१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

तीन करोडमा भैंसी फर्म

भेरीगंगा नगरपालिका–५ स्थित तोलिखोलामा रहेको देवकोटाको भैंसीफर्म। नगेन्द्र/नागरिक

चौरजहारी नगरपालिका–१३ रुकुम पश्चिमका चुडामणि देवकोटा (४७) ले जीवनका महत्वपूर्ण आठ वर्ष सशस्त्र द्वन्द्वमा विताए। ‘मृत्यु’ वा ‘मुक्ति’को नारा बोकेर कुनै समय बन्दूक बोकेर माओवादी लडाकुको परिचय बनाएका देवकोटा अहिले उदाहरणीय कृषक हुन्। रुकुम माओवादी द्वन्द्वको उर्वर भूमि। आठ वर्षसम्म बन्दूक बोकेका उनी माओवादी शान्ति प्रक्रियामा आएसँगै लडाकु शिविरमा गएनन्, व्यवसायमा लागे। रुकुम नजिकको दाङमा उनले घर–जग्गा कारोबार सुरु गरे। राम्रै आम्दानी भयो। पैसा कमाएपनि उनी घर–जग्गा कारोबारबाट सन्तुष्ट भएनन्।

दाङ हुँदै सुर्खेत पसेका उनी अहिले व्यवसायिक भैंसीपालक कृषक हुन्। भेरीगंगा नगरपालिका–५ तोलीखोलामा उनको राप्ती मुनाल बहुउद्देश्यीय कृषि फर्म छ। फर्ममा ४० भन्दाबढी भैंसी छन्। देवकोटा आफै भैंसीकालागि घाँस काट्नेदेखि मल सोहर्नेसम्मको काम गर्छन्। दैनिक दुई सय लिटर दुध बोकेर उनीसहितका कर्मचारी व्यक्तिका घरघरमा पुग्छन्। भैंसी फर्मले ‘थुनदेखि मुखसम्म’ नारा तय गरेको छ। ‘त्यहीँ नारा कार्यान्वयनका लागि फर्मबाट सिधै ग्राहकहरुको घरघरमा दुध पुर्‍याउन जान्छौं,’ उनले भने, ‘शुद्ध दुध भएकाले बजारको समस्या छैन्।’ फर्मले दैनिक दुई सय लिटर दुध विक्री गर्छ।  

‘एक लिटरलाई एक सय रुपैयाँमा विक्री गर्ने गरेका छौं,’ उनले भने, ‘यस हिसावले दैनिक २० हजार रुपैयाँ दुध विक्री गरेर आम्दानी हुन्छ।’ दुधको बजार नजिकैको छिन्चु र आसपासको क्षेत्र हो। केही दिनभित्रै फर्ममा थप ६० वटा मुर्रा जातको भैंसी भित्र्याउने तयारी उनले गरेका छन्। फर्मले पाँच विघा जमिन भाडामा लिएको छ। भाडामा लिएको जमिनमा घाँस लगाइएको छ। सँगै स्थानीयसँग घाँस र मकै खरिदको संझौता गरेको छ। ‘गाउँलेले काटेको घाँस दुई रुपैयाँको किलो र मकै चार रुपैयाँको किलोमा खरिद गर्ने गरेर संझौता गरेका छौं,’ उनले भने, ‘जंगलदेखि बाटोसम्म गाउँलेले घाँस ल्याउनुहुन्छ, हामी त्यहीँबाट काँटाले तौलेर खरिद गर्ने गरेका छौं।’

देवकोटाले घरघरमा दुध पुर्‍याउनका लागि एटीएम भ्यान खरिद गरेका छन्। अर्को महिनादेखि एटीएम भ्यानमार्फत घरघरमा दुध पुर्‍याउने तयारी उनको छ। ‘एटीएममा भएको दुध विक्री नहुँदासम्म गाउँ र शहरमा भ्यानलाई दौडाउँछौं,’ उनले भने, ‘स्वच्छ र शुद्ध दुधका लागि बजारको चिन्ता छैन्।’ तोलीखोलाको फर्मबाट उनले २३ किलोमिटर टाढा रहेको कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरलाई दुध पुर्‍याउन सकेका छैनन्। ‘पानी नमिसाइएको र शुद्ध दुध भएकाले छिन्चु बजार र आसपासमै अहिले उत्पादन भएको दुघ पुर्‍याउनै हम्मेहम्मे भइरहेको छ,’ उनले भने, ‘उत्पादन बढाएर प्रदेश राजधानीलाई दुघ पुर्‍याउने मेरो लक्ष्य छ।’

घर–जग्गा कारोवारबाट कमाएको पैसा उनले भैंसीपालनमा लगानी गरेका हुन्। कोरोना संक्रमणसँगै घर–जग्गाको कारोवार ओरालो लाग्यो। उनले ओरोलो लागेको व्यवसाय छोडेर कृषिकर्ममा हात हाले। ‘घर–जग्गा कारोवार गर्दा जोडेको जमिन विक्री गरेर भैंसी फर्म सुरु गरेको हुँ,’ देवकोटाले भने, ‘कर्णाली प्रदेशकै नमुना फर्म बनाएर अरुका लागि उदाहरणीय बन्ने लक्ष्य लिएको छु।’ उनले एक वर्षभित्र फर्मममा पाँच सय भैंसी पुर्‍याइने बताए।

देवकोटाले संरचना निर्माणमै डेढ करोड खर्चिएका छन्। डेढ करोड बराबरको भैंसी फर्ममा भित्र्याउने उनको योजना छ। उनले अहिलेसम्म सरकारी अनुदान र बैंकबाट ऋण लिएका छैनन्। ‘पहिले व्यवसाय गरेर देखाएपछि सहयोग माग्न पनि सजिलो हुन्छ,’ उनले भने, ‘त्यसैले जमिन बेचेर भैंसी पाल्न सुरु गरेको हुँ।’ उनी भैंसी पालेर दुध बेच्दा आफूलाई छुट्टै आनन्द आउने बताउँछन्। राप्ती मुनालका नामबाट उनले चितवनदेखि दाङसम्म महेन्द्र राजमार्ग क्षेत्रका बजारमा होटल व्यवसाय सञ्चालन गर्छन्। कुटानी–पिसानी मिल पनि सञ्चालन गरेका छन्।  

उनी कृषिकर्ममा भविश्य देख्छन्। ‘कर्णाली प्रदेश सरकारले आफ्नो प्रदेशलाई अर्गानिक प्रदेश घोषणा गरेको छ,’ उनले भने, ‘सरकारको नारालाई सघाउ पुर्‍याउनका लागि पनि सहयोगी हुने र व्यवसाय पनि हुने भएकाले कर्णालीमा आएर भैंसीपालन व्यवसाय सुरु गरेको हुँ।’ कर्णालीमा धेरै भैंसी भएको फर्म देवकोटाको हो। उनको फर्ममा अहिले १० जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। फर्म विस्तार हुँदै जाँदा थप रोजगारी सृजना हुन्छ।

उपसभामुख र सांसदद्वारा अनुगमन

तोलीखोलामा रहेको देवकोटाको भैंसी फर्मको कर्णाली प्रदेशसभाका उपसभामुख पुष्पा घर्ती र सांसद एवम् भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसी, अमृता शाहीलगायतले अनुगमन गरेका छन्। पूर्वमन्त्री केसीले कृषिकर्मका लागि कर्णाली उर्वर भूमि रहेको बताइन्। उनले कर्णालीलाई दुधमा आत्मनिर्भर बनाउन फर्मले सघाउ पुर्‍याउने बताइन्। ‘अहिले पनि प्रदेश राजधानीमा बाहिरी प्रदेशबाट दुध र दुग्धजन्य पदार्थहरु आउने गरेको छ,’ उनले भनिन्, ‘फर्मको उत्पादनले केही हदसम्म भएपनि कर्णालीलाई दुध र दुग्धजन्य पदार्थमा आत्मनिर्भर बनाउने छ।’

प्रकाशित: ६ आश्विन २०७८ ०४:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App