भदौ १ देखि नेपालमा व्यावसायिक रूपमा अन्तर्राष्ट्रिय उडान भर्न अनुमति माग्दै दुई स्वदेशीसहित १२ विमान कम्पनीले नियमनकारी निकाय नागरिक उड्डयन प्राधिकरणमा आवेदन दिएका छन् । अनुमति माग्नेमा १० विदेशी तथा स्वदेशका नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्स छन् ।
पाँच महिनादेखि बन्द रहेको व्यावसायिक उडान भदौ १ गतेबाट सञ्चालनमा आउने भएपछि अनुमति माग्ने कम्पनीहरू बढ्दै गएका हुन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजेन्द्रकुमार क्षेत्रीका अनुसार सोमबारसम्म १२ कम्पनीले आवेदन दिएका छन् । अझै १३ दिन बाँकी रहेकाले उक्त संख्या बढ्न सक्ने उनले बताए ।
नेपाल आउन अनुमति माग्ने विदेशी वायुसेवामा टर्किस एयरलाइन्स, सलाम एयर, इन्डिगो, चाइना साउदर्न, जजिरा एयर र फ्लाई दुबई, एयर चाइना, मलेसिया एयरलाइन्स, मलिन्दो, एयर अरेबिया छन् । क्षेत्रीका अनुसार टर्किसले हरेक बिहीबार उडान गर्न चाहेको छ । यात्रु संख्या बढेमा उसले सातामा पाँच उडान भर्न सक्छ । उसले भदौ ५ देखि असोज ९ सम्म हप्ताको एक उडान गर्नेछ । असोज १५ देखि कात्तिक ९ सम्म हप्तामा पाँच उडान भर्ने जनाइएको छ ।
त्यस्तै, सलाम एयर, इन्डिगो र फ्लाई दुबईको हरेक दिन एक–एक उडान भर्ने तालिका छ । एयर चाइना र चाइना साउदर्नले हरेक शनिबार नेपाल आउन चोहका छन् भने जजिरा एयरले मंगलबार र शनिबार उडान भर्नेछन् । त्यस्तै, मलेसिया एयरलाइन्सले सातामा पाँच र मलिन्दो एयरले १४ उडान भर्ने अनुमति मागेको छ । एयर अरेबियाले सातामा ३५ उडानको अनुमति मागेको छ । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएका नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्समध्ये निगमले सातामा ५७ र हिमालयले २१ उडान भर्ने अनुमतिका लागि आवेदन दिएका छन् ।
सलाम एयरले सातै उडान मस्कटबाट र इन्डिगोले सबै उडान दिल्लीबाट गर्नेछ । चाइना साउर्थनले ग्वान्जाउबाट, एयर चाइनाले छेङ्दुबाट, जजिराले कुवेतबाट, फ्लाई दुबईले दुबईबाट, मलेसिया एयरलाइन्सले एवं मलिन्दो एयरले मलेसियाबाट र एयर अरेबियाले साउदीको सारजहाँबाट उडान भर्नेछन् । त्यस्तै निगमले दिल्लीमा हप्ताको १४, बेङ्लोरमा तीन, मुम्बईमा सात, ग्वान्जाउमा तीन, दुबई, मलेसिया र दोहामा ७–७, नारिता, हङकङ र ब्यांकमा सातामा ३–३ उडान भर्नेछ । हिमालयले दोहामा हप्ताको पाँच, मलेसिया र अबुधाबी ४–४, दमाम सात र चोङचिङ एक उडान भर्नेछ । सलाम एयरले भदौ १ देखि कात्तिक ९ सम्म, इन्डिगोले भदौ १६ देखि कात्तिक ८ सम्म, चाइना साउदर्न, एयर चाइना, जजिरा र फ्लाई दबईले भदौ १ देखि कात्तिक ८ सम्मको उडान अनुमति मागेका हुन् । हिमालयले भदौ १ देखि कात्तिक ८ सम्मको उडान अनुमति चाहेको छ ।
आन्तरिकतर्फका हवाई उडान समेत भदौ १ बाटै सञ्चालनमा आउनेछन् । नेपाल वायुसेवा सञ्चालक संघका अनुसार हालसम्म आन्तरिक विमान कम्पनीमध्ये बुद्ध एयरले दैनिक १७ उडानको अनुमति मागेको छ । यती एयरलाइन्सले ११, श्री एयरलाइन्सले आठ र यती एयरलाइन्सकै भगिनी संस्था तारा एयरले दैनिक तीन उडान गर्न चाहेको छ ।
प्राधिकरणले अन्य वायुसेवाले पनि आवेदन दिन सक्ने हुँदा केही दिन पर्खेर अनुमतिका विषयमा निर्णय हुने जनाएको छ । लकडाउनअघि हुँदै आएका उडानको तुलनामा १५ प्रतिशतमात्र सञ्चालन गर्ने तयारी भइरहेको विमानस्थल कार्यालयले जनाएको छ । दैनिक तीन सय ५० यात्रुलाई सेवा दिने गरी आन्तरिक उडानको तयारी भइरहे पनि काठमाडौंबाट बाहिर जानेभन्दा तराई लगायत जिल्लाबाट काठमाडौं फर्कने यात्रुको चाप अग्रिम बुकिङमा देखिन थालेको जनाइएको छ ।
प्रकाशित: २० श्रावण २०७७ ०३:४३ मंगलबार