२ पुस २०८१ मंगलबार
image/svg+xml
विचार

बेवारिसे शवकी सहारा

दिल्लीस्थित आफ्नो सानो फ्ल्याटको एकछेउमा बसेर अस्पतालमा कसैसँग पूजा शर्मा मोबाइल फोनमा कुरा गरिरहेकी थिइन्। कुराकानीका क्रममा उनलाई दक्षिण दिल्लीको अस्पतालमा एक बेवारिसे शवको पोस्टमार्टम गरिएको र अब दाहसंस्कार गर्नुपर्ने बताइन्छ। पूजा आफ्नो एम्बुलेन्स लिएर उक्त अस्पताल पुग्छिन्। आवश्यक कागजी कारबाहीपछि उक्त शव उनलाई बुझाइन्छ। उनले शवलाई आधुनिक विद्युतीय शवदाह गृहमा लगेर धार्मिक विधिअनुसार दाहसंस्कार गर्छिन्।

यो उनको दैनिक कार्य हो। दिनको कैयौँ पटक उनी विभिन्न अस्पतालका शवगृहबाट दावी नगरिएका र बेवारिसे शवहरू शवदाह गृहमा लैजान्छिन् र विधिपुर्वक दाहसंस्कार गर्छिन्।

२७ वर्षीया पूजा शर्माका अनुसार उनले अहिलेसम्म करिब पाँच हजार बेवारिसे शवलाई आफ्नै हातले दाहसंस्कार गरिसकेकी छिन्। शहरका विभिन्न क्षेत्रमा मृत फेला परेका बिनापहिचानका व्यक्तिहरू, उत्तराधिकारी अथवा आफन्त नभएकाहरूको अन्तिम संस्कार उनले गर्दै आएकी छिन्। यस्ता व्यक्तिको मृत्युपछि पनि हेरचाह गर्ने कोही होस् भन्ने चाहनाले पूजा शर्माले दाहसंस्कार गर्दै आएको बताइन्।

उनी भन्छिन्– ‘मर्ने मानिसको धर्मअनुसार सम्बद्ध समाधिस्थलमा लाने गरेको छु। अहिलेसम्म पाँच हजारभन्दा बढी बेवारिसे शवको अन्तिमसंस्कार गरिसकेकी छु।’

त्यसो त पूजाले दिल्लीमा एक गैरसरकारी संस्था पनि चलाउँछिन् जसले दाबी नगरिएका शवको अन्तिम संस्कार गर्दछ। उनी बेवारिसे शवहरू पत्ता लगाउन र शवदाह गृहमा ढुवानी गर्न शहरका अस्पतालहरू र प्रहरीहरूसँग निरन्तर सम्पर्कमा रहन्छिन्। जतिबेला र जहाँ आवश्यक हुन्छ त्यहाँ पुग्छिन्।

उनी भन्छिन्– ‘सामाजिक सञ्जालमा मानिसले मेरोबारेमा जव थाहा पाए, त्यसपछि उनीहरूले मद्दत गर्न थाले। यस्तै सहयोगले मैले एम्बुलेन्स किनेँ जुन बेवारिसे शव दाहसंस्कार गर्न र गरिबहरूलाई सहयोगमा समर्पित छ।’

पूजाका अनुसार यो सबै गर्ने सोच आफ्नै दाजुको मृत्युपछि आएको हो। घरको पूरै जिम्मेवारी बोक्दै आएका उनको मृत्युपछि परिवारमा ठूलो संकट आएको थियो।

त्यो समय स्मरण गर्दै पूजा भन्छिन्– ‘त्यो मार्च १३, २०२२ को दिन थियो, जब मेरो जेठो दाइको मृत्यु भयो, यसको आघात मेरो बुबालाई यति धेरै परेको थियो कि उहाँ सहन नसकेर कोमामा जानुभयो।’

उनी थप्छिन्– बुवाको त्यो हालत र दाजुको मृत्युपछि जे गर्नुपर्ने थियो, त्यो मैले नै गर्नुपर्ने भयो। यस्तो अवस्थामा जब मैले हिम्मत जुटाएर सबै कुरा आफैंँ गर्ने निधो गरेँ। तर दाइको अन्तिम संस्कार गर्न हाम्रो घरमा केही थिएन।

पूजाले थपिन्–परम्परागतरूपमा पुरुषले मात्रै अन्तिम संस्कार गर्न सक्छन् तर मैले आफैँले गर्ने निर्णय गरेँ र हिम्मतका साथ नियम–कानुनभन्दा पर गएर दाजुको अन्तिम संस्कार आफैं गरेँ। आफ्नो व्यक्तिगत दुःख र कठिन समयमा कसैको साथ नहुने अनुभवले उनको मनमा गहिरो प्रभाव पारेको थियो।

पूजा भन्छिन्– जब समाजका मानिस सहयोगका लागि अगाडि आउँदैनन् तब यो संसारमा कोही नभएका मानिसलाई त यो झन कठिन हुन्छ। त्यसपछि पूजाले यो संसारमा कुनै उत्तराधिकारी नभएका बेवारिसे र दाबी नगरिएका शवहरूको अन्तिम संस्कार आफैंँ गर्ने निर्णय गरिन्।

पुरातन धारणा तोड्नु चुनौतीपूर्ण तर यो बाटो आफ्ना लागि सहज नभएको पूजा बताउँछिन्। यो काममा उनले धेरै कठिनाइ र चुनौतीहरू सामना गर्नुपरेको थियो। यो काममा पनि अनेकन बाधा आएको उनी बताउँछिन्। वर्षौंँदेखि चल्दै आएको चलन र परम्परा तोडेको भनेर उनी आलोचनाको सिकार पनि बनिन्।

पूजाले बिबिसीलाई भनिन्– हामीले बाल्यकालदेखि नै महिला शवदाहमा जाँदैनन् भन्ने सुन्दै आएका थियौँ। म यो काम गरेर समाजको सोच र पुरानो परम्परा तोड्न खोज्दै थिएँ। तर हाम्रो समाजले यो सब सहन सकेको थिएन र समाजलाई आखिर एउटी महिलाले यो सबै किन गर्दैछ भन्ने लागेको थियो। तर समाजसेवाको भावना भएको र त्यही कारणले समाजको अगाडि दृढ भएर आफू उभिएकी पूजा बताउँछिन्। क्रमशः विरोध गर्नेको संख्या घट्दै गएको र साथ दिनेको बढ्दै गएको उनी बताउँछिन्।

हिन्दु धर्ममा मृत्यु हुनेको अन्तिम संस्कार परिवारका पुरुष सदस्यले मात्र गर्ने परम्परा तोड्न पूजा सफल भएकी छिन्। पूजा भन्छिन्– ‘मैले यो विषयमा विभिन्न ग्रन्थ पढ्न थालेँ। वेद पढेँ, धर्मग्रन्थ पढेँ र अन्य धर्मका पुस्तक पनि पढेँ। ती ग्रन्थ पढेपछि थाहा भयो कि कुनै ग्रन्थमा अन्तिम संस्कारमा महिला सहभागी हुनुहँुदैन भनेर लेखिएको थिएन।’

बेवारिसे शवलाई दाहसंस्कार गर्नु सजिलो काम थिएन र यो काम र यसको पछाडिको समाजसेवाको भावनाले पूजाको व्यक्तिगत जीवनमा समेत गहिरो प्रभाव पारेको थियो। पूजाले भनिन्– ‘जब मैले यो काम सुरु गरेँ मेरो वरपरका मानिसले मसँग बोल्न छाडेका थिए। उनीहरू मलाई आत्माहरूले पछ्याइरहेको छ भन्ने ठान्थेँ। मेरो परिवारका सदस्यलाई तिम्री छोरीको बिहे हुँदैन भनिएको थियो। मानिसले म जुन घरमा जानेछु त्यो घर बिग्रनेछ भन्थे। मेरा बाल्यकालका साथीहरूसमेत मसँग कुरा गर्न चाहन्थेनन्।’ तर यी सबै कठिनाइले पनि पूजालाई आफ्नो बाटो र अडानबाट पछि हटाउन सकेनन्।

पूजा भन्छिन्– यो संसार खुलेर बाँच्नका लागि हो। विनाभेदभाव सबै धर्मका मानिसको सेवा गरिरहेकामा म खुसी छु। मेरा लागि सबै समान छन्। हामी सबै मिलेर काम गरेर एकअर्कालाई साथ दिने हो भने यो संसार झन् सुन्दर बन्नेछ।

प्रकाशित: २ पुस २०८१ ०५:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App