८ वैशाख २०८१ शनिबार
अर्थ

एक वर्षमा थपिए साढे १७ लाख डिम्याट खाता

आर्थिक

सर्वसाधारणको सेयर कारोबारमा चासो बढ्दै गएपछि डिम्याट खाता खोल्ने क्रम ह्वात्तै बढेको छ। २०७७ मा मात्र करिब साढे १७ लाख डिम्याट खाता खोलेका छन्। सेयर बजारमा कारोबार गर्न यति धेरै संख्यामा यसअघि डिम्याट खाता कहिलै खुलेका थिएनन्। नेपालमा २०६९ साउन १ गतेदेखि डिम्याट सुरु भएको थियो। २०६९ देखि २०७६ चैत मसान्तसम्ममा डिम्याट खाता करिब १७ लाख थिए। २०७७ मा सोही बराबर खाता थपिँदा कुल संख्या ३४ लाख ३८ हजार नौ सय ८२ पुगेको सिडिएस एन्ड क्लियरिङ लिमिटेडले जनाएको छ।  

२०७७ मा सबभन्दा ठूलो आइपिओ निष्कासन भएको थियो। नेपाल इन्फ्रास्ट्रकचर बैंकले सर्वसाधारणलाई आठ अर्ब रूपैयाँको आइपिओ निष्कासन गरेको थियो। सोको कारण डिम्याट खाता खोल्नेको संख्या ह्वात्तै बढेको थियो। यसअघि नेपाल पुनर्बिमा कम्पनीले सर्वसाधारणलाई एक अर्ब ६० करोड रूपैयाँ बराबरको आइपिओ निष्कासन गरेको थियो।  

२०७७ मै रिलायन्स, ज्योति, प्रभु लाइफजस्ता बिमा कम्पनीले आइपिओ जारी गरेका थिए। कोरोना महामारीका कारण लगानीकर्ताका लागि सेयर बजार नै छनोटमा परेको थियो। सिडिएसका अनुसार हालसम्म डिम्याटमा ६ अर्ब ४६ करोड ११ लाख ३७ हजार आठ सय २७ कित्ता सेयर समेटिएका छन्।  

के हो डिम्याट खाता ?

डिम्याट भनेको अभौतिक खाता हो। २०७२ माघ २ देखि डिम्याट खाता पूर्ण रूपमा सञ्चालनमा आएको हो। सेयर अभौतिक रूपमा डिम्याट खातामा हस्तान्तरण हुन्छ। बैंक खातामा पैसा जम्मा गरे जसरी डिम्याट खातामा किनेको सेयर जम्मा हुन्छ। आइपिओ भरेपछि सेयर परेमा डिम्याट खातामा जम्मा हुन्छ।  

त्यस्तै दोस्रो बजारमा सेयर बिक्री गर्दा खाताबाट सेयर संख्या घटेर खरिद गर्नेको डिम्याट खातामा जम्मा हुन्छ। डिम्याट खाता विभिन्न बैंकका सहायक कम्पनीमा खोल्न सकिन्छ। त्यस्तै ब्रोकर कम्पनीमार्फत पनि यस्तो खाता खोल्न सकिन्छ। ७७ यस्ता निक्षेप सदस्य छन्। यस्तो खाता खोल्नका लागि बैंक खाता नम्बर, नागरिकता प्रमाणपत्रको फोटोकपी र फोटो चाहिन्छ।  

सक्रिय लगानीकर्ता सात लाख  

दोस्रो बजारमा कारोबार गर्ने सक्रिय लगानीकर्ताको संख्या सात लाख पुगेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रवक्ता मुराहरि पराजुलीका अनुसार यतिखेर टिएमएस अनलाइनमा कारोबार गर्नेको संख्या नै पाँच लाख ७६ हजार पुगिसकेको छ।  

उनले लगातार डिम्याट खाता खोल्नेको संख्या वृद्धि भइरहनुमा पहिलो सेयर बजारको वृद्धि हुनु र दोस्रो कारण आइपिओ आवेदनकर्ताले पुगेसम्म अनिवार्य १० कित्ता सेयर पाउने नीतिले काम गरेको बताए। कतिपय विज्ञ भने टाठाबाठाले गाउँमा बसोबास गर्ने र वैदेशिक रोजगारीमा जानेको नागरिकता संकलन गरी आइपिओ भर्ने धन्दा चलाइरहेको बताउँछन्। डिम्याट खाता नभएकाले प्राथमिक सेयरमा आवेदन दिन पाइँदैन।  

साढे १२ सयको नेप्से २७ सयमा

२०७७ मा सेयर बजार परिसूचक मापक नेप्से चौध सयभन्दा बढी बिन्दुले वृद्धि भयो। २०७६ को अन्तिम कारोबारमा १२५१.४५ रहेकोमा नेप्से २०७७ को अन्तिम कारोबार हुँदा २७१४.७९ को बिन्दुमा पुग्यो।

त्यस्तै २०७६ को कारोबारको अन्तिम दिन बजार पुँजीकरण १६ खर्ब रहेकोमा २०७७ को अन्तिम ३७ खर्ब ५८ अर्ब ९७ लाख रूपैयाँ पुग्यो।  

एक वर्षमा साढे ११ अर्बको आइपिओ

२०७७ मा विभिन्न कम्पनीले करिब साढे ११ अर्ब रूपैयाँको आइपिओ जारी गरेका छन्। त्यस्तै करिब ६ अर्ब रूपैयाँको आइपिओ निष्कासनको पाइपलाइनमा छन्।  

धितोपत्र बोर्डका अनुसार चालु आर्थिक वर्षको फागुन पहिलो सातासम्म विभिन्न कम्पनीले ११ अर्ब ५८ करोड ८८ लाख ७२ हजार रूपैयाँ बराबरको आइपिओ सर्वसधारणलाई बिक्री गरिसकेका छन्।

बोर्डका अनुसार रिलायन्स लाइफ इन्स्योरेन्स, समाज लघुवित्त वित्तीय संस्था, जनरल इन्स्यारेन्स, सानिमा जनरल इन्स्योरेन्स, चन्द्रागिरी हिल्स, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, प्रभु लाइफ इन्स्योरेन्स, सिंगटी हाइड्रो इनर्जी, ग्रिन लाइफ हाइड्रोपावर, महिला लघुवित्त वित्तीय संस्था, रुरु जलविद्युत परियोजना र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आइपिओ जारी गरिसकेका छन्।  

सेयर बजारमा उतारचढाव कायमै

सोमबार घटेको सेयर बजार मंगलबार झिनो अंकले बढेको छ। सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक दिनभर तीव्र उतारचढाव देखिए पनि कारोबार बन्द हुँदा ०.१० प्रतिशत अर्थात २.६८ बिन्दुले बढेको छ।  

‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स यस दिन स्थिर रह्यो। कारोबार रकममा गिरावट आएको छ। अघिल्लो दिन पौने सात अर्ब रूपैयाँको सेयर कारोबार भएकोमा मंगलबार पाँच अर्ब ५२ करोड रूपैयाँको  कारोबार भयो। 

प्रकाशित: ८ वैशाख २०७८ ०३:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App