१३ असार २०८१ बिहीबार
image/svg+xml
अर्थ

अरुण तेश्रोका लागि रोक्का राखिएका जग्गा फुकुवा

अरुण तेश्रो जलविद्युत आयोजनाको प्रशारण लाईनको रुट(बाटो) परिवर्तनसँगै खोटाङमा रोक्का राखिएका जग्गा फुकुवा गरिएको छ । संखुवासभामा निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण तेश्रोको प्रशारणलाईनको रुट परिवर्तन गरिएका कारण जिल्लाको साकेला गाउँपालिका र दिप्रुङ चुईचुम्मा गाउँपालिकाको दुई वर्ष रोक्का जग्गा फुकुवा गरिएको हो।  

संखुवासभाबाट भोजपुर, खोटाङको साकेला गाउँपालिका र दिप्रुङ चुईचुम्मा गाउँपालिका हुँदै उदयपुरबाट ढल्केबरमा जोडिने अरुण तेश्रोको टिएल टावर निर्माणका लागि जिल्ला प्रशासन कार्यालय खोटाङले २०७६ साल मंसिर १० गते गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै स्थानीय ३०/४० घरका १३८ कित्ता जग्गा अधिग्रहणका लागि रोक्का गरेको थियो। तर, अहिले आएर पहिरो, खोलाखोल्सी, मानव वस्ती, पहरा लगायतका प्राकृतिक अवरोधलाई छल्नका लागि जलविद्युत आयोजनाको रुट परिवर्तन भएपछि २०७६ सालदेखि रोक्का जग्गा फुकुवा गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।  

भदौ ८ गते बसेको मुआब्जा निर्धारण समितिको बैठकले रोक्का जग्गा फुकुवा गर्ने निर्णय गरेको भन्दै प्रशासनले रोक्का जग्गा फुकुवाका लागि भदौ १५ गते जिल्ला मालपोत कार्यालयलाई पत्राचार गरेको छ। अरुण तेश्रोको निर्माणको जिम्मा लिएको भारत सरकार स्वामित्वको एसजेभिएन कम्पनीका प्रमुख इन्जिनियर प्रशान्त शर्मा, उपमहाप्रवन्धक बिक्रम मोरगेल, प्रमुख जिल्ला अधिकारी, दुई स्थानीय तहका प्रमुख लगायतको सो बैठकले दुई वर्षसम्म रोक्का रहेको जग्गाको मुआब्जा दिनका लागि पनि  सिफारिस गर्ने निर्णय गरेको थियो।

नयाँ रुटले अधिग्रहण गर्ने जग्गाको पुनः यकिन सुरु  

अरुण तेश्रो जलविद्युत आयोजनाको प्रशारणलाईनको पुरानो रुट परिवर्तन लगत्तै पुनः नयाँ रुटले अधिग्रहण गर्ने जग्गा यकिन गर्न सुरु गरिएको छ। अरुण तेश्रोको प्रशारणलाईनले ओगट्ने दुई गाउँपालिकाभित्रका जग्गा अधिग्रहणका लागि जग्गाको कित्ता नम्बर, क्षेत्रफल, जग्गाधनीको नाम लगायतका विवरण संकलन सुरु गरिएको अरुण तेश्रो जलविद्युत आयोजनाका साईडअफिस को–अर्डिनेटर प्रविण यादवले बताए।  

अरुण तेश्रोको प्रशारण लाईनका लागि साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडा, साकेला गाउँपालिका–२ रतन्छा, साकेला गाउँपालिका–४ मात्तिम र साकेला गाउँपालिका–५ मात्तिम, दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्मा, दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खा, दिप्रुङ चुईचुम्मा गाउँपालिका–२, डाँडागाउँ, दिप्रुङ चुईचुम्मा गाउँपालिका–३ छोरम्बु र दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेका आवश्यक जग्गा अधिग्रहण गर्ने तयारी गरिएको छ।

२०७२ सालमा गरिएको गुगल म्यापिङ, आइइई लगायतका क्रममा  साकेला गाउँपालिका र दिप्रुङ चुईचुम्मा गाउँपालिकाका १३८ कित्ता जग्गा अधिग्रहणका लागि रोक्का गरिएको थियो। खोटाङका दुई गाउँपालिकामा ७९ वटा पोल राखिने छन्। साकेला गाउँपालिकाभित्र ३५ वटा र दिप्रुङ चुईचुम्मा गाउँपालिकाभित्र ४४ वटा टावर पोल गाडिने आयोजनाले जनाएको छ।

जलविद्युतको पोलबाट दायाँ–वायाँ २३÷२३ मिटरभित्रको जग्गा अधिग्रहण हुनेछ। जिल्ला मालपोत कार्यालयसँगको समन्वयमा आयोजनाको प्रशारण लाईनले ओगट्ने जग्गा छुट्याउने र मुआब्जा दिलाउने प्रकृया सुरु हुने साईडअफिस को–अर्डिनेटर यादवले बताए।  

भारतको सतलज हाइड्रो कम्पनीले ठेक्का लिएको अरुण तेश्रो आयोजना २०७५ बैसाख २८ गते नेपालका तत्कालिन प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काठमाडौँबाट शिलान्यास गरेका थिए।

प्रकाशित: २४ भाद्र २०७८ ११:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App