९ जेष्ठ २०८३ शनिबार
image/svg+xml
खेल

लिग–२ : फर्ममा फर्किएका हुन् गुलशन झा ?

घरेलु मैदानमा भइरहेको आईसीसी लिग-२ अन्तर्गतको खेलमा मंगलबार घरेलु टोली नेपाल स्कटल्यान्डसँग मात्र २ रनले पराजित भयो।

नेपालका उपकप्तान दीपेन्द्र सिंह ऐरी र अलराउन्डर गुलशन झाले अर्धशतकीय पारी खेले पनि नेपालले जित हासिल गर्न सकेन। दोस्रो इनिङ्स सुरु हुनुअघि वर्षा बाधक बनेपछि नेपालले ३९ ओभरमा २२१ रन बनाउनुपर्ने थियो।

पहिलो इनिङ्समा स्कटल्यान्डले २४३ रन बनाएको थियो। ब्याटिङतर्फ नेपालको शीर्षक्रमका ब्याटरहरू क्रिजमा टिक्न नसक्दा नेपाल झिनो रनले पराजित हुन पुग्यो।

दीपेन्द्रले पुनः एकपटक ब्याटिङ लाइन सम्हाल्दा गुलशन झाले विस्फोटक ब्याटिङ गरेका थिए।

फर्ममा फर्किएका गुलशन

स्कटल्यान्डविरुद्ध गुलशन सातौँ ब्याटरका रूपमा मैदान प्रवेश गरेका थिए।

थोरै ओभर र प्रतिस्पर्धात्मक लक्ष्यको सामना गरिरहेको नेपाली ब्याटिङ मंगलबार स्कटल्यान्डविरुद्ध गुलशन झाले धानेका थिए। पछिल्लो समय नेपाली ब्याटिङको मेरुदण्डका रूपमा रहेका उपकप्तान ऐरी अर्धशतक बनाएपछि ५५ रनमा आउट हुँदा नेपालको ब्याटिङ संकटमा थियो।

तर, गुलशनले ब्याटिङ लाइन सम्हाल्दै विस्फोटक ब्याटिङ गर्दै नेपाललाई जिततर्फ लैजान प्रयास गरेका थिए। उनी मैदान प्रवेश गर्दा नेपालले ५ विकेट गुमाउँदा १२७ रन बनाएको थियो। उनले एक छेउबाट नेपालको इनिङ्स उकास्न लगातार प्रयास गरे।

३५ बलको सामना गरेका उनले ६१ रनसहित अविजित रहे। सो क्रममा उनले ५ छक्का र २ चौका हिर्काएका थिए। जारी लिगमा पछिल्लो समय गुलशन झाले सम्झनलायक प्रदर्शन गरेका थिएनन्। पछिल्लो समयको प्रदर्शनका आधारमा उनी कुनै खेलमा पहिलो रोजाइमा समेत परेका थिएनन्।

उनले गत वर्ष स्कटल्यान्डले नेपाललाई हराएको यही लिग-२ मा ब्याटिङतर्फ शून्य रन बनाउँदा बलिङतर्फ १ विकेट लिएका थिए। त्यस्तै, सोही वर्ष नेदरल्यान्ड्ससँग खेल्दा उनले ब्याटिङमा जम्मा ११ रन बनाएका थिए भने त्यस खेलमा १ विकेट पनि हात पार्न सकेनन्।

त्यस्तै, गत नोभेम्बरमा अमेरिकासँग खेल्दा पनि उनले ब्याटिङतर्फ प्रदर्शन गर्न सकेनन्। त्यस खेलमा उनले एक विकेट मात्र लिएका थिए।

पछिल्लो समय नेपालको लागि चल्न नसकेका गुलशन हाल घरेलु मैदानमा भइरहेको लिगमा भने फर्ममा देखिएका छन्। लामो समय उनले आफ्नो अब्बल प्रदर्शन दिन नसकिरहेको बेला गत सिरिजमा ओमानविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै उनले आफूलाई खेलमा पुनरागमन गराए।

उनले लिग-२ को करिअरमै उत्कृष्ट स्पेल गर्दै ओमानविरुद्ध जम्मा ३८ रन खर्चेर ५ विकेट आफ्नो नाममा गरेका थिए। नेपाललाई जित्नै पर्ने दबाबमा रहेको त्यस खेलमा उनले उत्कृष्ट प्रदर्शन गरे।

त्यस्तै, स्कटल्यान्डविरुद्ध पनि उनले सम्झनलायक प्रदर्शन गरे। मात्र २ रनले नेपाल चुके पनि उनको प्रदर्शन तारिफयोग्य थियो। अन्तिम बलमा समेत उनले छक्का प्रहार गरेका थिए। यो हिसाबमा हेर्दा गुलशन झा अहिले लयमा फर्किएका छन्।

प्रकाशित: ३० वैशाख २०८३ १२:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App