५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

हुलाकी सडकः १० वर्षसम्म नबनेको पुलको भविष्य अनिश्चित

ठेकेदारले अलपत्र छाडेको कान्द्रा पुल। तस्बिरः नागरिक

राष्ट्रिय गौरवको हुलाकी सडकअन्तर्गत कैलालीको कान्द्रा नदीको पुल निर्माणको काममा चरम लापरवाही भएको छ। तीन वर्षमा बन्नुपर्ने पुल १० वर्ष बितिसक्दा पनि अधुरै रहेको छ।

उक्त पुल निर्माणको ठेक्का लिएका निर्माण व्यवसायी निर्माणको काममा चरम लापरवाही मात्र नगरी पटकपटक काम गर्न छोडेर सम्पर्कविहीन हुने गरेका छन्।

आर्थिक चलखेल र सत्तामा रहेका राजनीतिक दलका नेताहरूको संरक्षणका कारण ठेकेदारले काम गर्न अटेरी गर्दा पनि कारवाही हुनुको साटो पटकपटक सजिलै म्याद थप हुने गरेको छ। यसले गर्दा नै उसले निर्माण सम्पन्न गर्नेतिर गम्भीरता नदेखाएको एक कर्मचारीले बताए।

निर्माण व्यवसायी काम गर्न छोडेर सम्पर्कविहीन हुने र उसले जति लापरवाही गर्दा पनि कारवाही गर्नुको साटो पटकपटक म्याद थप गरिने भएकोले यो पुल निर्माण कहिले पूरा हुन्छ भन्ने अनिश्चित छ।

डेढ महिनादेखि काम छोडेर सम्पर्कविहीन भएपछि पुलको ठेक्का लिएको निर्माण व्यवसायी लामा–साल्पा–शेर्पा–बिरुवा जेभीलाई ठेक्का किन नतोड्ने भनेर स्पष्टीकरण सोधेर राष्ट्रिय पत्रिकामा फागुन २ गते सूचना प्रकाशित गरिएको हुलाकी सडक आयोजनाका पदमबहादुर मडैले बताए।

‘पटकपटक लिखित तथा मौखिक रूपमा निर्देशन दिँदा पनि म्यादभित्र निर्माण सम्पन्न गर्ने प्रयास नदेखाएकोले कारवाही प्रक्रिया अन्तर्गत ७ दिनभित्र स्पष्टीकरण पेस गर्न सूचना निकालिएको उनले बताए। ‘हामीले कारवाही प्रक्रिया अघि बढाएका छौं। चैत मसान्तभित्र काम नसके म्याद थप गर्दैनौं,’ उनले भने, ‘मन्त्रिपरिषदको बैठकले निर्णय गरेर म्याद थप गरे फरक कुरा हो।’

कारवाहीको प्रक्रिया अनुसार पत्रिकामा सूचना प्रकाशित गरेपछि उनी सम्पर्कमा आएको उनले बताए। ‘चैत मसान्तसम्म निर्माणको काम सकिने सम्भावना छैन,’ उनले भने, ‘चैत मसान्तसम्म काम नसके निर्माण कम्पनीलाई कालो सूचीमा राखेर कारवाही हुनेछ।’

गत दसैंतिहारको बेला पनि निर्माणको काम छाडेर सम्पर्कविहीन भएपछि राष्ट्रिय पत्रिकामा सूचना प्रकाशित गरिएको उनले बताए।

निर्माण कम्पनीको चरम लारवाहीले एक दशकसम्म पुल निर्माण सम्पन्न नहुँदा विकास पछाडि धकेलिएको छ। दक्षिणी क्षेत्रका जनताले समस्या भोग्नुपरेको छ। हुलाकी सडकमा सवारी साधन चल्न पाएका छैनन् भने दक्षिण क्षेत्रका बासिन्दालाई पैदल ओहोरदोहोर गर्न पनि समस्या भएको छ। बर्खाका बेला डुंगाको सहारामा कान्द्रा नदी पार गर्नुपर्दा कैयौंले ज्यान गुमाउनुपरेको छ।

कान्द्रा नदीमा ३० महिनामा पुल बनाउने भन्दै लामा–साल्पा–शेर्पा–बिरुवा जेभीले २०६८ जेठ ३१ गते ठेक्का सकारेको थियो। २०७० मंसिर ३० गते सम्झौताको म्याद सकिए पनि निर्माण व्यवसायीको चाहना अनुसार पटकपटक म्याद थप हुँदै आएको छ। 

पुलको डिजाइन नमिलको भन्दै निर्माण कम्पनीले काम गर्न आनाकानी गरेको थियो। सम्झौता अनुसार काम गर्न अटेर गर्ने निर्माण कम्पनीलाई कारवाही गर्नुको सट्टा उसकै चाहना अनुसार नयाँ डिजाइन अनुसार पुल निर्माण गर्न दिइयो। २०७२ मा पुलको डिजाइन नमिलेको भन्दै डिजाइन परिवर्तन गरेर ३० महिनाको म्याद दिएर उसलाई निर्माण गर्न दिइयो।

नयाँ डिजाइन अनुसार थपिएको म्याद २०७५ असार २५ गते सम्म पनि काम सम्पन्न नगरेपछि निर्माण कम्पनीलाई कारवाही गर्ने प्रक्रिया अन्तर्गत तपाईंलाई किन कारवाही नगर्ने भनेर राष्ट्रिय पत्रिकामा सूचना प्रकाशन समेत गरिएको मडैले बताए। पत्रिकामा सूचना निकाले पनि चरम लापरवाही गर्ने निर्माण कम्पनीलाई कारवाही गरिएन। म्याद थप नगर्दा केही समय पुल निर्माणको काम अलपत्र प¥यो। कारवाही नगरी पुनः म्याद थप गरेर उक्त कम्पनीलाई निर्माण गर्न दिइयो। पुल निर्माणको काम करिव ७५ प्रतिशत पूरा भएको इन्जिनियर मडैले बताए।

कुल ४ करोड ४२ लाख रूपैयाँमा ठेक्का सकारेको निर्माण कम्पनीले म्याद थप गर्दै जाने र निर्माणमा चरम लापरवाही गरेर विकासलाई ७ वर्ष पछि धकेल्दा पनि सम्बन्धित निकायले प्रभावमा परेर कारवाही नगरेको स्थानीयको गुनासो छ।

‘राजनीतिक संरक्षण र आर्थिक प्रभावमा पटकपटक सजिलै म्याद थपिने हुँदा निर्माण व्यवसायीले विकास निर्माणका कार्यमा चरम लापरवाही गर्ने गरेका छन्,’ एक प्राविधिकले भने, ‘सजिलै म्याद थप हुने भएकाले निर्माण व्यवसायीले अटेर गरेर निर्माणको काम अलपत्र पार्ने गरेका छन्।’

समयमा काम नगरी गलत गर्ने निर्माण व्यवसायीलाई सुरुमा १० प्रतिशत पेनाल्टी तिराउने र त्यसपछि पनि काम पूरा नगरे ठेक्का रद्द गरेर उक्त कम्पनीलाई कालोसूचीमा राख्ने, बैंक ग्यारेन्टी जफत गर्ने कानुनी प्रावधान छ। तर पनि कानुनी प्रावधान अनुसार समयमा काम नगर्ने निर्माण कम्पनीलाई कारबाही नै हुँदैन।

हुलाकी सडक अन्तर्गत ठूला नदीमा पर्ने पुलको निर्माण, जग्गाको मुआब्जा, माटो, ढुंगा, गिट्टीजस्ता सामग्री व्यवस्थापनको जिम्मा नेपाल सरकारले र सडक निर्माणको जिम्मा भारत सरकारले लिएको थियो। पुल निर्माणमा ढिलाइ हुँदा पुल वरपरको कालोपत्रे भारतीय ठेकेदार कम्पनी जिआर गावरले गर्नुपर्नेमा अहिले नेपाल सरकारले नै गर्नुपर्ने बाध्यता छ। धनगढीदेखि सत्तीसम्म ६१.२ किलोमिटर हुलाकी सडक निर्माणको जिम्मा लिएको भारतीय ठेकेदार कम्पनी जिआर गावर भने फर्किसकेको छ। तीन वर्षमा सुचारु हुनुपर्ने हुलाकी सडक अझै अधुरै छ। 

प्रकाशित: ११ फाल्गुन २०७८ ०२:१२ बुधबार

हुलाकी सडक निर्माणको काममा चरम लापरवाही