२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
समाज

विद्युत मर्मतमा हुने ढिलाइ अन्त्य गर्न कर्णाली पठाइँदै यान्त्रिक क्रेन

कर्णाली प्रदेशमा विद्युत मर्मत कार्यलाई थप गति दिई आपूर्ति प्रणालीलाई भरपर्दो बनाउन नेपाल विद्युत प्राधिकरणलाई आवश्यक यान्त्रिक क्रेन उपलब्ध गराइने भएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको पहल र समन्वयपछि प्राधिकरणको खरिपाटीस्थित ट्रान्सफर्मर वर्कशपमा रहेको क्रेन आवश्यक सर्भिसिङ सकिएलगत्तै कर्णाली पठाउने निर्णय भएको हो।

गत असार दोस्रो साता ऊर्जामन्त्री श्रेष्ठले कर्णाली प्रदेशसहित तीन प्रदेशका पाँच जिल्लाको स्थलगत अनुगमन गरेका थिए। सो क्रममा सुर्खेत लगायतका क्षेत्रमा बारम्बार हुने ‘लाइन ट्रिपिङ’ र विद्युत अवरोध हुँदा मर्मतका लागि आवश्यक यान्त्रिक क्रेन नहुँदा सास्ती खेप्नुपरेको विषयमा प्राधिकरणको कर्णाली प्रदेश कार्यालयले मन्त्रीको ध्यानाकर्षण गराएको थियो।

हालसम्म कर्णालीमा विद्युत उपकरण तथा ट्रान्सफर्मर मर्मतका लागि अन्य प्रदेशबाट क्रेन मगाउनुपर्ने बाध्यता थियो। यसले गर्दा मर्मत कार्यमा ढिलाइ भई उपभोक्ताहरू लामो समयसम्म अन्धकारमा बस्नुपर्ने अवस्था थियो।

ऊर्जा मन्त्रालयले स्थानीय तहमा देखिएका व्यावहारिक समस्याहरूलाई तत्काल सम्बोधन गर्दै विद्युत सेवाको गुणस्तर सुधार र नागरिकलाई सहज सेवा उपलब्ध गराउने प्रयासलाई निरन्तरता दिइएको जनाएको छ।

खरिपाटीबाट आवश्यक कानुनी तथा प्राविधिक प्रक्रिया पूरा गरी क्रेन छिट्टै कर्णाली प्रदेश कार्यालयलाई हस्तान्तरण गरिनेछ।

प्रकाशित: २८ असार २०८३ २१:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App