्रको तिरैतिर
डार्बिन आइपुगेँ
डार्बिनको सिद्धान्त खोज्दै, खोस्रिँदै
(ओ सिडनी! ओ सिन्जा !’ जनयुद्धका डायरी समालोचना (मनऋषि धितालका जनयुद्धका डायरी विवेचना, पृ. ३८८) ।
प्रस्तुत पुस्तकलाई तीन खण्डमा विभाजन गरिएको छ। पहिलो खण्डमा डायरी लेखन, नयाँ यथार्थ र दृष्टान्तमा जेल डायरी रहेको छ। यसभित्र डायरी लिखित वा श्रव्यदृश्य त्यस्तो स्मरणीय अभिलेख हो, जसमा एक दिन वा अन्य अवधिमा के भो भनेर मितिसहित व्यवस्थित गरिएको हुन्छ भन्ने तथ्यलाई उजागर गरिएको छ।
यस शीर्षकअन्तर्गत विश्वका ठुल्ठुला डायरी लेखकहरूको चिन्तन, विचार र आफूले भोगे-देखेका प्रमाण राखिएका छन्। यसै खण्डमा जनयुद्धका क्रममा धितालले लेखेका डायरीहरूदेखि अन्य डायरीको पनि चर्चा गरिएको छ। जस्तो मोदनाथ मरहठ्ठा, अनिल शर्मा, भगतसिंहदेखि एन्टोनियो ग्राम्स्की, एन फ्रान्क, हो ची मिन्ह, जुलियस फ्युचिकसम्मका प्रसङ्गहरू समेटिएका छन्।
खण्ड दुई अन्तर्गत जनयुद्धका विविध आयामका डायरीको विवेचना गरिएको छ। लेखकले यस खण्डलाई विस्तृत बनाएका छन्। यसभित्र बिस उपशीर्षक दिएर डायरीहरूको विवेचना गरिएको छ । यो पुस्तकको सबैभन्दा महत्त्वपूर्ण खण्ड यही हो।
खण्डमा तीन संश्लिष्ट मूल्याङ्कनमा र जनयुद्धको डायरीको समीक्षा गरिएको छ। यसभित्र गौरवपूर्ण इतिहास र चुनौतीपूर्ण वर्तमानको समीक्षा गरिएको छ। अझ भन्ने हो भने जनयुद्धको डायरीको थप चर्चा र मूल्याङ्कन गरिएको छ।
हामी पाठकहरूको मनमा खुल्दुली जगाउन डायरीका दुई सन्दर्भ लेखकले स्थान दिएका छन्। ती दुई शीर्षक रहेका छन्, ‘जनादेश त फर्कियो, कृष्ण सेन खोई ?’ र ‘एक दशकलाई फर्केर हेर्दा।’
परिशिष्टमा खेम थपलियाकै आफ्नै डायरी, आफ्नै कुरा, आफ्नै समीक्षासहित कृष्ण सेन ‘इच्छुक’ को चर्चित कविता ‘जेल’ पनि रहेको छ। उक्त ‘जेल’ कविता यहाँ राख्नु निकै सान्दर्भिक देखिन्छ।
प्रस्तुत पुस्तक ‘जनयुद्धका डायरी’ समालोचना नयाँ यथार्थवादी समालोचनात्मक भावधारामा आधारित रहेको छ। यसले डायरी समालोचनाको रूपमा नयाँ विधाको रूप ग्रहण गरेको छ। यस समालोचना कृति युग चेतना, इतिहास चेतना र कम्युनिस्ट विचारधारा समात्दै अगाडि बढेको छ।
जनयुद्धका डायरीको परिचय, विवरणिका, त्यसका सैद्धान्तिक, वैचारिक र राजनीति मूल्य तथा वर्ग सङ्घर्षको ऐतिहासिकता, प्रतिरोध र बलिदानको उदात्तीकरण गर्न समालोचकले यथेष्ट ध्यान दिएका छन्।
यस अर्थमा यो एउटा स्तरीय र सङ्ग्रहणीय समालोचनात्मक पुस्तकको रूपमा रहने विश्वास गर्न सकिन्छ। प्रगतिशील तथा प्रगतिवादी समालोचनाको क्षेत्रमा नयाँ यथार्थ स्थापित गर्न यो समालोचनात्मक कृति सफल होस्, समालोचक तथा डायरीकारलाई मुरीमुरी शुभकामना छ।
प्रकाशित: २६ पुस २०८२ ०९:१३ शनिबार





