२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

दैलो उघार्दै लेकसाइडका होटल

ठुला होटल खुल्न थाले

पोखराको पर्यटकीय क्षेत्र लेकसाइड । तस्बिरः उमेश पुन÷नागरिक

कोरोना भाइरस संक्रमणको दोश्रो लहरसँगै बन्द रहेका मध्ये ठुला आकारका होटल भने संचालनमा आउन थालेका छन् । पर्याप्त पाहुना नभएपनि होटललाई चल्तीकै अवस्थामा टिकाइरहनका लागि पनि होटल संचालनमा ल्याउनुपरेको व्यवसायीले बताएका छन् ।  

स्थानीय प्रशासनले पनि होटलको क्षमता भन्दा आधा संख्यामा मात्र पाहुना राख्न पाउने गरि खुकुलो गराएपछि व्यवसायीले होटल संचालनमा ल्याउन थालेका हुन । साना र मझौला आकारका होटलका व्यवसायीले भने अझै पनि होटल संचालनमा ल्याउन सकेका छैनन ।

संचालनमा ल्याइएका सबै ठुला होटलले पनि पाहुना भने पाएका छैनन । केही होटलले एकाध पाहुना मात्र पाएको बताएका छन । संक्रमणको दोश्रो लहर सुरुभएसँगै गत बैशाख दोश्रो सातादेखि होटल पूर्णरुपमा बन्द थिए । पछिल्लो समय संक्रमणको दर केही वृद्धि हुँदै जाँदा पाहुनाले हिडडुलका लागि योजना नबनाएको व्यवसायीको अनुमान छ । 

कोरोना विरुद्धको खोप समेत सबै नागरिकले नपाएकोले त्यसको असर पनि पर्यटन क्षेत्रमा परेको उनीहरुको भनाई छ । त्यसबाहेक व्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कामदारले खोप लगाउन नपाएकोले पनि तत्काल होटल संचालनमा ल्याएपनि पाहुना आउने सम्भावना निकै नै कम रहेको व्यवसायीको भनाई छ ।  

यहाँको पाँतचारे होटल पोखरा ग्राण्ड आइतबारदेखि संचालनमा आएको छ । होटल क्षमताको आधा संख्यामा पाहुना राख्न पाउने प्रशासनिक खुकुलो भएपछि होटल संचालन गरेको पोखरा ग्राण्डका सिनियर सेल्स म्यानेजर कमल शेरचनले जानकारी दिए । यो होटलमा १४० कोठा छन । ‘आन्तरिक पाह्ुनाको फाट्टफुट्ट सोधपुछ आइरहेको छ । केही व्यवसायिक कम्पनिले पनि कार्यक्रमका लागि सोधपुछ गरिरहेका छन्,’ शेरचनले भने, ‘सधैं बन्द गरेर मात्र पनि भएन । तत्काल विदेशी पाहुनाको अपेक्षा होईन, केही आन्तरिक पाहुना र कार्यक्रम आउने अनुमान छ ।’ सधैं बन्द गरिरहँदा होटलले झनै बढी नोक्सान खेप्नुपर्ने उनले बताए । लामो समय होटल बन्द गरिरहँदा पूर्वाधार र सरसामानमा नोक्सानी हुने उनले बताए ।  

संक्रमणको त्रास अझै बढ्दो भएकोले अन्योल भने कायमै रहेको उनले बताए । ‘खोलेर पनि त्रास छ । बन्द पनि कति गर्ने भन्ने हो । सधैं बन्द गर्दा पनि सन्देश नराम्रो जान्छ,’ उनले भने, ‘सुरक्षा सचेतना अपनाउँदै आएका पाहुनालाई सेवा दिँदै जाने हो ।’ उनले अब कोही पाहुना आएमा होटलमा बस्न र खान समस्या नहुने बताए ।  

पोखराको अर्काे बाराही होटल पनि संचालनमा आएको छ । बाराहीका महाप्रबन्धक राजकुमार केसीले पछिल्लो सातादेखि होटल खुला गरेको जानकारी दिए । बाराहीमा ८० कोठा छन । केही संख्यामा कोठामा पाहुना आएको र सोधपुछ पनि हुन थालेकोले होटल खुलाएको केसीले बताए । 

‘अहिले विदेशी पाहुनाको आगमन अनुमान भन्दा परको कुरा हो । तर, आन्तरिक पाहुना केही आउजाउ देखिएको छ । ८–१० कोठामा पाहुना टुटेका छैनन,’ केसीले भने, ‘पछिल्लो समय पुन संक्रमणको त्रास बढेकोले केही त्रास पनि कायमै छ । तर, सधैं त्रासमा बस्नु भन्दा सतर्कता अपनाएर सेवा दिन थालेका हौ ।’  

स्थानीय प्रशासनले क्षमताको आधा संख्यामा मात्र पाहुना राख्न पाउने गरि अनुमति दिएपनि बाराहीले सेवा दिन थालेको महाप्रबन्धक केसीले बताए । ‘त्रासका बीच होटल खोलेका छौ । संक्रमण उकालो लाग्दो क्रममा रहेको हुँदा केही अन्योल पनि छ,’ उनले भने, ‘अब बन्द गर्न नपरोस भन्ने चाहना हो ।’

पोखराको अर्काे टेम्पल ट्रि रिसोर्टका संचालक बसन्त गौतम पनि नियमित पाहुनाका लागि होटल खुलाउन बाध्य भएको बताउँछन् । उनका अनुसान होटलमा पहिले पनि बस्दै गरेका केही पाहुना अहिले आउन थालेका छन । ‘पहिला पनि आएर बस्ने पाहुना अहिले आउन थालेका छन । नियमित पाहुनाका लागि भएपनि होटल खोल्न बाध्य भयौं,’ गौतमले भने, ‘धेरै नै पाहुना भएर होटल खोलेका होईनौ ।’  

टेम्पल ट्रि मा ६८ कोठा छन । गौतमका अनुुसार वर्षायाममा यसैपनि पाहुना कम हिड्छन । कोरोना संक्रमण कम भएमा अहिलेको वर्षायाम सकिएपछि केही पाहुना आउने सक्ने उनको अनुमान छ । तर कोरोना विरुद्धको खोप नपाएपछि अप्ठेरो परेको उनले बताए । ‘एजेन्सीले पनि होटलका कर्मचारीले खोप लगाए वा नलगाएको भनेर सोध्ने गर्छन । पोखराका सबै होटल र कामदारले खोप पाउने हो भने केही सहज हुन्थ्यो,’ गौतमले भने, ‘तर, खोप पाउनै सकस भयो ।’  

उनका अनुसार काठमाडौंका कर्पाेरेट हाउसले पनि होटल र कामदारले खोप पाए नपाएको भनेर सोधपुछ गरेका छन् । ‘कर्पाेरेट हाउसका कर्मचारीले खोप पाएकोले उनीहरु घुम्न आउन चाहेका पनि छन । तर, व्यवसायी र कामदारले खोप नपाउँदा पाहुना ढुक्क हुन सकेनन,’ उनले भने । होटलमा कार्यरत कामदार र व्यवसायीले खोप नपाउँदा पनि पाहुना ‘मिस’ गरिरहेको उनले सुनाए ।

अतिथि रिसोर्टका संचालक भरत शर्मा पनि पछिल्लो एकसातादेखि होटल संचालमा ल्याएको बताउँछन । ‘बाध्यताले हिड्नुपर्ने पाहुनाका लागि होटल चाहिएको पनि हुन्छ । सधैं बन्द गरेर पनि भएन,’ शर्माले भने ।उनले पछिल्लो एकसातादेखि होटल संचालनमा आएको बताए । अतिथिमा ५० कोठा छन । ‘चलायमान बनाउने हो । भएका पूर्वाधारलाई सही अवस्थामा राखिरहन पनि खोल्नुपर्ने हुन्छ,’ शर्माले भने, ‘अवस्था सहज भएमा अबको सिजनमा केही आन्तरिक पाहुना आउने अनुमान छ ।’ 

प्रकाशित: ११ श्रावण २०७८ ०८:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App