प्रस्तावित प्रधानन्यायाधीश मनोज शर्माको संसदीय सुनुवाइ प्रक्रिया सोमबारदेखि संघीय संसदको संसदीय सुनुवाइ समितिमा सुरु भएको छ।
सुनुवाइका क्रममा शर्माले आफ्नो कार्ययोजना प्रस्तुत गरिरहेका छन्। संवैधानिक परिषदको बहुमतले गत वैशाख २४ गते शर्मालाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो।
समितिले उनीविरुद्ध उजुरी आह्वान गरेकोमा कुल १६ वटा उजुरी दर्ता भएका छन्। सुनुवाइ प्रक्रियामा प्रतिपक्षी दलका सांसदहरूले भने आपत्ति जनाएका छन्।
समितिले आजै सुनुवाइ सक्ने गरी हतार देखाएको भन्दै उनीहरूले विरोध गरेका हुन्। शर्माविरुद्ध परेका उजुरीहरू राम्रोसँग पढ्नसमेत नदिई प्रक्रिया टुङ्ग्याउन खोजिएको भन्दै विपक्षी सांसदहरूले बैठकमा असन्तुष्टि व्यक्त गरेका छन्।
शर्मा यसअघि २०७६ साल वैशाखमा सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका थिए। सो समयमा भएको संसदीय सुनुवाइमा समेत उनीमाथि सांसदहरूले प्रश्न उठाएका थिए।
विशेषगरी सर्वोच्च अदालत पुगेर गर्ने कामको स्पष्ट खाका प्रस्तुत गर्न नसकेको भन्दै उनको आलोचना भएको थियो।
प्रकाशित: ५ जेष्ठ २०८३ १५:२४ मंगलबार





