कोरोना महामारीले वैदेशिक रोजगारी ठप्प भए पनि रेमिटेन्स भने वृद्धि भइरहेको छ । गत आर्थिक वर्षको अन्तिम महिना असारमा अहिलेसम्मकै बढी रेमिटेन्स एक खर्ब एक अर्ब रूपैयाँ भित्रिएको थियो । चालु आवको पहिलो महिना साउनमा पनि अघिल्लो साउनमा भन्दा बढी रेमिटेन्स भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको साउनमा ९२ अर्ब ७१ करोड रूपैयाँ रेमिटेन्स भित्रिएको छ । गत वर्षको तुलनामा चालु वर्षको साउनमा भित्रिएको रेमिटेन्स २३ प्रतिशतले बढी हो । विगतका वर्षको तथ्यांक हेर्ने हो भने साउन, भदौमा रेमिटेन्स तुलनात्मक रूपमा कम आएको देखिन्छ । कोरोना कहरकै बीचमा चालु आर्थिक वर्षको पहिलो महिना साउनमा रेमिटेन्स अघिल्लो साउनमा भन्दा बढी भित्रिएकाले आगामी दिनमा पनि खासै घट्दैन कि भन्ने अनुमान गर्न थालिएको छ ।
कोरोना महामारीले वैदेशिक रोजगारीमा रहेका युवा समस्यामा परेको समाचार आइरहेका छन् । कोरोनाकै कारण फागुन २७ यता सरकारले पहिलोपटक वैदेशिक रोजगारीमा जानेलाई श्रम स्वीकृति दिन बन्द गरेको छ । दुई महिनाअघि पुनः श्रम स्वीकृति दिन थाले पनि साउनमा भित्रिएको रेमिटेन्समा नयाँ श्रम स्वीकृति पाएकाको योगदान छैन । पुनः श्रम स्वीकृति दिन थालेयता करिब चार हजारजना वैदेशिक रोजगारीमा गएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
कोरोना महामारीका कारण यतिखेर धेरै नेपालीले काम गर्ने खाडी मुलुक र मलेसिया प्रभावित छन् । मन्त्रालयका अनुसार कोरोनाका कारण रोजगारी गुमाएपछि शुक्रबारसम्म विभिन्न मुलुकबाट ५७ हजार दुई सय ९७ घर फर्केका छन् । एक लाख ३६ हजार एक सय ५० जनाले घर फर्कन निवेदन दिएको मन्त्रालयले जनाएको छ । कोरोनाले थुपै्रै मुलुक प्रभावित भएपछि विश्व बैंकलगायत नेपाल राष्ट्र बैंकले अघिल्लो वर्षको तुलनामा गत आवमा १५ प्रतिशतसम्म रेमिटेन्समा गिरावट आउने प्रक्षेपण गरेका थिए ।
गत आथिक वर्षको साउनमा भित्रिएको रेमिटेन्सको तुलनामा यो २३ प्रतिशतले बढी हो ।
तर गत वर्षको अन्तिम र चालु आर्थिक वर्षको पहिलो महिनामा अहिलेसम्मकै बढी रेमिटेन्स भित्रिएको छ । अघिल्लो वर्षसम्म मासिक सरदर ७० अर्ब रूपैयाँ रेमिटेन्स भित्रिने गरेको थियो ।
राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्ट असार र साउनमा रेमिटेन्स वृद्धि हुनुमा चार कारण देख्छन् । ‘रेमिटेन्स स्रोत मुलुकमा कोरोना प्रभाव घट्दै जानु, पछिल्लो समयमा रेमिटेन्स बैंकिङ च्यालनबाट आउन थाल्नु, विदेशबाट घर फर्कनेले जम्मा गरेको बचत एकैचोटि ल्याउनु र चैत–वैशाखमा आउन नसकेको रेमिटेन्स अहिले आउनुले बढेको हो,’ उनले भने ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत तथा नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ९९.२ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १९ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ८० प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १.३ प्रतिशतले घटेको थियो ।
आर्थिक वर्ष ०७६÷७७ मा अघिल्लो वर्षको तुलनमा करिब चार अर्ब अर्थात् ०.५ प्रतिशतले रेमिटेन्समा गिरावट आएको थियो । आर्थिक वर्ष ०७५÷७६ मा आठ खर्ब ७९ अर्ब २७ करोड रूपैयाँ रेमिटेन्स भित्रिएको थियो । गत वर्ष आठ खर्ब ७५ अर्ब तीन करोड रूपैयाँ रेमिटेन्स भित्रियो । अन्तर्राष्ट्रिय हवाई उडान बन्द गरिएका कारण यतिखेर ठूलो संख्याका नेपाली विदेशमा अलपत्र छन् । विभिन्न निकायले गरेको अध्ययनमा कोरोनापछि रोजगारी गुमाएर करिब १० लाख घर फर्कने अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय उडान सुरु नहुँदा बिदा र भिसा सकिएका मात्र करिब तीन लाख घर फर्कन नपाएको विभिन्न मुलुकस्थित नेपाली दूतावासले जनाएका छन् ।
शोधनान्तर स्थिति साढे ५१ अर्ब बचतमा
साउन मसान्तसम्म शोधनान्तर स्थिति ५१ अर्ब ४६ करोड रूपैयाँले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ६ अर्ब ५ करोड रूपैयाँले बचत थियो । समीक्षा अवधिमा ४२ करोड ९४ लाखले बचतमा छ । राष्ट्र बैंकका अनुसार यो अवधिमा चालु खाता २५ अर्ब ४१ करोड रूपैयाँले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ९ अर्ब ३४
करोडले घाटामा थियो । ०७७ असार मसान्तमा १४ खर्ब ०१ अर्ब ८४ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २.५ प्रतिशतले वृद्धि भई २०७७ साउन मसान्तमा १४ खर्ब ३६ अर्ब ७३ करोड रूपैयाँ पुगेको छ । ०७७ असार मसान्तमा १२ खर्ब २६ अर्ब १२ करोड रूपैयाँ रहेकोमा ०७७ साउन मसान्तमा १२ खर्ब ६० अर्ब ३८ करोड पुगेको छ ।
त्यस्तै समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ६.७ प्रतिशतले वृद्धि भई एक अर्ब १० करोड रूपैयाँ पुगेको छ भने
प्रत्यक्ष वैदेशिक लगानी ३.३ प्रतिशतले घटेर एक अर्ब ३९ करोड रूपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर एक अर्ब ३ करोड र प्रत्यक्ष वैदेशिक लगानी एक अर्ब ४४ करोड रूपैयाँ थियो ।
प्रकाशित: १० आश्विन २०७७ ०२:१७ शनिबार