४ वैशाख २०८१ मंगलबार
अर्थ

कञ्चनपुरको भीमदत्त नगरपालिका देशकै उत्कृष्ट (अपडेट)

भीमदत्त नगरपालिका । तस्बिरः नागरिक

कञ्चनपुरको भीमदत्त नगरपालिका देशकै उत्कृष्ट नगरपालिका बनेको छ। नगर विकास कोषले कञ्चनपुरको भीमदत्त नगरपालिकालाई देशभरमै उत्कृष्ट नगरपालिका घोषणा गरेको हो। नगर विकास कोषको ३३औं वार्षिकोत्सव अवसरमा एक लाख नगद पुरस्कारसहित देशमै उत्कृष्ट नगरपालिकाको पुरस्कार भीमदत्तले प्राप्त गरेको हो।

भीमदत्त नगरपालिकाले विकास आयोजना कार्यान्वयन र व्यवस्थापनमा राम्रो काम गरेको भन्दै देशभरमै उत्कृष्ट नगरपालिका छनौट गरी पुरस्कार दिइएको हो। वार्षिकोत्सव समारोहमा सहरी विकास मन्त्री प्रभू शाहले भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्ट र उपमेयर सुशीला चन्द सिंहलाई संयुक्त रुपमा पुरस्कारसहित प्रशंसा पत्र प्रदान गरेका थिए।  

नगर विकास कोषले लगानी गरेका कार्यक्रममा समयमै सम्पादन गरेको, कार्यान्वयनलाई सहज बनाएको लगायतका विषयमा भीमदत्त नगरपालिकाले राम्रो काम गरेको भन्दै पुरस्कृत गरिएको नगरपालिकाका मेयर सुरेन्द्र बिष्टले बताए। ‘हामीले कोषसँगको सहकार्यमा गरेको विकास निर्माणका कार्यहरुलाई सहजरुपमा समयमै सम्पन्न गरेका कारण हामी देशमै उत्कृष्ट भयौँ,’ उनले भने।

अहिले भीमदत्त नगरपालिकाले नगर विकास कोषको साझेदारीमा ८ करोड ३२ लाखको लगानीमा महेन्द्रनगरमा आधुनिक बसपार्क निर्माण कार्य गरेको छ। मेयर बिष्टले उक्त बसपार्क करिब दुई बिघा जमिनमा आधुनिक तरिकाले बनाइएको बताए। ‘महेन्द्रनगरको पुरानो बसपार्कलाई आधुनिकीकरण गरेर राम्रो बनाइएको छ,’ उनले भने,‘यसले अहिले महेन्द्रनगरमा पार्किङका लागि सहज भएको छ।’  

यसका साथै नगर विकास कोषकै सहयोगमा नगरपालिकामा अहिलेसम्मकै ठूलो लगानीको तिलाचौर खानेपानी योजनामा पनि निर्माण गरिएको छ। करिब ३२ करोडको लगानीमा निर्माण भएको खानेपानीले तिलाचौरका ४ वटा वडाका स्थानीयलाई शुद्ध पिउने पानी पुर्‍याएको छ। यस्तै, भाँसीस्थित आदर्श खानेपानी योजनामा पनि कोषसित साझेदारीका लागि सम्झौता गरिएको छ। सब्जीमण्डीमा कञ्चन मल निर्माणका लागि कोषसित साझेदारी प्रक्रिया अघि बढेको छ।

मेयर बिष्टकाअनुसार भीमदत्त नगरपालिका नगर विकास कोषको पुरानो साझेदार निकाय हो। ‘स्थानीय तहको निर्वाचनअघि कोषको साझेदारीमा नगरपालिकाको भवन र बजारका केही पसल निर्माण गरिएका थिए, अहिले पनि विकास निर्माणमा निरन्तरता दिइएको छ।’  

भीमदत्त नगरपालिका देशभरमै उत्कृष्ट हुनुमा नगर विकास कोष, नगरका बासिन्दासहितको सबैको साथ र सहयोग रहेको मेयर बिष्ट बताउँछन्। ‘यसमा सबैको साथ र सहयोग छ, विकास र समृद्ध नगर बनाउन चाहन्छ, त्यसको फल स्वरुप पुरस्कारसम्म पाएका छौं।’  

नगर विकास कोषले साभेदारी गरिएका योजनाका आधारमा बर्षेनी उत्कृष्ट नगपालिका छनौट गरी पुरस्कार प्रदान गर्दै आएको छ। यसअघि गत वर्ष कैलालीको धनगढी उप–महानगरपालिकालाई पुरस्कार प्रदान गरिएको थियो।

प्रकाशित: ४ फाल्गुन २०७७ ११:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App