अमेरिका र इरानबीच पुनः सैन्य भिडन्त सुरु भएसँगै रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने हर्मुज जलसन्धि बन्द भएको इरानले घोषणा गरेको छ।
अमेरिकी सेनाले इरानभित्रका १४० भन्दा बढी सैन्य अखडामा आक्रमण गरेपछि इरानले आइतबार बिहानैदेखि सो जलमार्ग अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको जनाएको हो। यद्यपि, अमेरिकाले भने जलमार्ग खुला नै रहेको दाबी गरेको छ।
अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) का अनुसार इरानी सेनाले हर्मुज जलसन्धि भएर यात्रा गरिरहेको साइप्रसको झन्डाबाहक व्यापारिक जहाज ‘एमभी जीएफएस ग्यालेक्सी’ मा गैरकानुनी बाटो प्रयोग गरेको भन्दै क्रुज मिसाइल प्रहार गरेपछि अमेरिकाले जवाफी कारबाही गरेको हो।
उक्त आक्रमणमा जहाजको इन्जिन कोठामा क्षति पुगेपछि चालक दलका सदस्यहरू लाइफबोटमार्फत ज्यान जोगाउन बाध्य भएका थिए भने एक सदस्य बेपत्ता छन्।
जवाफमा अमेरिकाले इरानका मिसाइल र ड्रोन केन्द्र, सञ्चार नेटवर्क तथा तटीय निगरानी केन्द्रसहित १४० सैन्य निसानाहरूमा बमबारी गरेको अमेरिकी रक्षा सचिव पिट हेगसेथले पुष्टि गरेका छन्।
अमेरिकी हमलाको प्रतिक्रियास्वरूप इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले आइतबार जोर्डनस्थित अमेरिकी सैन्य अखडा ‘प्रिन्स हसन एयर बेस’ मा व्यापक आक्रमण गरी त्यसको कमाण्ड सेन्टर र ड्रोन ह्याङ्गर ध्वस्त पारेको दाबी गरेको छ।
यसका साथै इरानले यस क्षेत्रका अमेरिकी सहयोगी राष्ट्रहरू संयुक्त अरब इमिरेट्स (यूएई), कतार, कुवेत, ओमान र बहराइनमा समेत मिसाइल र ड्रोन प्रहार गरेको छ। कतार र यूएईले इरानी हतियारको प्रतिवाद गरेको जनाएका छन्।
यो नयाँ सैन्य तनावले गत महिना मात्रै हर्मुज जलसन्धि खुला गर्ने र स्थायी शान्ति स्थापना गर्ने उद्देश्यले हस्ताक्षर गरिएको अन्तरिम युद्धविराम सम्झौतालाई संकटमा पारेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी आक्रमणले युद्धविराम समाप्त भएको घोषणा गरेका छन् भने इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकाले सम्झौता उल्लंघन गरेको आरोप लगाएका छन्।
राष्ट्रपति ट्रम्पले मध्यस्थकर्ताहरू वार्ता बचाउन प्रयासरत रहेको र छलफल जारी रहने बताएका छन्।
यसैबीच, इरानका संसदका सभामुख एवं अमेरिकासँगको मुख्य वार्ताकार मोहम्मद बागेर गालिबाफले सामाजिक सञ्जाल एक्समा लेख्दै ‘एकतर्फी सम्झौताको युग सकिएको’ घोषणा गरेका छन्।
उनले थपेका छन्, ‘हामीले भनेका थियौं: आफ्नो वाचा पूरा गर वा मूल्य चुकाऊ। वास्तविकता अब अगाडि छ।’ यद्यपि, अमेरिकी सेन्ट्रल कमाण्डले हर्मुज जलसन्धि खुला रहेको दोहोर्याउँदै यसलाई निर्वाध सञ्चालनमा राख्न अमेरिकी सेना जुनसुकै कदम चाल्न तयार रहेको चेतावनी दिएको छ।
प्रकाशित: २८ असार २०८३ २१:४४ आइतबार





-600x400.jpg)