१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अर्थ

नेपाली उत्पादन अन्तर्राष्ट्रिय ब्रान्ड

काठमाडौं - औद्योगिक घराना गोल्यान ग्रुपले उत्पादन गरेका पोसाक नामी अन्तर्राष्ट्रिय फेसन ब्रान्डहरुले प्रयोग गर्दै आएका छन्। ग्रुपकी प्रबन्ध निर्देशक लतिका गोल्यानले विराटनगरस्थित उद्योगबाट उत्पादन गरिएका ऊनीका तयारी पोसाक विश्वका करिब दुई दर्जन देशमा बिक्री गर्दै आएको जानकारी दिइन्।
यो ग्रुपअन्तर्गतको ट्राइकोटले उत्पादन गरेका ऊनीका कपडा विश्वका चर्चित फेसन ब्रान्ड बेनेटन, डिएकेएस, म्याक्स मारा, टोमी हिलफिगर, एलयुड, आइटिसी विल्स लाइफस्टाइल, रेमन्ड, कलरप्लस, जोडियाक फाइबरटेक्स, क्यामिफ, दुबई ड्युटी फ्री लगायत विदेशी फेसन ब्रान्डहरुले प्रयोग गरिरहेका छन्।
उद्योगले कास्मिर, मेरिनो, भेडाको ऊन, अंगोरा, सिल्क, कपास, एक्रेलिकलगायत बुनिएका लुगा तयार गर्र्दै आएको छ। 'हामीले उत्पादन  गरेका पोसाक भारत र जापान तथा युरोपका करिब २६ भन्दा धेरै नाम चलेका फेसन ब्रान्डले प्रयोग गर्छन्,' प्रबन्ध निर्देशक गोल्यानले भनिन्, 'उनीहरुले पठाएको डिजाइनअनुसार हामी कपडा उत्पादन गर्छाैं। तयारी पोसाकमा उनीहरुले आफ्नो ब्रान्डको लोगो राखेर बिक्री गर्छन्।'
नेपालमै पनि आफ्ना उत्पादन बिक्री र प्रवर्द्धन गर्ने उद्देश्यले कम्पनीले दरबारमार्गमा  बिक्री केन्द्र 'द कास्मिर आउटलेट' सञ्चालनमा ल्याएको छ। करिब आठ वर्षदेखि पारिवारिक व्यवसायमा प्रवेश गरेकी गोल्यानले ट्राइकोटका उत्पादनको बजारीकरण र प्रवर्द्धनको जिम्मेवारी सम्हाल्दै आएकी छन्।
उनका अनुसार जर्मनी, इटली, फ्रान्स, लगायत युरोपेली देशसहित अमेरिका, अस्टे्रलिया, बेलायत र जापानसमेत गरी करिब दुई दर्जनभन्दा धेरै देशका फेसन ब्रान्डले ट्राइकोटका उत्पादन प्रयोग गर्ने गरेका छन्।
नेपालकै सबैभन्दा ठूलो दाबी गरिएको यो उद्योगले मासिक करिब ३० हजार एकाई पोशाक उत्पादन गर्ने गोल्यान्ले बताइन्। उद्योगले पोसाकका लागि आवश्यक कच्चा पदार्र्थ चीन, कोरिया, इटली र स्कटल्यान्डका कपडा तथा धागो उत्पादन गर्ने उद्योगबाट ल्याउने गरेको छ।
अघिल्लो वर्षको तुलनामा गत बर्ष मागमा ७० प्रतिशतले वृद्धि भएको पनि प्रबन्ध निर्देशक गोल्यानले बताइन्। 'अन्तर्राष्ट्रिय बजारमा तयारी पोसाकको माग समग्रमा खस्किएको छ,' उनले भनिन्, 'तर ट्राइकोटका उत्पादनमा त्यसको असर परेको भने छैन। आगामी जाडो मौसममा हाम्रो उत्पादनको मागमा शतप्रतिशत वृद्धि हुने पक्का छ।'
नेपाली फेसन पारखीलाई गोल्यान ब्रान्ड
आफ्नो उत्पादनको करिब ९५ प्रतिशत हिस्सा विदेश निर्यात गर्ने गरेको ट्राइकोटले नेपालमा पनि गोल्यान ब्रान्डका ऊनीका पोसाक तयार गरेको छ। दरबारमार्गमा सञ्चालनमा आएको बिक्री केन्द्रमा यो ब्रान्डका लुगा उपलब्ध हुनेछन्। गोल्यन युरोपका उच्चवर्गका उपभोक्ता लक्षित ब्रान्ड हो। बिक्री केन्द्रमा पुलओभर, बुनिएका ज्याकेटहरु, मफ्लर सल र टोपी लगायत पुरुष र महिला दुवैथरीका लागि उपयुक्त हुने ऊनीका तयारी पोसाक छन्। ट्राइकोटले जाडो र गर्मी दुवै मौसममा लगाउन मिल्ने पोसाक तयार गरेको छ। गोल्यानका पोसाक नेपाली फेसन पारखीका लागि भने एक सय ७५ रुपैयाँदेखि ९ हजार रुपैयाँसम्ममा उपलब्ध हुनेछन्।

प्रकाशित: २९ असार २०७० २१:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App