६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

दसैंमा यात्रुः पाँच दिनमा १० वटा टिकट अग्रिम बुकिङ

पोखरा पृथ्वीचोकस्थित बसपार्कमा पार्किङ गरिएका लामो दूरीमा चल्ने बस । फाइल तस्बिरः नागरिक

पोखराबाट ६३ जिल्लामा सिधा बस सेवा संचालन गर्दै आएको पृथ्वी राजमार्ग बस संचालक कम्पनिले पाँच दिन अघि (असोज २१) नै टिकटको अग्रिम बुकिङ खुलायो। दसैंका लागि घर फर्किने यात्रुलाई सुविधा होस भनेर टिकटको अग्रिम बुकिङ खुला गरेपनि अहिलेसम्मको बुकिङ अवस्था निकै नै कमजोर रहेको व्यवसायीले बताएका छन्। बुकिङ खुला गरेको पाँचदिन अवधिमा जम्मा १० जना यात्रुले मात्र टिकटको अग्रिम बुकिङ गरेको कम्पनिले बताएको छ।  

कम्पनिका अध्यक्ष योगेन्द्रबहादुर केसीका अनुसार अघिल्ला वर्ष यो बेला दैनिक करिब ४ सय यात्रुले विभिन्न रुटका लागि टिकट अग्रिम बुकिङ गर्दथे। तर, यो वर्षको बुकिङ अवस्था निकै नै दयनीय भएको अध्यक्ष केसीले बताए। ‘यत्तिसारो कमजोर बुकिङ होला भनेर हामीले सोचेका पनि थिएनौ। तर, पाँच दिनको अवधिमा जम्मा १० जना यात्रुको मात्र अग्रिम बुकिङ आएको छ,’ केसीले भने, ‘यो आकारको बुकिङलाई अग्रिम भन्नु नै गलत हुनेछ। यो पटकको बुकिङ शुन्य नै मानेका छौ।’

पृथ्वीले पूर्वमा मेचीदेखि पश्चिम महाकालीका विभिन्न गन्तव्यसम्मका लागि दिवा तथा रात्री बस संचालन गर्दै आएको छ। तर कोरोना भाइरस संक्रमणका कारण यो पटक यात्रुको आउजाउ हुने अवस्था नहुँदा टिकटको अग्रिम बुकिङ पनि आउन नसकेको उनले बताए।  

पृथ्वीले पोखराबाट लामो दूरीमा महेन्द्रनगर, धनगढी, सुर्खेत, नेपालगञ्ज, काकडभिट्टा, धरान, बिराटनगर लगायत छोटो दूरीमा पनि दिवा तथा रात्री बस सेवा संचालन गरिरहेको छ। दसैंमा घर फर्किन यात्रुले छोटो दूरीमा भन्दा लामो दूरीमा अग्रिम बुकिङ बढी गर्दथे। अघिल्ला दसैंमा ती गन्तव्यमा जानका लागि यात्रुको हानथाप हुन्थ्यो। तर, अहिले टिकटको बुकिङ अग्रिम रुपमा खुलाउँदा पनि यात्रु नआएको उनले बताए। ‘यस्तो कमजोर अग्रिम बुकिङले दसैंमा यात्रु पाउने आशै छैन,’ उनले भने, ‘यो बेला बस चलाउनु भन्दा थन्काएर राख्दा बेस हुने अवस्था छ। तर, एकाध यात्रुले दुःख नपाउन् भनेर कठिनका बाबजुत पनि बस चलाएका छौ। कमाई पटक्कै छैन।’ पृथ्वीसँग सबैगरि १३९७ वटा गाडी छन्। हरेक दिन पृथ्वीका ५ सय गाडी कुनै न कुनै रुटमा गुड्ने गर्दथे। दसैंमा धेरैजसो सवारी गुड्थे। जुनसुकै रुटमा पनि चलाउन पाउने क्यू फ्रि हुँदा यात्रु तान्ने हानथाप व्यवसायीलाई हुन्थ्यो।

अघिल्ला वर्ष तोकिएको बस संख्याले माग नथेगेपछि अतिरिक्त सवारी थपेर पनि यात्रुलाई गन्तव्यमा पुर्‍याउने गरेकोमा यो पटक नियमित संचालन भईरहेका सवारीले पनि यात्रु पाउने अवस्था नरहेको अध्यक्ष केसीको भनाई छ। ‘अघिल्ला दसैंमा हामीले लामो दुरीमा यात्रु संख्या बढेपछि अतिरिक्त बस थपेर गन्तव्यसम्म पुर्‍याएका थियौ। अहिले त यात्रु नै छैनन्,’ उनले भने।  

कोरोना भाइरस महामारीबीच सरकारले असोज १ देखि लामो दूरीमा पनि सार्वजनिक यातायात संचालन गरेको थियो। लामो दूरीको यातायात संचालन गरेपछि यात्रुको आउजाउ बढ्ने अपेक्षा यातायात व्यवसायीको पनि थियो। तर, लामो दूरीको सार्वजनिक यातायात खुलेको झन्डै महिनादिन पुगिसक्दा यात्रुको आकार अझै नबढेको अध्यक्ष केसीले बताए। ‘अहिले पनि यात्रुको आकार झन्डै १० प्रतिशत मात्र रहेको छ। यो बेला पनि यात्रु संख्या बढेका छैनन,’ उनले भने, ‘यात्रुको आकार यो अवधिमा केही थपिएला भन्ने अपेक्षा थियो। तर, त्यो अनुसार हुन सकेन।’ उनका अनुसार अहिले २५ प्रतिशत सवारी मात्र गुडेका छन्। यो बेला दसैं मान्न घर फर्किने यात्रु बढनुपर्नेमा त्यो हुन नसकेको उनको भनाई छ।

उनका अनुसार हवाईजहाजको सस्तो टिकटका कारण पनि यो बेला यात्रु बसमा हिड्न चाहेका छैनन्। अहिले पनि पोखराबाट काठमाडौं जाँदा जहाजमा प्रतियात्रुले दुई हजार रुपैयाँसम्ममा यात्रा गर्न पाएका छन्। तर, बसमा कम्तिमा एकहजार रुपैयाँ परेको छ। यात्रुले सहजता र छिटोका लागि पनि जहाज नै रोज्न थालेको उनले बताए। त्यसको मार पनि स्थलमार्गमा परेको अध्यक्ष केसीले बताए।  

अरु यातायात व्यवसायी पनि अहिलेको दसैंले लामो दूरीमा यात्रु पाउन नसकेको बताएका छन्। पोखराबाट कटारीसम्म यात्रु बस संचालन गरिरहेको लालिमा डिलक्स बसका संचालक कान्ती श्रेष्ठले पनि अग्रिम बुकिङ शुन्य रहेको बताए। श्रेष्ठले पोखरा–कटारी रुटमा २०५८ सालदेखि दैनिक रुपमा बस सेवा संचालन गर्दै आएपनि यो पटक नै सबैभन्दा कम यात्रु पाएको बताए। उनका अनुसार आइतबार कटारीबाट पोखरा जाने एकजना यात्रु पनि थिएनन्। पोखराबाट कटारी जाने जम्मा दुईजना यात्रु थिए। काठमाडौंका लागि त झनैं यात्रु नभएको उनले बताए।  

‘हामीले फोनबाटै टिकट बुकिङ गर्दथ्यौं। काउन्टरले पनि बुकिङ गर्नुपर्दैनथ्यो,’ उनले भने, ‘तर, यो पटक यात्रु नै छैनन्।’ अघिल्ला वर्ष दसैंमा ४० जनाको सिट हुने बसमा मुढा र उभिएर अरु २० जना यात्रुले यात्रा गर्दथे। सिट नहुँदा पनि यात्रु बस चढ्न हानथाप गर्ने गरेकोमा यो पटक अग्रिम बुकिङका लागि एकपटक पनि फोन नआएको श्रेष्ठले बताए।

प्रकाशित: २५ आश्विन २०७७ ११:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App