coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

अरूण तेस्रोका लागि रोकिएको जग्गा फुकुवा

अरूण तेस्रो जलविद्युत् आयोजनाको प्रसारण लाइनको रुट (बाटो) परिवर्तनसँगै खोटाङमा रोक्का राखिएका जग्गा फुकुवा गरिएको छ।

संखुवासभामा निर्माणाधीन ९०० मेगावाट क्षमताको अरूण तेस्रोको प्रशारण लाइनको रुट परिवर्तन गरिएका कारण जिल्लाको साकेला गाउँपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिकाको दुई वर्ष रोक्का जग्गा फुकुवा गरिएको हो।

संखुवासभाबाट भोजपुर, खोटाङको साकेला गाउँपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिका हुँदै उदयपुरबाट ढल्केबरमा जोडिने अरूण तेस्रोको टिएल टावर निर्माणका लागि जिल्ला प्रशासन कार्यालय खोटाङले २०७६ साल मंसिर १० गते गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरी स्थानीय ३०/४० घरका १३८ कित्ता जग्गा अधिग्रहणका लागि रोक्का गरेको थियो। 

अहिले आएर पहिरो, खोलाखोल्सी, मानव बस्ती, पहरा लगायतका प्राकृतिक अवरोध छल्न प्रसारण लाइनको रुट परिवर्तन भएपछि रोक्का जग्गा फुकुवा गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

यसैबीच, प्रसारण लाइनको पुरानो रुट परिवर्तन लगत्तै पुनः नयाँ रुटले अधिग्रहण गर्ने जग्गा यकिन गर्न सुरु गरिएको छ। दुई गाउँपालिकाभित्रका जग्गा अधिग्रहणका लागि जग्गाको कित्ता नम्बर, क्षेत्रफल, जग्गाधनीको नाम लगायत विवरण संकलन सुरु गरिएको अरूण तेस्रो जलविद्युत आयोजनाका साइट अफिस को–अर्डिनेटर प्रवीण यादवले बताए। अरूण तेस्रोको प्रसारण लाइनका लागि साकेला गाउँपालिकाको बाँझेच्यानडाँडा, रतन्छा, मात्तिम र दिप्रुङ चुइचुम्मा गाउँपालिकाको टेम्मा, याम्खा, डाँडागाउँ, छोरम्बु र बतासेको जग्गा अधिग्रहण गर्ने तयारी गरिएको छ।

२०७२ सालमा गरिएको गुगल म्यापिङ, आइइई लगायतका क्रममा  साकेला गाउँपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिकाका १३८ कित्ता जग्गा अधिग्रहणका लागि रोक्का गरिएको थियो। खोटाङका दुई गाउँपालिकामा ७९ वटा पोल राखिने छन्। साकेला गाउँपालिकाभित्र ३५ वटा र दिप्रुङ चुइचुम्माभित्र ४४ वटा टावर गाडिने आयोजनाले जनाएको छ। जलविद्युत्को टावरबा दायाँ–बायाँ २३/२३ मिटरभित्रको जग्गा अधिग्रहण हुनेछ। जिल्ला मालपोत कार्यालयसँगको समन्वयमा आयोजनाको प्रसारण लाइनले ओगट्ने जग्गा छुट्टयाउने र मुआब्जा दिलाउने प्रक्रिया सुरु हुने साइट अफिस को–अर्डिनेटर यादवले बताए।

भारतको सतलज हाइड्रो कम्पनीले निर्माण गरिरहेका अरूण तेस्रो आयोजना २०७५ वैशाख २८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काठमाडौंबाट शिलान्यास गरेका थिए।

प्रकाशित: २८ भाद्र २०७८ ०३:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App