७ वैशाख २०८१ शुक्रबार
अर्थ

यार्सागुम्बा संकलनमा रोक

हिमाली जिल्ला डोल्पामा कोभिड–१९ (कोरोना भाइरस) को जोखिम बढ्दै गएपछि बहुमूल्य जडीबुटी यार्सा गुम्बा संकलनमा रोक लगाइएको छ । आइतबार जिल्ला विपद् व्यवस्थापन समिति र जिल्ला कोभिड–१९ संक्रमण व्यवस्थापन केन्द्रको बैठकले स्थिति सामान्य नहुँदासम्मका लागि यार्सागुम्बा संकलनमा रोक लगाएको हो ।

यसभन्दा अघि जिल्ला समन्वय समितिको पहलमा बसेको सर्वपक्षीय बैठकले जेठ १० गतेदेखि यार्सागुम्बा संकलन खुला गर्ने निर्णय गरेको थियो । कोरोना भाइरस संक्रमण बढ्दै गएपछि भने उक्त निर्णय कार्यान्वयन नहुने निर्णय भएको थियो । पछिल्लो समय कोरोना भाइरस संक्रमण दर बढ्दै जाँदा जोखिम न्यूनीकरण गर्न यार्सागुम्बा संकलन गर्न रोक लगाइएको डोल्पाका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढकालले जानकारी दिए । कहिलेसम्म खोल्ने निर्णय नभए पनि स्थिति नियन्त्रण नहुँदासम्म यार्सागुम्बा संकलन रोकिने उनले जनाए । बर्सेनि यहाँ यार्सागुम्बा संकलनका लागि हजारौं सर्वसाधारण डोल्पाका पाटनहरुमा यार्सागुम्बा संकलनका लागि पुग्छन् ।

डोल्पालगायत, जाजारकोट, रुकुम पश्चिम, रुकुम पूर्वलगायत जिल्लाका बासिन्दाले यो सिजनमा आम्दानी गरेको पैसाले वर्ष दिनसम्म घर खर्चको जाहो गर्छन् । हिमाली हिराका नामले पनि परिचित यार्सागुम्बा यस क्षेत्रका बासिन्दाको प्रमुख आयस्रोत हो । वैशाख जेठ दुई महिनासम्म यहाँ यार्सागुम्बा संकलन हुन्छ । एउटा व्यक्तिले कम्तिमा दुई लाखभन्दा बढी आम्दानी गर्छन् । ‘केही घरका त पूरै परिवार यार्सागुम्बा संकलनका लागि पाटनतिर जान्छन्,’ डोल्पा मुड्केचुला गाउँपालिकाका मञ्जित लामाले भने, ‘उनीहरुले कम्तिमा पाँच लाख रुपैयाँसम्म आम्दानी गर्छन् ।’

‘कोरोना भाइरसको भयावहस्थितिमा हजारौं मान्छे जम्मा गर्दा यहाँको अवस्था के होला ?’ प्रमुख जिल्ला अधिकारी ढकालले भने, ‘यस्तो अवस्थामा यार्सागुम्बा संकलनभन्दा ज्यान जोगाउनु ठूलो कुरा हो ।’ जनताको स्वास्थ्य सुरक्षाका लागि यस वर्ष यार्सागुम्बा संकलन गर्न रोकिएको उनको भनाइ छ ।

प्रकाशित: २६ वैशाख २०७८ १२:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App