बेलायतको एउटा कार्यालयमा एक जना कर्मचारीले बोलीपिच्छे छाडा बोलेको भन्दै कामबाट निकालिएको थियो। त्यसका विरुद्ध ती कामदारले अदालतमा मुद्दा हालेका थिए। छाडा बोलेकै कारणले जागीरबाट निकाल्न नपाइने ती कामदारको तर्क थियो।
कामका बेलामा कसैले छाडा बोल्नु कामकै एक अंश भएको उनको तर्क थियो। यो हरेक ठाउँमा भइरहेकै हुन्छ। खासगरी उत्तरी बेलायतमा त यसलाई निकै सहज रूपमा लिइन्छ। त्यसैले यसलाई जागीरबाट निकाल्ने कारण बनाइनु हुन्न भन्ने ती जागीरेको तर्क थियो। यसमा अदालतले पनि नियतवश कसैलाई हानि नगर्ने गरी छाडा बोल्दा फरक नपर्ने भन्दै सोको सदर गरेको थियो।
यस निर्णयको केही दिनपछि फर्मूला वन कार रेसमा ग्रान्ड प्रिक्सका सञ्चालक अध्यक्ष मोहम्मद बेन सुलेयेमले खेलाडीहरूले खेल अवधिमा ज्यादै छाडा बोलेको भन्दै असन्तुष्टि पोखेका थिए। त्यसका विरुद्धमा अधिकांश खेलाडीहरूले उनलाई ‘आफ्नो काममा ध्यान दिन र गालीमा ध्यान नदिन’ सचेत गराएका थिए।
उनीहरूले भनेका थिए, ‘हामी न त र्यापर हौँ न त केटाकेटी नै! हामीलाई छाडा बोल्ने पूरापूर अधिकार छ।’ अचेल त गाली यस्तो आम बोलीचालीको भाषा भइसकेको छ कि यसले गालीको स्वरूप नै बदलिसकेको छ।
इतिहास पल्टाउँदा के देखिन्छ भने रोमनहरूले नग्न पुरुषहरूको मूर्ति बनाउँदा बरु उति अश्लील मान्दैनथे तर जनेन्द्रियका शब्दहरू बोलीचालीमा आउनेबित्तिकै रिसाउँथे। भिक्टोरियाकालमा ‘फक’ शब्द यति सामान्य मानिन्थ्यो कि त्यसलाई कुनै व्यक्तिले प्रयोग गर्नु भनेको अड्किएको शब्दमा रिक्त स्थान पूरा गरेको मानिन्थ्यो।
इतिहासमा प्रयोग गरिएका सबै शब्द अहिले पनि प्रयोग गरिनुपर्छ भन्ने होइन तर छाडा शब्द बोल्दा तनावमुक्त भइने हुनाले पनि कतिपयलाई दुर्वाच्य अनिवार्य हुन पुगेको हो। दुर्वाच्यले मानसिक थेरापीको कामसमेत गर्ने केहीको दाबी छ। यसले शारीरिक पीडा कम गराउने अश्लील शब्दावलीका ज्ञाता जोनाथन ग्रिनको भनाइ छ।
ग्रिनको भनाइमा पहिले त ती शब्द सुन्नेबित्तिकै मानिसहरूले बम पड्किएजस्तै तर्सने गर्थे। जति बढी प्रयोग भयो, उति यसले आफ्नो शक्ति गुमाएको छ र अचेल त यसको खासै अर्थ हुन छाडेको छ।
केहीले भने यसको अर्थ गुम्न थालेको नभई प्रयोग गर्ने शैली फरक भएको मान्छन्। रिसाएको बेला अश्लील शब्द प्रयोग गरे, त्यसले भयानक स्वरूप ग्रहण गर्ने र त्यसले कुटपिट नै पनि बढाउने केहीको धारणा छ।
प्रकाशित: २ पुस २०८१ ०५:४० मंगलबार