१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

‘लगानी वृद्धि र रोजगारी सिर्जना अहिलेको चुनौती’

फाइल तस्बिर।

अर्थमन्त्री विष्णु पौडेलले मुलुकको अहिलेको प्रमुख चुनौती लगानी बढाएर रोजगारी सिर्जना गर्ने भएको बताएका छन् । मन्त्री पौडेलले कोभिडका कारण धेरैको रोजगारी गुमेकाले समस्या सिर्जना भएको र यसलाई समाधान गर्न निजी क्षेत्रको सहयोग अपरिहार्य भएको बताए । ‘लगानी थपेर उत्पादन बढाउने र रोजगारी सिर्जना गर्ने काम सरकार र निजी क्षेत्र दुवैको सहयोगबिना सम्भव छैन,’ नेपाल आर्थिक पत्रकार समाजले सोमबार आयोजना गरेको सेजन डेका अवसरमा मन्त्री पौडेलले भने, ‘यही कारण म निजी क्षेत्रसँग सहकार्य गर्न आतुर छु ।’

अर्थमन्त्री पौडेलले कोभिडका कारण निजी क्षेत्रका उद्योग व्यवसायमा सिर्जना भएका समस्या समाधान गर्न पनि सरकार तयार भएको जानकारी दिए । सरकारले उपलब्ध गराएका सुविधा र जारी गरेका नीति अपुग छन् भने त्यसमा के कस्ता थप सुविधा दिनुपर्छ किटानीसाथ उपलब्ध गराउन निजी क्षेत्रलाई आग्रह गरे । अर्थमन्त्री पौडेलले निजी क्षेत्रलाई सरकारको स्रोत, साधनको क्षमतालाई पनि ख्याल गर्न आग्रह गरे ।  

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले कोभिडका कारण सबैभन्दा बढी मारमा पर्यटन क्षेत्र र साना तथा मझौला व्यवसायी परेको जानकारी दिँदै तत्काल सहयोग गर्न सरकारसँग आग्रह गरे । अध्यक्ष गोल्छाले कोभिडका कारण समस्यामा परेका व्यवसायलाई पुनरुत्थान गर्न महासंघले सरकारसँग रणनीति बनाएर काम गर्न चाहेको जानकारी दिए ।

आगामी दिनमा मुुलुक निर्माणका लागि निजी क्षेत्रले रणनीति बनाएर काम गर्न लागेकाले यसका लागि सरकारको सहयोग आवश्यक रहेको अध्यक्ष गोल्छाको भनाइ छ । महासंघले १० वर्षे रणनीतिपत्र तयार पारी आगामी सय दिनभित्रमा अन्तिम रूप दिई सार्वजनिक गर्ने जानकारी दिँदै गोल्छाले दिगो आर्थिक वृद्धि, रोजगारी, राजस्व वृद्धि गर्ने काम निजी क्षेत्रले गरेको बताए । नेपाल उद्योग परिसंघका अध्यक्ष सतीष मोरले कोभिडले प्रभाव पारेको अर्थतन्त्रलााई चलायमान बनाउन सरकारले विशेष पहल गर्नुपर्ने बताए । यस्तै, नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले नेपालको डुइङ बिजनेसमा लागत बढी रहेकाले त्यसको न्यूनीकरणका लागि सरकारले विशेष  ध्यान दिनुपर्ने बताए ।

सेजनका संस्थापक अध्यक्ष प्रतीक प्रधानले सेजन अहिलेसम्म राजनीतिक छायाँबाट बाहिर रहेको बताए । उनले मुलुकमा विकास भए, नभएको भन्दा पनि रोजगारी सिर्जना कति संख्यामा भएको छ भन्नेमा पत्रकारले ध्यान दिनुपर्ने बताए ।

नागरिकका ज्ञवालीलाई सेजन अवार्ड
नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले हरेक वर्ष प्रदान गर्दै आएको सेजन अवार्ड यस वर्ष नागरिक दैनिकका चिफ रिपोर्टर बालकृष्ण ज्ञवालीलाई प्रदान गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले ज्ञवालीलाई सेजन डेको अवसरमा सोमबार नगद ५० हजार रूपैयाँसहित प्रमाणपत्रबाट सम्मानित गरे ।

नागरिक दैनिकको आर्थिक ब्युरो प्रमुखसमेत रहेका ज्ञवालीले लेखेको रेल्वे ठेक्कामा अनियमितता समबन्धी समाचारलाई छापातर्फको वर्षकै ‘सर्वोत्कृष्ट’ घोषित गर्दै सेजन अवार्ड–२०७७ प्रदान गरिएको हो । ज्ञवालीले लेखेको रेल्वे ठेक्कामा अनियमितता सम्बन्धी समाचार उत्कृष्ट भएको सेजनको जुरीले जनाएको छ । ज्ञवाली करिब २५ वर्षदेखि आर्थिक पत्रकारितामा संलग्न छन् ।

त्यसैगरी, कारोबार दैनिकका लक्ष्मी सापकोटा र नयाँ पत्रिका दैनिकका जीवन बस्नेतले फेलोसिप प्राप्त गरेका छन् । कार्यक्रममा सेजनले अग्रज पत्रकार लक्ष्मण हुमागाईं, एकराज पाठक, लोकबहादुर चापागाईं र प्रशन्न चित्रकारलाई सम्मानित गरेको छ ।

प्रकाशित: १६ मंसिर २०७७ ०५:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App