१५ चैत्र २०८० बिहीबार
अर्थ

पर्यटनमा कोरोनाका वर्ष दिनः एक वर्ष थलिएरै बित्यो अवस्था अझै नाजुक

सन् २०१८ मार्चमा १९ हजार दुई सय ६० विदेशी पाहुनाको हवाईजहाजबाट पोखरा आउजाउ भएको थियो। त्यो संख्या २०१९ मा १६ हजार आठ सय ८४ मा ओर्लेको थियो। त्यही आगमन २०२० को मार्चमा झनै कम भएर पाँच हजार १२ मा सीमित भयो। २०१८ को तुलनामा २०१९ मा घट्नुमा विशेष कारण थिएन। तर २०२० मा एकाएक ओरालो लाग्नुमा मुख्य कारण थियो–कोरोना भाइरस महामारीको सन्त्रास।  

पर्यटन क्षेत्रले कोरोनाको मार खेप्न थालेको वर्ष दिन पुगेको छ। पोहोर यतिबेला पर्यटनमा करिब शून्यता आइसकेको थियो। विदेशी पाहुनाको हिँडडुल विश्वव्यापी रूपमा रोकिइसकेको थियो। विश्वव्यापी रूपमा कोरोना त्रास बढ्दै गएको र नेपालमै पनि लकडाउनको तयारी गर्दै सीमा नाका र अन्तर्राष्ट्रिय हवाई उडान बन्दको चर्चाले यतिखेर विदेशी पाहुनाको आगमन ठप्प भइसकेको थियो। पाहुनाको त्यो आगमन चैत ११ मा घोषित लकडाउनपछि त शून्यमै झरेको थियो।  

त्यसयता पर्यटन क्षेत्र ब्युँतिन सकेको छैन। अहिले अन्तर्राष्ट्रिय हवाई उडान खुले पनि अझै विदेशी पाहुना भित्रिन थालेका छैनन्। सानो आकारको आन्तरिक पाहुनाको भरमा पर्यटन क्षेत्र जेनतेन खुलेको छ, तर धानिन नसकेको पर्यटन व्यवसायी बताउँछन्। एक वर्षपछि भाइरस संक्रमण कम भएर नेपालभित्रको आउजाउ केही सहज बनिसके पनि विदेशीका लागि यहाँसम्मको यात्रा सहज नहुँदा पर्यटन क्षेत्र चलायमान बन्न नसकेको पर्यटन व्यवसायी बताउँछन्।  

पर्यटन बोर्डका पूर्वसदस्य टिकाराम सापकोटा भन्छन्, ‘पर्यटन क्षेत्रले लकडाउन हुँदा सुरुमा एक–दुई महिनाका लागि मात्र अप्ठेरो पर्ने ठानेका थिए। तर यो अप्ठेरो महिनामा मात्र सीमित नभई वर्षकै लागि रहने निश्चित भयो।’  

उनका अनुसार कोरोनाको त्रासले विदेशी आउन रोकिन थालिसक्दा पनि पोहोर यतिबेला पर्यटन व्यवसायी उत्तिसारो हतास थिएनन्, कोरोनाको अप्ठेरो तत्कालै हटिहाल्ने अनुमान थियो। बढीमा एउटा सिजन खेर जाने आकलन थियो। तर त्यो हुन सकेन।  

‘हामीले त बढीमा एउटा सिजन मात्र खेर जाला भन्ने अनुमान गरेका थियौं। तर यति जटिल अवस्था आयो कि पर्यटन व्यवसायी वर्षौं उठ्न नसक्ने गरी थलिए,’ सापकोटाले भने। लकडाउनको बढीमा ३–४ महिनासम्म पर्यटनमा मार पर्ने अनुमान भए पनि वर्ष दिन बितेकाले व्यवसायीमा निराशा देखिन थालेको उनले बताए। ‘सुरुका ३–४ महिना त व्यवसायीले व्यवसाय नै भुले। त्यसपछि पनि सकारात्मक संकेत नपाउँदा राहत खोज्दै सरकार र बैंकका ढोका ढकढकाउन बाध्य भयौं,’ उनले भने, ‘पर्यटनका लागि एक वर्ष थलिएरै बित्यो। अवस्था अझै नाजुक छ।’  

२०२१ को अक्टोबरसम्म अलिअलि विदेशी नेपाल भित्रिन सक्ने सापकोटाको आँकलन छ। तर नर्मल हुन २०२३ लाग्ने सम्भावना रहेको उनले बताए। ‘धेरै मुलुकमा कोरोनाविरुद्धको खोप अभियानले आशावादी त बनाएको छ। तर पर्यटनको मूल स्रोत युरोपेली मुलुकमा अझै लकडाउन भइरहँदा आगामी सिजनसम्म पाहुना आइहाल्छन भनेर यकिनसाथ भन्न सकिन्न,’ उनले भने, ‘हाम्रो अनुमानमा आगामी सिजनसम्म आउन थाल्छन् कि भन्ने मात्र हो।’ व्यवसायीको आशा निराशामा परिणत हुँदै जाँदा कतिपयले पेसा नै परिवर्तन गर्नुपर्ने अवस्था आएको सापकोटाले बताए।  

विदेशीको आगमन तत्काल हुने संकेत नपाएपछि व्यवसायीले अहिले आन्तरिकलाई खोज्न थालेको उनले बताए। हुन त आन्तरिकको महत्व पर्यटन क्षेत्रले बुझ्न थालेको केही वर्ष भए पनि अहिलेको अप्ठेरोमा थप भित्र्याउने पहल भइरहेको उनले बताए। त्यसबाहेक भारतीयसँग पनि व्यवसायी आशावादी छन्। ‘पहिले आन्तरिक चलायमान बनाउने हो, त्यसपछि भारतीय र चिनियाँ भित्र्याउन सक्ने हो सहज हुन्थ्यो,’ उनले भने।  

सापकोटाका अनुसार एक वर्ष बित्दा पनि पोखरामा सबै होटल र रेस्टुरेन्ट पूर्ण रूपमा खुलेका छैनन्। जसोतसो खुलाएकाले पनि कमाएका छैनन्। होटल नखुलाउँदा झनै बढी नोक्सान खेप्नुपर्ने भएपछि घाटा कम खेप्न खुलाउन बाध्य भएको उनले बताए। ‘चलिरहेको होटलमा ताला लगाएर राख्दा झनै बढी नोक्सान हुन्छ। खोल्दा पनि सञ्चालन खर्च जुटाउन सकिन्न,’ उनले भने।  

पर्यटन बोर्ड पोखराका प्रमुख काशिराज भण्डारी कोरोनाको एक वर्षमध्ये सुरुका केही महिना अप्ठेरो रहे पनि कात्तिकपछि ‘रिभाइभ’को बाटो पर्यटनले समातेको बताउँछन्। ‘अन्तर्राष्ट्रिय पर्यटक नै नभएपछि पर्यटन क्षेत्र निकै नै कमजोर त देखिएको छ, तर आन्तरिकका कारण रिकभर पनि हुँदैछ,’ भण्डारीले भने, ‘विदेशी पाहुना नआएसम्म अपूरो रहिरहन्छ।’ पर्यटनमा ठूलो लगानी भएकोले विदेशी पाहुना नभई नहुने उनले बताए। ‘सबै होटल चल्न त विदेशी आउनैपर्छ, आन्तरिक पर्यटनले केही साथ मात्र दिएको हो,’ उनले भने, ‘शून्यमा ओर्लेको पर्यटन क्षेत्रलाई माथि उठाउन आन्तरिकले सघाएको छ। तर कमाउनका लागि विदेशी नभई हुँदैन।’  

पर्यटनमा एक वर्षको घाटा पूर्ति गर्न अब भारतीय पाहुनालाई भित्र्याउन ढिलाइ गर्न नहुने उनले बताए। ‘एकैपटक युरोप, अमेरिकामा प्रवद्र्धन गर्नुभन्दा भारतबाट ल्याउन थाल्नुपर्छ। भारतीयलाई लक्षित गर्दै जाने हो भने पर्यटनलाई लयमा फर्काउन सहज हुन्छ,’ उनले भने, ‘एक वर्षसम्म घुम्न नपाएर पर्यटक गुम्सिएर बसेका छन्। अब बोर्डरलाई केही सहज बनाएर भारतीय भित्र्याउन पहल गर्नुको विकल्प छैन।’ 

एक वर्षको अवधिमा केही पर्यटन व्यवसायी पलायन भए पनि अझै आशावादी भने रहेको उनले बताए। आगामी सेप्टेम्बरसम्म पर्यटनले केही गति लिइसक्ने उनको अनुमान छ। ‘तर त्योभन्दा अगाडि नै पनि पर्यटन लयमा आउन सक्छ,’ उनले भने, ‘भारतीय र चिनियाँ पाहुना भित्र्याउन थाल्यौं भने सहज हुन्छ। सेप्टेम्बर नै कुनुपर्छ भन्ने लाग्दैन।’

प्रकाशित: १ चैत्र २०७७ ०४:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App