१० माघ २०७७ शनिबार
अर्थ

प्याराग्लाइडिङमा उच्छृंखलता

पोखराको आकाशमा प्याराग्लाइडिङ ।फाइल तस्बिर: नागरिक

पोखराको आकाशमा प्याराग्लाइडिङ हुन थालेको दुई दशक नाघिसकेको छ । यो अवधिमा धेरैपटक प्याराग्लाइडिङ दुर्घटनामा परे, केही यात्रुले ज्यान पनि गुमाए । सोमबार भएको प्याराग्लाडिङ दुर्घटनामा पाइलट ३८ वर्षका राजु गैरे नेपालीको ज्यान गयो । यो घटना सबैका लागि नौलो भयोे । किनकि टेन्डम (यात्रुसहित) को उडान दुर्घटनामा पाइलटले ज्यान गुमाएको यो पहिलोपटक हो ।  

यसअघि सोलो (एकल) उडान वा प्रशिक्षार्थी पाइलट मात्रै बढीजसो दुर्घटनामा पर्दै आएका थिए । टेन्डम उडान दुर्घटनामा परिहाले पनि यात्रु र पाइलट सामान्य घाइते भएका थिए । यसपटक भने अनुभवी टेन्डम पाइलटले नै ज्यान गुमाए । यो दुर्घटनापछि उडानका क्रममा पाइलटले गर्ने गल्तीबारे पनि बहस चल्न थालेको छ । अनुभवी पाइलटहरूका अनुसार उडानमा कतिपय पाइलटले गर्नै नहुने गतिविधि गर्छन्, जसले गर्दा दुर्घटनाको जोखिम बढेको छ । प्याराग्लाइडिङका अनुभवी पाइलट दामोदर पराजुली भन्छन्, ‘पाइलटले गर्नै नहुने गतिविधि गर्दा पनि दुर्घटनाको जोखिम बढेको छ । पाइलटका उच्छृंखल गतिविधिले दुर्घटना दोहोरिने गरेका छन् ।’

प्याराग्लाइडिङ पाइलटका प्रशिक्षकसमेत रहेका पराजुलीका अनुसार उडानका क्रममा यात्रुलाई थप रोमाञ्चकता दिलाउन कतिपय पाइलटले भुइँ नजिकै पुगेर फूल र रूखका पात टिप्ने, तालको पानी छुवाउने, एक्रोब्याटिक गराउने गतिविधि पनि गर्छन् । यसबाट दुर्घटनाको जोखिम बढी हुन्छ । ‘आकाशमा उडिरहेको ग्लाइडरलाई रूख नजिकै ल्याएर फूल र पात टिप्न खोज्नुलाई उच्छृंखलता भन्न सकिन्छ,’ उनी भन्छन्, ‘यसो गर्नुु मूर्खता पनि हो ।’ चालकले पात र फूल टिपेर दिई यात्रुलाई खुसी पार्न यसो गरेको उनले बताए । ‘उडिरहेका बेला रूखको नजिकै आएर फूल र पात टिपेर यात्रुलाई दिने पाइलटलाई कारबाही गर्नुपर्छ,’ उनी भन्छन् । स्रोतका अनुसार सोमबारको दुर्घटना पाइलटले रुखको पात टिप्न खोज्दा भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।  

पराजुलीका अनुसार उडानका क्रममा कतिपय यात्रुले थप रोमाञ्चक गतिविधि गराउन पाइलटलाई अनुरोध गर्छन् । ‘यात्रुले पनि कसरी सुरक्षित भइन्छ, त्यो हेर्नुपर्छ, ख्याल गर्नुपर्छ । यात्रुको दबाबमा पाइलटले जोखिम निम्त्याउने गतिविधि गर्दा दुर्घटना हुन्छ,’ पराजुली भन्छन्, ‘कतिपय यात्रुले भनेको र सुनेको भरमा पाइलटलाई दबाब दिन्छन् । के गर्ने, के नगर्ने निर्णय त पाइलट गर्ने हो ।’ यसबाहेक पाइलटले यात्रुलाई रोमाञ्चकता थप्न एक्रोब्याटिक पनि गराउँछन् । पराजुलीका अनुसार एक्रोब्याटिक गराउँदा पाइलटले आफू कुन तहको हुँ भन्ने ख्याल राख्नुपर्छ । ‘यात्रुलाई सामान्य रोमाञ्चकता दिनेगरी गतिविधि गर्दा केही फरक पर्दैन तर जबर्जस्ती एक्रोब्याटिक गराइन्छ,’ उनले भने, ‘पोखरामै एक्रोब्याटिकमा पोख्त पाइलट निकै कम छन् । साँच्चिकै एक्रोब्याटिक गराउने दक्ष पाइलट १०÷१५ जनामात्र छन् ।’  

प्याराग्लाइडिङ पाइलटका प्रशिक्षक दामोदार पराजुलीका अनुसार उडानका क्रममा यात्रुलाई थप रोमाञ्चकता दिलाउन कतिपय पाइलटले भुइँनजिकै पुगेर फूल र रूखका पात टिपेर दिने, तालको पानी छुवाउने, एक्रोब्याटिक गराउनेजस्ता गतिविधि गर्छन् । यसो गर्दा दुर्घटनाको जोखिम बढी हुन्छ । स्रोतका अनुसार सोमबारको दुर्घटना पाइलटले रूखको पात टिप्न खोज्दा भएको हो ।

प्याराग्लाइडिङका अर्का अनुभवी पाइलट विमल अधिकारीका अनुसार पछिल्लोपटक यस पेसामा आएका पाइलट पटक्कै गम्भीर छैनन् । ‘व्यवसायी र पाइलट दुवै चुक्दा यस्तो अवस्था आएको हो,’ उनी भन्छन्, ‘आफूसँगै उडेका यात्रुलाई सुरक्षित अवतरण गराउने जिम्मा पाइलटको हो । फूल र पात टिपेर दिएर खुसी बनाउन खोज्नुहुँदैन । यसो गर्दा दुर्घटनाको सम्भावना हुन्छ ।’ उनी सोमबारको घटनाले नेपाली प्याराग्लाइडिङप्रति असुरक्षा जगाएको बताउँछन् ।

अर्का एक पाइलटका अनुसार फूल र पात टिपेर दिएबापत पाँच सय र तालको पानी छुवाउँदा अतिरिक्त एक हजार रूपैयाँ पाइलटले यात्रुसँग लिने गरेका छन् । ‘आकाशमै बार्गेनिङ गरिनु पटक्कै राम्रो होइन,’ ती पाइलट भन्छन्, ‘यो ट्याक्सी चलाएजस्तो होइन ।’

प्रशिक्षक पाइलट सानोबाबु सुनुवारको अनुभवमा प्याराग्लाइडिङमा रोमाञ्चकता थप्न एक्रोब्याटिक गरिन्छ । हावामा गर्ने गतिविधिलाई एक्रोब्याटिक भनिन्छ ।  

‘एक्रोब्याटिक सोलो पाइलटले गर्ने हो, सबैले होइन, क्षमता र खुबी भएकाले मात्र गर्छन्,’ उनले भने, ‘सबै ग्लाइडरबाट एक्रोब्याटिक सम्भव पनि हँुदैन र सबै पाइलटले गर्न पनि सक्दैनन् ।’ पर्याप्त एक्रोब्याटिक तालिम लिएका पाइलटले मात्र त्यस्ता साहसिक गतिविधि गर्न सक्ने उनी बताउँछन् । उनी भन्छन्, ‘साँच्चै एक्रोब्याटिक गर्न एक्रोब्याटिक ग्लाइडर चाहिन्छ ।’ सुनुवारका अनुसार एक्रोब्याटिक गर्दा हावामा प्याराग्लाइडिङको गति बढ्न जान्छ । नर्मल उडान ४५ देखि ६५ किलोमिटर प्रतिघण्टाको एयर स्पिड हुन्छ । तर एक्रोब्याटिक गर्दा ८५ किलोमिटरभन्दा माथि गति हुने उनी बताउँछन् । उनका अनुसार एक्रोब्याटिक गर्दा गति बढाएरै आकाशमै फनफनी घुमाइन्छ । त्यसरी घुमाउँदा सन्तुलन गुम्न गए दुर्घटनामा पर्ने जोखिम बढी हुन्छ । ‘एक्रोब्याटिक गर्दा आकाशमा मच्चिने हो तर त्यो निकै जोखिमपूर्ण हुन्छ,’ उनी भन्छन् । सुनुवार पनि उडानका क्रममा फूल, रूखका पात टिप्ने काम गर्न लायक गतिविधि नभएको बताउँछन् । ‘जमिनमा गर्ने गतिविधि आकाशमा मिल्दैन,’ उनी भन्छन् ।  

हवाई खेलकुद संस्था (एनएए) का अध्यक्ष कृष्ण भण्डारी पनि पाइलटले फूल, पात टिप्ने र पानी छुने गतिविधि गर्दै आएको जानकारीमा आएको बताउँछन् । ‘उड्दाउड्दै पात र फूल टिप्ने, तालको पानी छुनेजस्ता गतिविधि हुने गरेका छन् । ती गतिविधि गर्न नपाउने गरी कडाइ गर्दैछौं,’ उनी भन्छन्, ‘व्यावसायिक उडानमा एक्रोब्याटिक गराउनु गलत हो ।’  

छानबिन समिति गठन  
सोमबारको दुर्घटनाको कारण पत्ता लगाउन नेपाल नागरिक उड्डयन प्राधिकरणले तीन सदस्यीय समिति गठन गरेको छ । प्राधिकरणका पोखरास्थित प्रबन्धक (एयर ट्राफिक सर्भिस) अनुप जोशीको संयोजकत्वमा गठित समितिमा प्याराग्लाइडिङ पाइलट दीपक थापा र प्राधिकरणका अधिकृत देवराज सुवेदी सदस्य छन् । समितिले ३० दिनभित्र प्राधिकरणलाई प्रतिवेदन बुझाउनेछ ।

प्रकाशित: १३ मंसिर २०७७ ०७:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App