९ पुस २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्प प्रशासनविरुद्ध हार्वर्ड विश्वविद्यालयले हाल्यो मुद्दा

अमेरिकाको हार्वर्ड विश्वविद्यालयले सोमबार राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ। विश्वविद्यालयले ट्रम्प प्रशासनले राजनीतिक दबाब दिएर विश्वविद्यालयको शैक्षिक कामकाज नियन्त्रण गर्न चाहेको आरोप लगाएको छ। हार्वर्डले यसले विश्वविद्यालयको संवैधानिक अधिकारको उल्लंघन गरेको आरोप लगाएको छ।

ट्रम्प प्रशासनले हार्वर्डको २.२ बिलियन डलरको कोष रोकेको छ। साथै, ट्रम्प प्रशासनले अक्टोबर २०२३ पछि क्याम्पसमा भएका यहूदी विरोधी घटनाहरूमा तयार पारिएका सबै प्रतिवेदन र मस्यौदाहरू पनि सरकारलाई बुझाउन निर्देशन दिएको छ।

हार्वर्ड विश्वविद्यालयका प्राध्यापकहरूले पनि अप्रिल १२ मा म्यासाचुसेट्स संघीय जिल्ला अदालतमा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरेका थिए।

विश्वविद्यालयको कोष रोक्ने धम्कीविरुद्ध प्राध्यापकहरूको दुई समूहले यो मुद्दा दायर गरेका थिए। त्यतिबेला ट्रम्प प्रशासनले हार्वर्ड विश्वविद्यालयलाई दिइएको ९ अर्ब डलरको कोषको समीक्षा गरिरहेको थियो।

हार्वर्डका प्राध्यापकहरूले ट्रम्पको निर्णयले अमेरिकी संविधानको पहिलो संशोधनको उल्लङ्घन गरेको बताएका छन्। प्राध्यापकहरूले विश्वविद्यालयको कोष कटौती गर्नु अभिव्यक्ति स्वतन्त्रताको उल्लङ्घन भएको आरोप लगाएका छन्।

अदालतमा दायर गरिएको निवेदनमा ट्रम्प प्रशासनको निर्णयमाथि रोक लगाउन पनि माग गरिएको छ। एजेन्सी

प्रकाशित: ९ वैशाख २०८२ १२:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App