coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

कोरोना कहरमा साउन : मेहन्दी र हरियो चुरा किन्नेको छैन भिड

साउन महिना महिलाहरूका लागि विशेष महिना हो। यो महिनामा भगवान शिवको व्रत र पूजा गर्ने गरिन्छ। धार्मिक, सांस्कृतिक तथा प्राकृतिक हिसाबले पनि साउनको छुट्टै महत्व छ। यो महिनामा भगवान शिवको विशेष पूजार्चना गरिने भएकाले साउनलाई शिवजीको महिना पनि भन्ने गरिन्छ। साउनमा विवाहित तथा अविवाहित महिलाले विभिन्न मनोकांक्षा राखेर व्रत बस्ने गर्छन।  

साउन महिनामा महिलाहरूले विशेष रुचीका साथ हरियो चुरापोते र मेहन्दी लगाउने प्रचलन छ। साउन महिनामा विवाहित तथा अविवाहित महिलाहरुले मेहन्दी र हरियो चुरा लगाउने गरेको पाइन्छ। महिलाहरु हरियो पहिरनमा सजिनुका साथै हरेक सोमबार व्रतसमेत बस्ने गर्छन।  

साउन महिना सुरुभएसँगै बजारमा हरियो चुरापेतो र महेन्दी लगाउनेको  चहलपहल सुरू हुन्छ। तर यो वर्ष भने बजारमा हरियो चुरापोते र मेहन्दी लगाउने महिलाहरुको चाप श्रृंगार पसलहरुमा घटेको छ।  

असार अन्तिमदेखि नै साउनमा हरियो पोते, चुरा र मेहन्दी लगाउने भिड हुन्थ्यो तर यो वर्ष कोरोना संक्रमणको डरले ग्राहक शून्य जस्तै भएको व्यवसायीहरु बताउँछन्।

साउनमा श्रृंगार समाग्री किन्न असन, इन्द्रचोकमा घुइँचो लाग्थ्यो। तर कोरोना महामारीसँगै व्यापारमा समेत कमी आएको व्यावसायीहरु बताउँछन्।

असन चोकमा आठ वर्ष अघिदेखि श्रृंगार पसल सञ्चालन गर्दै आएकी रुपा थापा यो वर्ष चहलपल कम भएकोले बोहनी हुन पनि मुस्किल रहेको बताउँछिन्।  

‘लामो समय लकडाउन भयो। लकडाउन खुकुलो भए पनि व्यापार छैन्। अहिले सटरभाडा दिन मात्रै पुग्छ’,  

‘यो महामारीबाट सबै सचेत हुनुपर्छ। आफ्नो ज्यानको सुरक्षा आफै पनि गर्नु आवश्यक छ’, थापा भन्छिन् ्‘,हामीले ग्राहकका लागि सेनीटाइजरको व्यवस्था गरेका छौं। धेरै भिडभाड गर्न पनि दिदैनौं पालो गरेर पसलमा भित्र छिर्न दिन्छौं।’

त्यस्तै अर्का पसले बद्री खड्काका अनुसार यतिबेला असन र इन्द्रचोकमा छिरि नसक्नुको भिड हुन्थ्यो। महिलाहरु श्रृंगार सामग्री किन्न लाइन लाग्नु पथ्र्याे। तर यो वर्ष लकडानका कारण सार्वजनिक सवारी चढेर आउने ग्राहक आउन नसको उनी बताउँछन्।  

‘महिनौं भयो पसल बन्द गरेको छ। पसल घरभाडा कसरी तिर्ने घर बस्नु भन्दा बरु दुईचार पैसा त हुन्छ। त्यसैले पसल खोल्ने सुरु गरेको छ। व्यपार नभए पनि टाइम पास भएको छ’, उनले थपे।  

पहिले असारको अन्तिमदेखि नै पसलमा घुँइचो लाग्थ्यो। तर यो वर्ष कोरोनाले सबैजनालाई घर भित्रै थन्कायो। लकडाउनले व्यपार घटाएको व्यवसायीहरु गुनासो गर्छन।  

श्रृंगार समाग्री किन्न र बेच्न एक आपसमा छुने हुनाले आफैमा जोखिम छ। त्यसैले पनि अन्य व्यवसाय भन्दा जोखिम रहेकोले आफूहरुले सुरक्षा अपनाएको उनी बताउँछन्।  

कोरोना कहरबीच पनि केहि महिलाहरु भने पसलमा साउन महिनाको लागि श्रृंगार समाग्री किन्न असन इन्द्रचोकमा आएका छन्। कृर्तिपुरकी संगीता क्षेत्री आफूलाई चाहिले श्रृंगार समाग्री किन्न इन्द्र चोक आएकी छन्। गत वर्ष जस्तै यो वर्ष पनि उनलाई साउन महिनामा हरियो पोते चुरा लगाउने रहर छ।  

उनी भन्छिन,‘मास्क लगाएर सचेत हुनु पर्छ। अहिले ग्राहकहरु पनि पहिले जस्तो भिडभाड गर्नु हुँदैन्। सबै जना मास्क लगाएर आउनु हुन्छ।’  

साउन महिना महिलाहरुका लागि सौभाग्यको महिना भएकाले पनि विवाहित महिलाहरुले हरियो चुरापोते र मेहन्दी लगाउने गरेको क्षेत्रीले बताइन। उनले भनिन् ‘कोरोनालाई सबैलाई त्रास पैदा गरेको छ। बाहिर निस्कन सबै डराएका छन् । म पनि सुरक्षित भएर किनमेलको लागि आएकी हुँ। यो वर्ष पनि श्रीमानको दिर्घायुका लागि र आफूलाई पनि मन पर्ने भएकाले लगाउँछु।’  

 

 

प्रकाशित: १ श्रावण २०७७ १२:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App