१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

माथिल्लो तामाकोसीको बाँधमा पानी राख्न थालियो

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको बाँधमा पानी संकलन गर्न सुरु गरिएको छ। बुधबार निर्माणधीन आयोजनाको बाँधमा पानी संकलन गर्न लागिएको हो। आयोजनाले वैशाख मसान्तभित्रै पहिलो युनिटबाट ७६ मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेको छ।

अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका प्रवक्ता गणेशप्रसाद न्यौपानेले यसको पेनस्टक पाइप जडान कार्य ३/४ दिनभित्रै सकिने बताए। ‘अहिले आयोजनाको काम तीव्र रफ्तारमा भइरहेको छ,’ प्रवक्ता न्यौपानेले नागरिकसँग भने। आयोजनाले एक साताभित्र सुरुङमा पानी खसाल्ने तयारी भइरहेको जनाएको छ।

वैशाख १५ देखि २० गतेसम्म आयोजनाको सुरुङमा पानी पठाएर परीक्षण गर्ने तयारी छ। प्रवक्ता न्यौपानेले वैशाख मसान्तभित्रै पहिलो युनिटबाट ७६ मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेर काम भइरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले गत वैशाख २ गते ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको निर्माणमा भएको ढिलासुस्तीमा असन्तुष्टि जनाएका थिए।

जस लिने लालसामा डिपिआर नै तयार नभएका आयोजना शिलान्यास र सम्पन्न नै नभएका परियोजना उद्घाटनमा हतारिएका प्रधानमन्त्रीको असन्तुष्टिसँगै आयोजनाले निर्माणको कामलाई गति दिएको छ। प्रधानमन्त्रीको निर्देशनलाई मार्गदर्शनको रूपमा लिँदै कामलाई तीव्रता दिइराखेका छौं,’ उनले भने, ‘अहिले जतिसक्दो चाँडो काम सम्पन्न गर्नेतर्फ केन्द्रित छौं।’ वैशाख दोस्रो हप्ताबाट पेनस्टक र मुख्य सुरुङमा पानी हाली पेनस्टक, मुख्य सुरुङ, सर्ज स्याफ्ट, सर्ज सुरुङ, पेनस्टक पाइप जस्ता संवेदनशील संरचना तथा गेट, म्यानहोल र भल्भहरूको प्राविधिक परीक्षण गर्ने गरी काम भइरहेको छ।  

मुख्य निर्माण अन्तर्गत बाँध/इन्टेक, मुख्य सुरुङ, विद्युत्गृह, टेलरेस सुरुङ लगायत सिभिल संरचनाको निर्माण सम्पन्न भइसकेको छ। जलाशय र बालुवा थिग्राउने पोखरीमा पानी भरी बाँध, इन्टेक लगायत सिभिल संरचनाहरू र त्यहाँ जडान गरिएका गेट, स्टपलग जस्ता हाइड्रोमेकानिकल उपकरणको प्राविधिक परीक्षण सफल भइसकेको छ। आयोजनामा ६ वटा युनिट छन्। एउटा÷एउटा युनिटको परीक्षण गरेर बिजुली उत्पादन गर्ने लक्ष्य छ।

प्रकाशित: ९ वैशाख २०७८ ०३:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App