१६ जेष्ठ २०८३ शनिबार
image/svg+xml
अर्थ

सर्वोच्चको आदेशपछि मध्यपहाडी राजमार्गको काम सुरु

अदालतको आदेशपछि काम सुरु गर्दै दैलेखको माल्ली सडक खण्ड।

सर्वोच्च अदालतको आदेशपछि लामो समयदेखि काम रोकिएको मध्यपहाडी राजमार्ग अन्तर्गत दैलेखको जाहारकोट–माल्ली सडक खण्डको काम सुरु भएको छ। राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पर्ने यो सडक खण्डमा निजी जग्गा बढी पर्ने भन्दै विवादित भएका कारण निर्माण कार्य रोकिएको थियो।

यो विवादको जड भने सडक विस्तारका क्रममा पर्ने जग्गाको क्षतिपूर्ति सम्बन्धी रहेको थियो। नारायण नगरपालिका–२ अन्तर्गत पर्ने करिब २ सय ६० मिटर क्षेत्रमा सडक स्तरोन्नति तथा कालोपत्र गर्ने क्रममा जग्गाधनीले आफूहरूको जग्गा प्रयोग गरिए पनि उचित क्षतिपूर्ति नदिएको भन्दै अदालतमा रिट दायर गरेका थिए।

रिट दर्तापछि २०७८ चैत ९ गते सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै तत्काल निर्माण नगर्न निर्देशन दिएको थियो। त्यसपछि जाहारकोट–मल्ली खण्डको काम पूर्ण रूपमा प्रभावित बन्यो। सडक निर्माण रोकिएपछि निर्माण कम्पनीले उपकरण फिर्ता लगेको थियो। जसका कारण लामो समयसम्म स्थानीयले धुलाम्मे, हिलाम्मे र जोखिमपूर्ण सडक प्रयोग गर्न बाध्य भएका थिए।

मुद्दा विचाराधीन रहेकाले लामो समयसम्म काम अघि बढाउन नसकेपनि अव अदालतले रिट खारेज गरेसँगै कालोपत्र निर्माणका लागि काम अघि बढेको पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय दैलेखका योजना प्रमुख इन्जिनियर निरञ्जन थापाले बताए। अदालतको निर्णयसँगै अहिले उक्त सडकखण्डमा स्तरोन्नति र कालोपत्रे कार्य तीव्र बनाइएको छ।

मध्यपहाडी राजमार्ग नेपालको पहाडी भूभागलाई पूर्वदेखि पश्चिमसम्म जोड्ने राष्ट्रिय गौरवको आयोजना हो। दैलेखमा मात्रै करिब १ सय २५ किलोमिटर सडकखण्ड रहेको छ। विवादित यो सडक खण्ड निर्माणसँगै दैलेखमा मध्यपहाडी राजमार्गले पूर्णता पाउनेछ। त्यस्तै पश्चिममा जाजरकोट खण्डको मन्ता भिरमा ट्र्याक खोल्न नसक्दा वैकल्पिक योजनाहरू अघि सारिएको छ भने जाजरकोट रुकुमपश्चिम जोड्ने भेरी नदीमाथि बन्न लागेको पुलमा ठेकेदारले काम गर्न नसक्दा ब्ल्याक लिष्टमा राखिएसँगै नयाँ ठेक्का प्रकृयामा गएको हो।

यी दुई स्थानमा ट्र्याक खोलिएपछि पश्चिममा मध्यपहाडीले पूर्णता पाउने छ।

प्रकाशित: ३० वैशाख २०८३ १२:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App