नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा चार जनाको संक्षिप्त सूची सार्वजनिक भएको छ। अध्यक्ष छनोटका लागि गठित अध्यक्ष छनोट सिफारिस समितिले उनीहरुको सूची सार्वजनिक गरेको हो।
अर्थ मन्त्रालय, सिंहदरबारस्थित समितिले अध्यक्ष नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिबाट माग गरिएका आवेदनमध्ये योग्य उम्मेदवारको संक्षिप्त सूची तयार गरेको जनाएको छ। सूचनाअनुसार व्यक्तिगत विवरण पेस गरेका उम्मेदवारमध्ये छनोट प्रक्रियापछि चार जना अन्तिम सूचीमा परेका हुन्।
संक्षिप्त सूचीमा डा. नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्द कुमार क्षेत्री र डा.गोपाल प्रसाद भट्ट रहेका छन्।
समितिले सूचीमा परेका उम्मेदवारलाई आगामी जेठ ८ गते शुक्रबार अर्थ मन्त्रालयमा छलफलका लागि बोलाएको छ। तालिकाअनुसार उनीहरुको अन्तर्वार्ता दिउँसो १ बजेदेखि साढे २ बजेसम्म तोकिएको छ।
समितिले तोकिएको समयअनुसार उपस्थित हुन सम्बन्धित उम्मेदवारलाई आग्रह गरेको छ।

प्रकाशित: ५ जेष्ठ २०८३ १६:४५ मंगलबार





