सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रस्तावित न्यायाधीश मनोज शर्माको संसदीय सुनुवाइ सम्पन्न भएको छ।
संघीय संसदको संसदीय सुनुवाइ समितिमा भएको छलफल र प्रश्नोत्तरपछि सुनुवाइ प्रक्रिया टुङ्गिएको हो।
सुनुवाइका क्रममा समितिका सदस्यहरूले प्रस्तावित प्रधानन्यायाधीश शर्मालाई उनको कार्ययोजना, विगतको कार्यसम्पादन र उनीविरुद्ध परेका उजुरीका विषयमा केन्द्रित रहेर विभिन्न प्रश्नहरू सोधेका थिए।
सांसदहरूले उठाएका प्रश्नको शर्माले विस्तृत जवाफ दिएका थिए। शर्माले आफ्नो जवाफ दिइसकेपछि समिति सभापति बोधनारायण श्रेष्ठले थप स्पष्टताका लागि सदस्यहरूलाई पूरक प्रश्न सोध्ने समय उपलब्ध गराएका थिए।
तर, कुनै पनि सदस्यबाट पूरक प्रश्न नआएपछि सभापति श्रेष्ठले सुनुवाइ सकिएको जानकारी गराएका हुन्।
संवैधानिक परिषदको बहुमतले गत वैशाख २४ गते शर्मालाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो।
उनीविरुद्ध समितिमा कुल १६ वटा उजुरी दर्ता भएका थिए। सुनुवाइको प्रारम्भमा प्रतिपक्षी दलका सांसदहरूले उजुरी अध्ययनका लागि पर्याप्त समय नदिइएको भन्दै हतारमा सुनुवाइ गर्न खोजिएको भनी विरोध समेत जनाएका थिए।
प्रकाशित: ५ जेष्ठ २०८३ १५:३३ मंगलबार





