२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अर्थ

युवा बैंकर प्रवेश रिजालले पाए प्रतिष्ठित जीसीआइएफ पुरस्कार

युवा बैंकर प्रवेश रिजालले संयुक्त राज्य अमेरिकाको प्रतिष्ठित ‘ग्लोबल कन्फरेन्स अन इन्स्योरेंस एण्ड फाइनान्स’ (जीसीआइएफ) पुरस्कार प्राप्त गरेका छन्।  

हाल अमेरिकामा कार्यरत उनले मंगलबार संयुक्त राज्य अमेरिकाको लास भेगास शहरमा आयोजित समारोहमा सो पुरस्कार पाएका हुन्। जीसीआइएफले अमेरिकामा बीमा तथा वित्त क्षेत्रमा उल्लेख्य योगदान गरेका व्यक्तिहरुलाई सो पुरष्कार प्रदान गर्ने गरेको छ।  

‘हामीले पुरष्कारको लागि छनोट गर्दा बीमा तथा वित्त क्षेत्रमा कुनै व्यक्ति वा कम्पनीले पारेको प्रभाव, नवप्रवर्तन, भविष्यको तयारी तथा बजारमा माग जस्ता मापदण्डको आधारमा मूल्यांकन गर्छौं। युवा बैंकर प्रवेश रिजाल,  ती सबै मापदण्डहरुमा उत्कृष्ट ठहरिएकाले यो वर्ष उनलाई यो पुरष्कारका लागि छनोट गरिएको हो’, जीसीआइएफले भनेको छ।

अमेरिकाका सबैभन्दा ठूला बैंकहरुमध्येको सिटी ग्रुपमा वरिष्ठ उपाध्यक्षको रुपमा काम गरिसकेका प्रवेश अहिले नयाँ पुस्ताको एउटा ब्यांक, क्रस रिभरमा क्वान्टिटेटिभ स्ट्राटेजिज विभागको प्रमुखको रुपमा काम गरिरहेका छन्। ‘मेरो विभागको मुख्य काम भनेको वित्तीय प्रविधि सम्बन्धी (फिनटेक) कम्पनीहरुलाई पूँजी बजारसंग जोड्न मदत गर्नु हो’, रिजालले भने, ‘हामीले गणित र वित्तको माध्यमबाट पूँजी बजारको अनुमान गर्छौं र बैंकको पूँजीलाई कसरी लगानी गर्ने भन्ने निधो गर्छौं। हामीले प्रत्येक वर्ष वैकल्पिक कर्जा प्ल्याटफर्महरुबाट अरबौं डलर खरिद गरी हेज फन्ड, ठूला लगानी ब्यांकहरु र अन्य बैंकहरुलाई बिक्री गर्न सघाउंछौं।’

एउटा नेपाली बैंकको सल्लाहकारको रुपमा पनि काम गरिसकेका प्रवेशले विश्व पूँजी बजारमा नेपाली कर्जाको व्यापार गर्ने दिन छिट्टै आओस् भन्ने आफूले चाहेको बताए।

उनी अहिले नाइजेरियाको क्रेडिट डेटा मार्केट प्लेसको संचालक समिति सदस्यको रुपमा पनि काम गरिरहेका छन्। विराटनगरमा जन्मिएका प्रवेशले न्यूयोर्क विश्वविद्यालयबाट वित्तीय इञ्जिनियरिंग विषयमा स्नातकोत्तर गरेका छन्।

प्रकाशित: १९ असार २०७८ ०४:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App