१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

जापानले १०.४ अर्ब दिने

जापान सरकारले नेपालमा कोरोनाविरुद्धको खोप व्यवस्थापन गर्न आवश्यक पर्ने कोल्डचेन सामग्री सहयोग कार्यक्रम पूरा भएको जनाएको छ।

साथै अन्य सामाजिक तथा आर्थिक विकासका लागि नेपाललाई थप १०.४ अर्ब रूपैयाँ उपलब्ध गराउने निर्णय गरेको जापानी दूतावासले जनाएको छ। ‘आर्थिक पुनर्लाभ, आर्थिक वृद्धि र सामाजिक उद्यमशीलताका लागि नेपाल सरकारलाई करिब १०.४ अर्ब उपलब्ध गराउने निर्णय भएको छ’, जापानी राजदूत किकुता युकाताले भनेका छन्।

युनिसेफ र नेपालका लागि जापानी दूतावासले कार्यक्रमको साझेदार निकायका रूपमा सोमबार संयुक्त विज्ञप्ति जारी गरी कोल्डचेन व्यवस्थापनमा गरेको योगदान कोरोना महामारीविरुद्धको लडाइँमा सहयोगी रहेको जनाएका छन्। विश्वभरि कोरोना महामारी सुरु भएयता अर्थात् सन् २०२० जनवरी ३१ देखि सन् २०२२ को जनवरी ३१ सम्ममा चरणबद्ध रूपमा आवश्यक उपकरण उपलब्ध गराएको विज्ञप्तिमा जनाइएको छ।

जापानले सामाजिक संस्था युनिसेफमार्फत सामग्री उपलब्ध गराएको हो। विवरणअनुसार नेपालमा कोरोनाविरुद्धको खोप विस्तारका लागि ९ वटा वाक इन कुलर्स, ३८ वटा सोलार ड्रिभन भ्याक्सिन रेफ्रिजेरेटर, १ हजार १ सय ९ वटा लंगरेज भ्याक्सिन क्यारियर्स, ५३ वटा कोल्ड बक्स नेपाललाई उपलब्ध गराइएको थियो।

‘नेपालले हाल ओमिक्रोनसहितको कोभिड १९ को तेस्रो लहरको सामना गरिरहेको छ, जसले गर्दा नेपाल सरकारका लागि खोप अभियान प्राथमिकताको विषय बन्न पुगेको छ’, राजदूत युकाताले भनेका छन्, ‘यसका लागि खोपको उपयुक्त भण्डारण महत्वपूर्ण छ।’

यस्तै युनिसेफले नेपालमा नियमित खोप सञ्चालनका लागि कोल्डचेन प्रणाली सबलीकरणमा सरकार तथा साझेदार संस्थाहरूसँग मिलेर काम गर्दै आएको छ। कोभिड १९ को शृंखलासँगै युनिसेफले देशभित्रको आपूर्ति प्रणाली बलियो बनाउन खोप व्यवस्थापनका लागि आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ।

प्रकाशित: १९ माघ २०७८ ०३:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App