३१ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

रसुवागढी नाकाबाट अक्सिजन सिलिन्डर र एन नाइन्टी फाइभ मास्कको आयात

रसुवागढी नाकाबाट आएका अक्सिजन सिलिन्डर तस्बिरः हिमनाथ/नागरिक

रसुवागढी नाकाबाट मंगलबार अक्सिजन सिलिन्डर र एन नाइन्टी फाइभ मास्कको आयात भएको छ। चीन सरकारले अनुदानमा दिएको १ हजार ५ सय वटा सिलिन्डर आयात भएको हो। त्यसैगरी एउटा चिनियाँ गाडीमा ५ लाख २७ हजार ५ सय थान एन नाइन्टी फाइभ मास्क आयात भएको रसुवा भन्सारले जनाएको छ। 

आयात भएका सामग्री स्वास्थ्य कार्यालय रसुवाका प्रमुख बसन्त चालिसेले बुझेका छन्। उनका अनुसार चीनले अनुदानमा दिएको अक्सिजन सिलिन्डर र मास्क मंगलबार नै मन्त्रालयमा पठाइने छ।  चीनले अनुदानमा दिएका सामग्री चार वटा चिनियाँ गाडीले आयात गरेका रसुवा भन्सारका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले बताए। अरु केही व्यापारीले मगाएका स्वास्थ्य सामग्री समेत आउने क्रममा रहेको उनको भनाइ छ। 

गएको १५ महिनादेखि अन्य सामग्री समेत चिनियाँ गाडीले नै ल्याउने गरेका छन्। केही साता अघिदेखि दैनिक ८ वटा चिनियाँ गाडीले सामग्रीहरू आयात गरिहेका छन्। चीनबाट रेडिमेट, इलेक्ट्रोनिक, जलविद्युत् आयोजनाका सामग्री, टेलिकमका सामग्री र फलफूल आयात हुँदै आएको छ। त्यसैगरी नेपालबाट बाँसको मुडा, काठको टेबल, अम्रिसोको कुचो लगायतको सामग्री चीनतर्फ निर्यात हुने गरेको छ। तर कोभिड–१९ का कारण निर्यात लामो समयदेखि ठप्प छ।

२०७१ सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक २ सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका थिए। चीनले अन्तर्राष्ट्रिय नाकाको रूपमा घोषणा गरेपछि सीमामा व्यापारी, व्यवसायी र सवारीको चाप बढ्दै गएको थियो। रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ।

प्रकाशित: १८ जेष्ठ २०७८ ०६:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App