८ वैशाख २०८१ शनिबार
अर्थ

बबरमहल र केशरमहल प्रबलीकरण एक तिहाइ सकियो

२०७२ सालको भूकम्पले क्षतिग्रस्त ऐतिहासिक बबरमहल र केशरमहल प्रबलीकरणको काम एक तिहाइ सकिएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २०७६ सालमा यी दुई संरचनाको प्रबलीकरण सुरु गरेको थियो। पुनर्निर्माण प्राधिकरण मातहतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) ले यी दुई भवनको काम एक तिहाइ सकिएको जनाएको छ।

एकाइका इन्जिनियर रोशन यादवले केशरमहल प्रबलीकरणको ३५ प्रतिशत भौतिक प्रगति भएको बताए। ‘केशरमहल गत वर्ष मंसिरमा ठेक्का सम्झौता भएर निर्माण भइरहेको छ,’ उनले भने, ‘यसको प्रबलीकरण दुई वर्षभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको हो।’ एकाइले केशरमहलको प्रबलीकरणको ठेक्का १३ मंसिर २०७६ मा जेडसिजिआई/खानी संयुक्त उपक्रम ९जेभी०ले पाएको थियो।

यो प्रबलीकरणको सम्झौता अनुसार दुई वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्छ। केशरमहल काठमाडौंको कान्तिपथमा छ। जेभीले भ्याटसहित ६७ करोड २४ लाख ६० हजार ८२७ रूपैयाँमा प्रबलीकरणको ठेक्का पाएको हो। परामर्शदातामा जोन स्यान्डी एसोसिएट्स प्रालि÷एसडब्लु नेपाल प्रालि र पिरामिड डिजाइन एसोसिएट्स प्रालिको जेभी छानिएको छ।

निओक्लासिकल शैलीको यो भवन सन् १८९५ मा चन्द्र शमशेरले छोरा केशर शमशेरलाई बनाइदिएका थिए। केशरमहलको दक्षिणी भागमा १९९९ सालमा निर्माण गरिएको स्वप्न बगैंचा छ। भूकम्पअघिसम्म केशर पुस्तकालयमा ६५ हजारभन्दा धेरै पुस्तक संग्रहित थिए। अहिले मुख्य भवनबाहिरको परिसरमा अस्थायी भवन निर्माण गरेर पुस्तकालय सञ्चालन गरिँदै आइरहेको छ।  

भूकम्प जानुअघि यस भवनमा केशर पुस्तकालय लगायतका विभिन्न कार्यालय थिए। इन्जिनियर यादवले पुरातात्विक महŒव बोकेको महलको पुरानै स्वरूप कायम हुने गरी प्रबलीकरण भइरहेको बताए। ‘मौलिक स्वरूप कायम राखी भूकम्पप्रतिरोधी हुने गरी प्रबलीकरणको काम भइरहेको छ,’ उनले भने। २०७२ सालको भूकम्पले क्षतिग्रस्त एक शताब्दीभन्दा लामो इतिहास बोकेको बबरमहलको पनि प्रबलीकरण जारी छ।

इन्जिनियर यादवले बबरमहल प्रबलीकरणको काम ४० प्रतिशत सकिएको बताए। बबरमहल प्रबलीकरणको लागि २५ असार २०७६ मा जेसिजेसी–आशीष–समानान्तर जेभीसँग ठेक्का सम्झौता भएको थियो। दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी भ्याटसहित ८६ करोड दुई लाख ८२ हजार सात सय ५४ रूपैयाँमा ठेक्का सम्झौता भएको थियो। अहिलेसम्म यो बबरमहलको पुनर्निर्माणको काम ४० प्रतिशत सम्पन्न भएको छ। बबरमहल राणा प्रधानमन्त्री चन्द्र शमशेरको पालामा १९६३ सालमा निर्माण भएको मानिन्छ।  

बालमन्दिरको भौतिक प्रगति २० प्रतिशत

भूकम्पले क्षतिग्रस्त नक्सालस्थित बालमन्दिर पुनर्निर्माण पनि २० प्रतिशत सकिएको छ। भीम शमशेरले आफ्नी रानी सीताको लागि यो दरबार निर्माण गराएको मानिन्छ। रानी रत्नराज्यलक्ष्मीको पालामा यो दरबार २०२१ सालमा बालमन्दिर मातहत आएको हो। भूकम्पले क्षतिग्रस्त बालमन्दिर प्रबलीकरणको ठेक्का लुम्बिनी/रबिना जेभीले ५२ करोड ५४ लाख रूपैयाँमा पाएको हो। ठेक्का सम्झौता २० कात्तिक २०७६ मा भएको थियो। ठेक्का सम्झौताअनुसार बालमन्दिरको निर्माण दुई वर्षभित्र सक्नुपर्छ।

प्रकाशित: २३ फाल्गुन २०७७ ०४:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App