१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

नेपालसँगको व्यापारमा चीन असहयोगी

तिब्बतको केरुङमा महिनौंदेखि अलपत्र मालवाहक कन्टेनर। तस्बिर: नागरिक

नेपालसँगको व्यापारमा चीन असहयोगी बनेको छ। चीनले नेपालसँग उच्च राजनीतिक सम्बन्ध र लगानी बढाउँदै आए पनि सामान आयात–निर्यातमा भने सीमानाका बन्द गरेर असहयोग गरेको हो। चीनले सीमानाका बन्द गर्नुलाई व्यापारीले ‘हेपाहा प्रवृत्ति’ को संज्ञा दिएका छन्।

नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार चीनले नेपालसँगको व्यापारमा देखिएका समस्या समाधानका लागि सहजीकरण गर्नुपर्नेमा उल्टै दुई प्रमुख व्यापारिक सीमानाका बन्द गरेको छ। उसले रसुवागढी र तातोपानी नाका बन्द गर्दा नेपाली व्यापारीलाई अर्बौ रुपैयाँ नोक्सानी भएको छ। सामान आयात–निर्यात बाधा भएको छ।

नेपाल हिमालयन सीमापार वाणिज्य संघका महासचिव नवराज तिमल्सिना चीनले त्यहाँ उत्पादित सामान सडकमार्गबाट नेपाल ल्याउन असहयोग गरेको बताउँछन्। ‘अर्बौंका सामान महिनौंदेखि अलपत्र हुँदा पनि चीनले नाका बन्द गरेको छ,’ तिमल्सिनाले भने, ‘यो चीनको हेपाहा प्रवृत्ति हो।’

संघका अनुसार चीनबाट नेपाल आउन लागेका विभिन्न सामानसहितका १२ सय कन्टेनर सात महिनादेखि तिब्बतको केरुङमा रोकिएका छन्। तातोपानी नाकाबाट आउने करिब दुई सय कन्टेनर पनि चिनियाँ भूमिमा रोकिएका छन्। चीनबाट नेपालमा वार्षिक करिब दुई खर्ब रुपैयाँका सामान आयात हुन्छ। पोहोर चीनबाट एक खर्ब ८१ अर्ब रुपैयाँको सामान आयात भएको थियो। नेपालबाट एक अर्ब १९ करोड रुपैयाँका सामान चीनतर्फ निर्यात भएको थियो। चीनसँग नेपालको एक खर्ब ८० अर्ब व्यापार घाटा छ।

वाणिज्य मन्त्रालयका पूर्वसचिव पुरुषोत्तम ओझाका अनुसार नेपालसँगको व्यापार निकै सानो मात्रामा भएकाले चीनले प्राथमिकता नदिएको हुन सक्छ। ‘हाम्रो ठूलो व्यापारिक साझेदार चीन भए पनि उसका लागि नेपाल प्राथमिकतामा छैन,’ उनी भन्छन्, ‘यो विषयमा राजनीतिक तहमा संवाद गर्नुपर्छ।’

अन्तर्राष्ट्रिय सीमानाका बन्द गर्न दुई पक्षीय सहमति आवश्यक पर्ने भए पनि चीनले एकपक्षीय रुपमा बन्द गरेको हो। चीनले सीमानाका बन्द गरेको यो पहिलोपटक भने होइन। चीनले अहिले सीमानाका बन्द हुनुमा कोभिड १९ महामारीलाई बहाना बनाएको छ।

यो पनि पढ्नुहोस्

हजार कन्टेनर सात महिनादेखि केरुङमा अलपत्र

नेपाली व्यापारीले लत्ताकपडा, फर्निचर, कच्चा पदार्थ, खाद्यान्न, इलेक्ट्रोनिक्स सामान, रेडिमेड गार्मेन्ट, जुत्ता–चप्पललगायत चीनबाट आयात गर्छन्। चीनबाट पानी जहाज हुँदै भारत भएर नेपालमा सामान ल्याउँदा ४०÷४२ दिन लाग्छ। कुनै अवरोध नभए तातोपानी र केरुङबाट ल्याउँदा २०÷२२ दिनमै सामान आइपुग्छ।

कोरोना संक्रमणका बेला नेपाल र भारतले मानिस आवतजावत रोके पनि सामान आयात–निर्यात भने निर्वाध रुपमा भइरहेको छ। चीनले नाका बन्द गर्दा सरकार मूकदर्शक भएको व्यापारीको आरोप छ। ‘भारतले यसरी नाका बन्द गरेको भए सडकमा नारा जुलुस हुन्थ्यो,’ महासचिव तिमिल्सिनाले भने, ‘चीनले एकतर्फी रुपमा नाका बन्द गर्दा पनि सरकार मौन छ।’

नेपालबाट फ्री तिब्बत गतिविधि हुन सक्ने आशंकामा सकेसम्म नेपालसँगका नाका खोल्ने इच्छा चीनको नभएको नेपाली व्यवसायीको बुझाई छ। चीनले सीमानाका बन्द गर्दा त्यहाँ उत्पादित सामान भारत हुँदै ल्याउनुपर्ने बाध्यता आइलागेको छ। चीनसँगको उच्चस्तरको राजनीतिक सम्बन्धलाई आर्थिक सम्बन्धमा रुपान्तरण गर्न नसक्नु नेपाल सरकारको कमजोरी भएको वाणिज्य मन्त्रालयका पूर्वसचिव पुरुषोत्तम ओझा बताउँछन्। चीनका लागि नेपालको व्यापार निकै सानो मात्रामा भएकाले उसले प्राथमिकतामा नराखेको ओझाको बुझाइ छ। ‘हाम्रो ठूलो व्यापारिक साझेदार चीन भए पनि उसका लागि नेपाल प्राथमिकतामा छैन,’ ओझाले भने, ‘यो समस्या उच्च राजनीतिक तहबाट समाधान गर्नुपर्छ।’

चीनका लागि अमेरिका, युरोप र भारत पहिलो प्राथमिकतामा रहेको ओझाले बताए। चीनसँग ट्रान्जिट ट्रिटी गरेको भए पनि उसका बन्दरगाह प्रयोग गरेर नेपालले फाइदा लिन सक्नेमा ओझाले शंका व्यक्त गरे। चीनसँग व्यापार सहजीकरण गर्न कनेक्टिभिटी महŒवपूर्ण रहेको उनले बताए। ‘हामी रेलका कुरा गरिरहेका छौं,’ ओझाले भने, ‘सडक मार्गबाट आएका कन्टेनर महिनौंदेखि सीमानाका नजिकै चीनको भूमिमा अलपत्र पर्दा नेपाल सरकारको ध्यान गएको देखिएन।’ रोकिएका मालवाहक कन्टेनर ल्याउन सरकारले सहजीकरण गर्नुपर्ने उनले बताए। ‘दुईपक्षीय संवाद कम भएको हुन सक्छ,’ ओझाले भने, ‘तत्काल समस्या समाधानका लागि सरकारी स्तरबाट पहल गर्नुपर्छ।’

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र भन्सार विभागका अधिकारी भने नाका खुला गर्न पहल भइरहेको बताउँछन्। नाका खोल्न चिनियाँ अधिकारीसँग छलफल र पत्राचार भइरहको तातोपानी भन्सारका प्रमुख लालबहादुर खत्रीले बताए। ‘बाटोमा अलपत्र परेका नेपाली व्यवसायीका सामान ल्याउन पहल गरिरहेका छौं,’ उनले भने, ‘नाका बन्द गर्नुको कारण चिनियाँ पक्षले खुलाएको छैन।’

चीनमा कोरोना महामारी सुरु भएपछि बन्द गरिएको रसुवागढी नाका असारबाट खुलेको थियो। एक कामदारमा कोरोना संक्रमण भएपछि भदौ १८ गतेदेखि फेरि सो नाका बन्द छ। तातोपानी नाका असारदेखि बन्द छ। तिब्बतको मेलाम भन्ने ठाउँमा नेपाल आउने सामानसहित करिब दुई सय कन्टेनर रोकिएका छन्। सुरुमा वर्षाका कारण बाह्रबीसेदेखि रितिङसम्म बाटो अवरुद्ध भएकाले नेपाली पक्षकै अनुरोधमा सामान पठाउन चीनले रोकेको थियो। पछि तातोपानी भन्सार कार्यालयले सामान पठाउन अनुरोध गरे पनि चिनियाँ पक्षले नाका बन्द ग¥यो। पछिल्लो पटक चीनले तिब्बतस्थित ‘क्यानोन कु’ ताल विस्फोटको जोखिम रहेकाले पानी घटाउने भन्दै तातोपानी नाका बन्द गरेको हो। चीनले न तालको पानी घटाएको छ नाका खोल्ने चासो देखाएको छ।

२०७२ को भूकम्पपछि पनि सडक भत्किएको भन्दै चीनले तातोपानी नाका लामो समय बन्द गरेको थियो। त्यतिखेर पनि चीनले सडकको बहाना मात्र बनाएको व्यापारीको बुझाइ छ। ‘चीनले चाहे रातारात विकास हुन्छ,’ महासचिव तिमिल्सिनाले भने, ‘सडकको बहाना बनाएर लामो समय नाका बन्द भयो।’ दुई नाका नियमित भए चीनबाट सामान आयात गर्न सजिलो हुने उनले बताए। ‘नियमित नाका नचल्दा चीनबाट ल्याउनुपर्ने सामान भारत हुँदै ल्याउनुपर्ने बाध्यता छ,’ उनले भने, ‘उस (चीन) कै सामान ल्याउँदा पनि सास्ती बेहोर्नु प¥यो।’

सरकारले चीनसँग पारवहन सम्झौता गरेको छ। सम्झौता अनुसार चिनियाँ बन्दरगाह र भूमि प्रयोग गरेर तेस्रो मुलुकबाट सामान आयात गर्न सकिने भए पनि सडकमार्ग हुँदै चीनबाट सामान ल्याउन नेपाली व्यापारीलाई कठिनाइ भएको छ। संघका अध्यक्ष बच्चु पौडेल नेपाली व्यापारी डुब्दा पनि सरकार रमिते बनेको बताउँछन्। ‘पटकपटक सरकारको ध्यानाकर्षण गराए पनि सुनुवाइ भएको छैन,’ उनले भने।

प्रकाशित: ४ आश्विन २०७७ ०१:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App