१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

अन्नपूर्ण आधारशिविर क्षेत्र असोज पहिलो सातादेखि खुल्ने

छोमरोङबाट आइतबार देखिएको अन्नपूर्ण पदमार्ग क्षेत्र । तस्बिरः नागरिक

कोरोना भाइरस संक्रमणका कारण लामो समयदेखि बन्द रहेका अन्नपूर्ण आधारशिविर क्षेत्रका होटल असोज पहिलो सातादेखि खुल्ने भएका छन् । अन्नपूर्ण आधारशिविर (एबिसी) पदमार्गको प्रवेशद्वारमा पर्ने घान्द्रुकका होटल भने असोज १ देखि नै खोल्ने तयारी स्थानीय व्यवसायीले गरेका छन् । एबिसीका होटल भने असोज ५ देखि खुल्नेछन् ।  

कोरोना संक्रमण केही कमजोर भएको र घुमघामको सिजन सुरु भएकोले पनि होटल खोल्ने तयारी गरेको व्यवसायीले बताएका छन् । घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष किसम गुरुङले असोज १ देखि घान्द्रुकका होटलमा पाहुना राख्न थाल्ने बताए । ‘संक्रमण केही कम पनि भएको छ । घुमघामको सिजन सुरु भएको छ । मौसमले साथ दिएको छ,’ गुरुङले भने, ‘सधैं बन्द गरेर मात्र भएन । त्यही भएर असोज १ देखि होटल खोल्ने तयारी व्यवसायीले गरेका छन् ।’

घान्द्रुक सहित घोरेपानी, टाढापानी, छोमरोङ हुँदै एबिसीसम्मका सबै ठाउँका होटल असोज पहिलो साताभित्र खुलिसक्ने उनले बताए । ‘सबैतिरका गन्तव्य खुलिसक्दा अन्नपूर्ण क्षेत्रभित्रका होटल नखोल्दा सन्देश पनि नराम्रो जान्छ । यता आउन चाहेका पाहुना अन्यत्र डाइभर्ट हुनसक्छन,’ उनले भने, ‘त्यही भएर होटल खोल्ने निर्णय गरेका हौ ।’ 

होटलमा काम गर्ने सबै कामदारलाई काममा फर्किन भसिकेको पनि उनले बताए । उनका अनुसार अन्नपूर्ण क्षेत्रका होटलमा अहिले पाहुनाले सोधपुछ थालिसकेका छन् । केही आन्तरिक पाहुना त घुमघामका लागि पनि जान थालिसकेका छन् । पछिल्लो तीदिनदेखि मौसम खुलेकोले पनि हिडडुल सहज भएको उनले बताए ।  

सरकारले पर्यटकीय क्षेत्रका व्यवसायीलाई लक्षित गर्दै कोरोना विरुद्धको खोप लगाएपनि अन्नपूर्ण क्षेत्रका व्यवसायीले भने खोप लगाउन पाएका छैनन । खोप लगाउन नपाएपनि व्यवसाय खोल्न बाध्य भएको उनले बताए । ‘हामीले सरकारी निकायसँग खोपका लागि अनुरोध गरेका हौ । तर, अहिलेसम्म पाएका छैनौ । खोप लगाउन पाएको भए व्यवसायीले ढुक्कले व्यवसाय खोल्ने थिए,’ उनले भने, ‘तर अब खोप नपाएपनि व्यवसाय भने खुल्छ ।’ खोप लगाउन नपाउँदा केही त्रास भने कायमै रहेको उनले बताए । काठमाडौं, सौराहा, पोखरा सहितका गन्तव्यका पर्यटन व्यवसायीले खोप लगाइसक्दा अन्नपूर्ण क्षेत्रका व्यवसायी भने बञ्चित रहेको उनले सुनाए ।  

अन्नपूर्ण क्षेत्रमै पर्ने पर्यटकीय गाउँ घोरेपानीका व्यवसायी भीम पुनले पनि होटल खोल्ने तयारी भईरहेको बताए । उनले पनि असोज १ देखि होटल खोल्ने तयारी भएको बताए । केही व्यवसायीले अहिले नै पाहुना राख्न थालिसकेको उनले जानकारी दिए । घोरेपानीमा हंग्री आई होटल संचालन गरिरहेका पुनका अनुसार होटल खुलाउने तयारी भएपनि काम गर्ने कामदार भने छैनन ।  

कोरोना संक्रमणको त्रासले होटल बन्द भएपछि घर फर्केका कामदारलाई अब काममा बोलाउने उनले बताए । ‘कर्मचारीलाई काममा बोलाउन पनि सकस छ । असोज १ देखि होटल खुलाउने तयारी छ । तर, कामदार छैनन,’ उनले भने, ‘जसोतसो भएपनि कामदारलाई बोलाउनै प¥यो । यो बेला केही आन्तरिक पाहुना आए भने पर्यटन क्षेत्रमा चहलपहल बढ्नेछ ।’  

छोमरोङ पर्यटन व्यवसायी समितिका सचिव दिलीप गुरुङ पनि पदयात्रा क्षेत्र चलायमान बनाउने तयारी भएको बताए । छोमरोङदेखि आधारशिविरसम्मका होटल असोज ५ गतेदेखि संचालनमा आउने उनले जानकारी दिए । ‘घान्द्रुक असोज एकगते देखि नै खुल्ने भनिएको छ । छोमरोङदेखि एबिसीसम्मका होटल भने असोज ५ गतेदेखि संचालन गर्ने निर्णय भएको छ,’ उनले भने, ‘केही तयारी अपुग भएकोले असोज एकगते खोल्न सकिएन । असोज पाँचपछि पाहुनाले सेवा पाउनेछन् ।’

कोरोना विरुद्धको खोप नपाएपनि व्यवसाय खोल्ने निर्णय भएको उनले पनि बताए । अन्यत्रको पर्यटन क्षेत्र चलायमान भएपनि अन्नपूर्ण क्षेत्र बन्द भईरहँदा सन्देश गतिलो नजाने भएकोले खोल्ने तयारी भएको उनले बताए । वर्षायाममा बाटोघाटो बिग्रेकोले मर्मत गर्न थालेकोले पनि केहीदिन ढिला गरेर खोल्ने उनले बताए ।  

महिनौदेखि रित्तै रहेका एबिसी, माछापुच्छ«े आधारशिविर (एमबिसी) लगायतका क्षेत्रका होटलका कामदार अहिले होटल खोल्ने तयारी गर्दै आधारशिविरतिर उक्लिने क्रममा रहेको उनले बताए । ‘आजको भोलि पाहुनाले सेवा पाउन सक्दैनन । महिनौेदेखि बन्द रहेका होटलमा पनि तयारी गर्नुपर्छ,’ छोमरोङका सचिव गुरुङले भने, ‘अहिले कामदार उक्लेर तयारी गरिरहेका छन । केहीदिनको तयारीपछि पाहुना जान थाल्नेछन् ।’ छोमरोङदेखि एबिसीसम्म ६२ वटा होटल छन् ।  

उनले पनि कोरोना विरुद्ध खोप नलगाएको अवस्थामा पनि व्यवसाय सुचारु गर्ने तयारी भएको बताए । ‘सिजन पनि सुरु भएको छ । मौसाान सुधार आएको छ । अब आन्तरिक पाहुना पनि आउलान,’ उनले भने, ‘यो बेला संक्रमण कम भएकोले पनि पाहुना आउनेमा आशावादी छौ ।’ संक्रमण केही घटेको र पर्यटकीय सिजन तथा चाँडबाँड सुरु भएकोले पनि आन्तरिक पाहुना आउनेमा आफुहरु आशावादी भएको उनले बताए ।  

प्रकाशित: २७ भाद्र २०७८ ०८:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App