३० असार २०८३ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चीनमा शक्तिशाली ‘समुद्री आँधी’ को वितण्डा: २० लाख मानिस विस्थापित, उडान र रेल सेवा ठप्प

चीनमा एक साताभित्रै आएको दोस्रो शक्तिशाली समुद्री आँधी ‘टाइफून बाभी’ का कारण तटीय क्षेत्रबाट करिब २० लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।

शनिबार साँझ तटीय सहर ताइझोउ र मध्यरातमा वेन्झोउमा बज्रिएको आँधी आइतबार बिहान जजियाङ प्रान्तको हाङझोउ सहर आइपुगेको चिनियाँ सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन्।

फ्रान्सको चौडाइ जत्तिकै अर्थात् करिब १ हजार किलोमिटरसम्म फैलिएको यो आँधीका कारण जजियाङ प्रान्तमा मात्रै १७ लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।

यस्तै, राजधानी बेइजिङले सम्भावित जोखिम न्यूनीकरणका लागि थप १ लाख मानिसलाई सुरक्षित स्थानमा सार्ने आदेश दिएको छ। आँधीको प्रभावका कारण जजियाङमा विद्यालय, कार्यालय र बाह्य गतिविधिहरूमा पूर्ण रोक लगाइएको छ भने ४०० भन्दा बढी उडान र दर्जनौँ रेल सेवाहरू रद्द गरिएका छन्।

सुरुमा ‘सुपर टाइफून’ को रूपमा गुआम र उत्तरी मारियाना टापुहरूमा प्रतिघण्टा २९० किलोमिटरको विनाशकारी वेगमा ठोक्किएको बाभी प्रशान्त महासागर पार गर्ने क्रममा १४४ किलोमिटर प्रतिघण्टाको गतिमा परिणत भएको थियो।

चीन आइपुग्नुअघि यसले फिलिपिन्समा पहिरो निम्त्याउँदा कम्तीमा १७ जनाको मृत्यु भएको थियो भने जापानको रियुक्यु र साकिशिमा टापुहरूमा विद्युत आपूर्ति अवरुद्ध पार्दै जनजीवन प्रभावित बनाएको थियो। ताइवानमा यसको सिधा मार नपरे पनि भारी वर्षा र पहिरोको चेतावनी जारी गरिएको छ।

हाल बाभी केही कमजोर भई उष्णदेशीय आँधीमा परिणत भए तापनि यसको वर्षा ‘ब्यान्ड’ भित्र अत्यधिक आर्द्रता भएका कारण अझै ठूलो बाढी र पहिरोको जोखिम कायमै रहेको मौसमविद्हरूले चेतावनी दिएका छन्।

मौसम पूर्वानुमान अनुसार यो आँधी सोमबार पूर्वी एन्होय र मंगलबार शाङ्दोङ प्रायद्वीप हुँदै उत्तरी ‘यलो सी’ तर्फ सर्नेछ।

चीनको दक्षिणी क्षेत्र अझै पनि गत साता आएको ‘मेसाक’ समुद्री आँधीको विनाशबाट मुक्त हुन सकेको छैन। मेसाक आँधीका कारण चीनमा कम्तीमा ३९ जनाको मृत्यु हुनुका साथै ठूलो सङ्ख्यामा पशुपन्छी मरेका कारण कृषि क्षेत्रमा ठूलो नोक्सानी पुगेको थियो।

लगातार आएको दोस्रो आँधीले चीनको पूर्वी तटीय क्षेत्रको जनजीवनलाई थप कष्टकर बनाएको छ।

प्रकाशित: २८ असार २०८३ २२:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App