शैक्षिक प्रतिष्ठानमार्फत शिक्षा क्षेत्रमा काम गर्दै आइरहेको डिभी एजुकेशनले मुलुकका विभिन्न पाँच स्थानमा शारीरिक व्यायामशाला संचालनमा ल्याएको जनाएको छ।
डिभी एजुकेशनका प्रबन्ध निर्देशक तरुण प्रताप शाहले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै कोरोना महामारीमा विशेष गरेर शारीरिक व्यायाममार्फत युवामा थोरै भएपनि सकारात्मक सोच र उत्साह थप्न खुला शारीरिक व्यायामशाला संचालनमा ल्याएको जानकारी दिए।
‘कोरोना महामारीले विश्वनै आक्रान्त थियो, त्यसको प्रभाव हाम्रो देशमा पनि थियो, महामारीकै कारण युवामा मानसिक समस्या समेत देखिन थालेको थियो, हामीलाई लाग्यो यस्तो अवस्थामा व्यायाममार्फत युवालाई व्यस्त राख्न सकिन्छ’, शाहले भने,‘जसले शारीरिक र मानसिक दुवै कुरामा राहत मिल्छ, यही सोचका साथ हामीले कोरोना महामारीकै बीचमा गत वर्षको नेभेम्बर महिनामा खुला शारीरिक व्यायामशाला संचालन गर्याैँ।’
डिभी एजुकेशनले नेपाली युथ फिटनेस एन्ड क्यालिस्थेनिक्स्सँगको समन्वयमा काठमाडाैँको टोखा, नक्साल, पोखरा, चितवन र विराटनगरमा पनि खुला शारीरिक व्यायामशाला संचालनमा ल्याएको उनले बताए। उनले छिट्टै थप पाँच ठाउँमा सेवा विस्तार गर्ने जानकारी दिए।
व्यायाम शाला हाम्रो शरीरको प्राथना गर्ने ठाउँ (मन्दिर)हो भन्ने मान्यताका साथ संचालन गरिएको यो अभियानलाई ‘प्रोजेक्ट टेम्पल’नाम दिइएको छ। युवाहरू स्वस्थ भए परिवार, समुदाय स्वस्थ रहन्छ र समग्रमा देश नै स्वस्थ रहन्छ भन्ने सोचका साथ सुरु गरिएको यो अभियानले ‘ह्याप्पी एण्ड हेल्दी कम्युनिटी’ को अवधारणामा काम गरिरहेको उनको भनाइ छ।
यो अभियानको उद्देश्य सरकारको खुल्ला व्यायामशाला बनाउने नीतिमा निजी क्षेत्रको सहभागीतामार्फत सेवा दिनु पनि रहेको उनको भनाइ छ। ‘हामीले शारीरिक तथा मानसिक स्वास्थ्यका लागि व्यायामशाला सहयोगी हुने विश्वास लिएका छौं,' उनले भने।
'युवामा नकारात्मक सोच तथा लागू पदार्थको दुर्व्यसन जस्ता लतमा रहेकालाई त्यसबाट छुट्कारा दिन र त्यो बाटोमा लाग्नन दिन खुल्ला व्यायामशालाले महत्वपूर्ण भूमिका खेल्ने हाम्रो अपेक्षा छ,’ उनले भने।
कार्यक्रममा नेपाली युथ फिटनेस एन्ड क्यालिस्थेनिक्स् (एनवाईएफसी)का संस्थापकअध्यक्ष सुकदेव कार्कीले आफूहरूले सन् २०१९ मार्चदेखि नि:शुल्क व्यायाम प्रशिक्षण र व्यायामशाला संचालनको अभियान अगाडि बढाउँदै आएकोमा डिभी एजुकेशनले सामाजिक उत्तरदायित्व पूरा गर्दै जोडिन आउँदा धेरै सहयोग पुगेको बताए।
उनले डिभीसँगको सहकार्यसहित आफूहरूले देशभर १३ ठाउँमा व्यायामशाला संचालन गरेको र ती ठाउँमा आफ्ना स्वयंसेवकमार्फत निःशुल्क प्रशिक्षण दिँदै आएको बताए। ‘हामीले हाम्रो स्वयंसेवकमार्फत निरन्तर निःशुल्क प्रशिक्षण दिँदै आएका छौं, सरकारी तवरबाट खुलेका व्यायामशाला प्रभावकारी रुपमा नलचेको बेला हाम्रो प्रयासले सार्थकता पाएको छ’, उनले भने, ‘हाम्रो सहभागिताले व्यायामशाला गलत प्रयोग हुने र प्रयोग नै नहुने अवस्थामा छैनन्।’
प्रकाशित: १६ मंसिर २०७८ ०७:४६ बिहीबार