coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

जुम्लामा सलह अपडेट सेन्टर

फाइल तस्बिर।

कृषि विकास कार्यालय जुम्लामा सलह अपडेट सेन्टर स्थापना गरिने भएको छ। डोल्पा जिल्ला हुँदै प्रवेश गरेको सलहको झुण्डले बालीनाली नोक्सान गर्न थालेपछि कृषि विकास कार्यालय जुम्लामा सलह अपडेट सेन्टर स्थापना गरिने भएको हो। जिल्ला प्रशासन कार्यालय जुम्लामा बसेको कृषि तथा खाद्य सुरक्षा समितिको बैठकले सलह किराले कृषि उत्पादनमा पार्न सक्ने प्रभावका विषयमा विज्ञसँग छलफल गर्दै उच्च सतर्कता अपनाउने निर्णय गरेको हो।

‘जुम्लामा सलह किरा डोल्पा जिल्ला हुँदै प्रवेश गरेको पाइयो,’ प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले भने, ‘गुठिचौर, पातारासी गाउँपालिका र चन्दननाथ नगरपालिकाको पूर्वी क्षेत्रमा सलहले बालीनालीमा क्षति पुगेको पाइएको छ। फेरि पूर्वोत्तर हावाको गतिसँगै सलह किरा पातारासी गाउँतिर फर्किएको छ।’ सलह किराबाट यहाँको कृषि उत्पादनलाई सुरक्षित राखी खाद्य सुरक्षालाई सुनिश्चित गर्न पूर्वतयारी तथा प्रतिकार्यका लागि कृषि विशेषज्ञ सेवा प्रदान गर्ने बैठकले निर्णय गरेको हो। किसानको ज्ञान चेतना अभिवृद्धिमा विषय विज्ञलाई परिचालन गरी सूचना सम्प्रेषण गर्ने निर्णय भएको हो। किसानलाई जागरुक बनाउन कृषि विकास कार्यालयको नेतृत्वमा तत्काल कार्ययोजना बनाउने भएको छ।  

विशेषज्ञ कार्यालयले विशेषज्ञ सेवा प्रदान गर्ने, स्थानीय तहबाट सूचना प्राप्त गर्ने र सोको दैनिक प्रतिवेदन तयार गरी जिल्ला व्यवस्थापन समिति र सरोकारवालाबीच आदानप्रदान गर्ने निर्णय भएको कृषि तथा खाद्य सुरक्षा समितिका ंसंयोजक बालकराम देवकोटाले जानकारी दिए। सलह किराले कृषि उत्पादनमा पार्ने सक्ने जोखिम कम गर्न जनचेतना प्रदान गर्ने, सलहको नियन्त्रण तथा रोकथामका लागि स्थानीय विज्ञसँगको सुझाव संकलन गर्ने र विशेषज्ञताका आधारमा जिल्लालाई सुहाउँदो विधि, पद्धति र प्रक्रियाबारे प्रचार सामग्री तय गर्ने निर्णय भएको छ। जिल्ला प्रशासन कार्यालय जुम्लाले पनि सलह किरा नियन्त्रण गर्न सबैलाई आआफ्नो क्षेत्रमा खटिन आग्रह गरेको छ। 

प्रकाशित: १ श्रावण २०७७ ०३:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App