१६ चैत्र २०८० शुक्रबार
अर्थ

अदालतको फैसला कार्यान्वयनमा गोरखा प्रहरी सक्रिय

एकै दिन १८ अभियुक्त पक्राउ

अदालतको फैसला कार्यान्वयन गर्ने अभियानलाई तीब्रता दिएको गोरखा प्रहरीले एकैदिन १८ जनालाई पक्राउ गरेको छ । अदालत र प्रशासनबाट कैद तथा जरिवाना तोकिएका उनीहरुलाई सजाय भुक्तानका लागि सोमवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले बताए ।  

१८ जनाबाट एकवर्ष पाँचदिन कैद र सातलाख ३५ हजार तीनसय ८३ रुपैयाँ असुल उपर गरिएको छ । बैंकिङ कसुर लागेका गण्डकी गाउँपालिका–४ का लोकबहादुर भट्ट सातलाख जरिवाना र १५ दिन कैद सजाय तोकिएका ब्यक्ति हुन् । शहीदलखन गाउँपालिका–७ मा सरकारी कागज किर्ते मुद्दाका अनिल तिवारीबाट ११ महिना छ दिन र ५० रुपैयाँ जरिवाना असुल गर्न बाँकी छ । लागु औषध मुद्दामा शहीदलखन गाउँपालिका–६ का नारायण योगी सात दिन कैद सजाय भुक्तानमा परेका छन् ।  

गोरखा नगरपालिका–९ का रबिन खत्री लागुऔषध मुद्दामा फरार प्रतिबादी हुन् । उनले सातदिन कारागार सजाय भुक्तान गर्न बाँकी छ । यी चारजना कारागार चलान भएको प्रहरीले जनाएको छ ।  अन्य १४ जना भने जरिवाना तिरेर छुटेका छन् । वन मुद्दामा पालुङटार–९ का जिवित गुरुङबाट १६ हजार तीन सय ३३ असुल भएको छ । सार्वजनीक अपराध गरेका र एकहजार देखि १० हजार सम्म जरिवाना तोकिएकाहरु १३ जना छन् ।  

‘अदालतको फैसलालाई कार्यन्वयन गर्न लागिरहेका छौ,’ जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी दाहालले भने ‘मातहतका सबै चौकीलाई पनि यो अभियानमा लाग्न निर्देशन गरिएको छ ।’ अधिकाशं मुद्दाका अभियुक्तहरु सजाय भुक्तान नगरी गाउँमा लुकेर बस्ने र यस अघि प्रहरीले खोजी खासै चासो नदिएका कारण फैसला कार्यन्वयन प्रभावकारी हुन सकेको थिएन । केही समय यता गोरखा प्रहरीले जिल्ला प्रशासनबाट जरिबाना तोकिएका सार्वजनिक मुद्दाका अभियुक्त र अदालतबाट सजाय  तोकिएकाहरुलाई धमाधमा पक्राउ गर्दै आएको छ ।  

प्रकाशित: २९ भाद्र २०७८ ०७:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App