केही दिनअघिसम्म रंगशाला अगाडिको बस्तीमा बिहान चुलोको धुवाँ उड्थ्यो। मजदुरीमा जानेहरूको हतार हुन्थ्यो। बालबालिकाको खेलाइ र महिलाहरूको गफले बस्ती जीवन्त देखिन्थ्यो। अहिले त्यही बस्ती सुनसान छ । टिनका छाना उखेलिएका छन्, घर टहरा भत्किएका छन् र त्यहाँ बस्ने सयौँ परिवार अस्थायी आश्रय खोज्दै भौतारिएका छन्।
बस्ती हटाइएपछि कोहलपुर नगरपालिकाले वास्तविक सुकुम्बासीलाई होल्डिङ सेन्टरमा राखेको छ। तर, त्यहाँ पुगेका धेरै परिवारको मनमा एउटै प्रश्न छ, ‘अब कतिन्जेल यहाँ बस्ने ?’ होल्डिङ सेन्टरको तेस्रो तलाको एउटा साँघुरो कोठामा भूमिसरा घर्ती मगर आफ्नो सामूहिक परिवारसहित बसिरहेकी छिन्।
कोठाभित्र केही लत्ताकपडा, भाँडाकुँडा र एउटा खटिया मात्रै देखिन्छ। त्यही कोठा अहिले उनको परिवारको अस्थायी संसार बनेको छ। उनका श्रीमान् बिरामी भएर लामो समयदेखि थला परेका छन्। घरको जिम्मेवारी भूमिसराकै काँधमा छ। बालबच्चाको हेरचाह, खाना पकाउनेदेखि दैनिक गुजारा चलाउनेसम्मको चिन्ता उनैले सम्हाल्दै आएकी छन्।
‘पहिला आफ्नै टहरो भए पनि ढुक्क थियो,’ उनले भनिन्, ‘अहिले यहाँ बसिरहेका छौँ, तर कहिलेसम्म बस्न पाइन्छ थाहा छैन।’ उनको स्वरमा थकान र डर दुवै मिसिएको थियो। नगरपालिकाले अतिक्रमित जग्गा खाली गराउँदा उनलाई पनि अन्य परिवारसँगै होल्डिङ सेन्टरमा ल्याइएको हो। बालबालिका सुत्ने ठाउँ साँघुरो छ। खाना पकाउने र दैनिकी चलाउने समस्या छुट्टै छ।
‘आज बस्न दिइएको छ, भोलि फेरि कहाँ जानु पर्ने हो भन्ने डर छ,’ उनले भनिन्। होल्डिङ सेन्टरको अर्को तलामा ७० वर्षीय खगिसरा गिरी बिरामी छोरासहित बसिरहेकी छिन्। उनी आफैँ पनि बिरामी छिन्। शरीर कमजोर छ, हिँडडुल गर्नसमेत गाह्रो हुन्छ। चिसो भुइँ र साँघुरो कोठामा उनी रात बिताइरहेकी छन्।
‘यो उमेरमा यस्तो दुःख देख्नुपर्ला सोचेको थिइनँ,’ उनले मलिन स्वरमा भनिन्। उनका छोरा पनि बिरामी छन्। उपचारका लागि नियमित औषधि चाहिन्छ। तर, अहिले बसोबासकै टुंगो नभएका कारण उपचारको चिन्ता थपिएको छ।
‘कतिन्जेल यहाँ बस्ने हो, केही थाहा छैन,’ उनले भनिन्, ‘आफ्नो भन्नु घर थिएन, अहिले यो कोठा पनि कहिलेसम्म हो भन्ने डर छ।’ रंगशाला अगाडिको सुकुम्बासी बस्ती हटाइएपछि यस्तै पीडामा धेरै परिवार छन्। नगर विकास समितिको अतिक्रमित २८ बिगाहा जग्गा खाली गराउन नगरपालिकाले जेठ २ सम्मको समय दिएको थियो। त्यसपछि डोजर चलाएर बस्ती हटाइयो।
नगरपालिकाका अनुसार भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी गरी ७ सय ५१ घरधुरी त्यहाँ बस्दै आएका थिए। अहिले कतिपय आफन्तको घरमा पुगेका छन्, केही भाडाको कोठामा छन् भने केही होल्डिङ सेन्टरमै आश्रित छन्। हालसम्म १ सय २ परिवार सम्पर्कमा आएका नगरले जनाएको छ।
सुकुम्बासी बस्ती हटाइएपछि प्रभावित परिवारलाई होल्डिङ सेन्टरमा राखिए पनि उनीहरूको दीर्घकालीन व्यवस्थापनका विषयमा स्थानीय सरकार स्पष्ट योजना र ठोस निर्णयविहीन अवस्थामा देखिएको छ। अस्थायी बसोबासको व्यवस्था गरिएको भए पनि स्थायी पुनर्स्थापनाको मार्गचित्र नबन्दा सुकुम्बासीहरूको भविष्य अन्योलमै छ।
नगरपालिकाले हालसम्म वास्तविक सुकुम्बासीको तथ्यांक संकलन र विश्लेषणको काम मात्र अघि बढाएको जनाएको छ। दीर्घकालीन आवास, पुनर्स्थापना तथा वैकल्पिक व्यवस्थापनका लागि स्पष्ट नीति, कार्यक्रम र स्रोत सुनिश्चित नभएकाले निर्णय प्रक्रिया अघि बढ्न नसकेको नगर स्रोतले जनाएको छ।
यसैबीच, कोहलपुर नगर प्रमुख पूर्णप्रसाद आचार्यले सुकुम्बासी व्यवस्थापनका विषयमा स्थानीय सरकारसँग एक्लै कार्यान्वयन गर्न सक्ने पर्याप्त अधिकार र स्रोत नभएको स्पष्ट पारेका छन्। उनका अनुसार जग्गा वितरण गर्ने अधिकार स्थानीय सरकारसँग नहुँदा दीर्घकालीन समाधान सङ्घीय सरकारको नीति, कार्यक्रम र बजेटमा निर्भर छ।
‘हामीसँग एकीकृत योजना र ठोस निर्णय भए पनि कार्यान्वयनका लागि सङ्घीय तहको सहयोग अनिवार्य हुन्छ,’ उनले भने। नगर प्रमुख आचार्यले वास्तविक सुकुम्बासीको पहिचान र तथ्यांक विश्लेषण भइरहेको बताउँदै सुकुम्बासीको नाममा हुने सम्भावित दुरुपयोग रोक्न स्थानीय सरकार गम्भीर रहेको पनि उल्लेख गरे।
उनले भने, ‘सुकुम्बासी व्यवस्थापनका विषयमा अहिले हामीसँग ठोस दीर्घकालीन योजना छैन। तथ्यांक संकलन र प्रारम्भिक व्यवस्थापन मात्र भइरहेको छ। सङ्घीय बजेट आउने समय पनि हुन थाल्यो। सरकारले गरेको निर्णयसँगै स्थानीय सरकार अगाडि बढ्छ।’
प्रकाशित: ५ जेष्ठ २०८३ १४:०२ मंगलबार





