८ वैशाख २०८१ शनिबार
अर्थ

व्यावसायिक उडान खोल्न दबाब

गत चैतको दोस्रो सातादेखि बन्द नियमिततर्फको आन्तरिक तथा बाह्य उडान साउन ६ सम्म बन्द छ । सरकारले आइतबार रातिदेखि पहिलो चरणको उद्दार सम्पन्न गरिसकेपछि केही गन्तव्यमा पुनः एक साताका लागि उद्दार उडान अनुमति थपिएको छ ।  

स्वदेश फर्केकाभन्दा दोब्बर नेपाली अझै विदेशमा रहेकाले एक साताका लागि पुनः उद्दार उडान थपिएको बताउँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले व्यावसायिक उडान खोल्न पटक–पटक छलफल गरिसके पनि निणर्यमा पुग्न सकेको छैन । मन्त्रालय स्रोतका अनुसार व्यावसायिक उडान साउन १५ सम्म खोल्ने गरी तयारी छ ।

सरकारले सार्वजनिक सवारी सञ्चालनको समेत अनुमति दिइसक्दा गत महिना सार्वजनिक भएको हवाई उड्डयन निर्देशिका अनुसार उच्च स्वास्थ्य सतर्कता अपनाउँदै हवाई सेवा सञ्चालनमा ल्याउनुपर्छ भन्दै वायुसेवा कम्पनी र पर्यटन व्यवसायी दैनिकजसो मन्त्रालय धाइरहेको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार सरकारले आन्तरिक उडान खोल्न पूर्ण तयारी गरे पनि अन्तर्राष्ट्रिय उडान खोल्न भने विभिन्न मापदण्डका कारण अहिले नै निणर्य गर्न सक्ने अवस्थामा छैन ।

आन्तरिकतर्फका उडान खोल्न स्वास्थ्य प्रोटोकलसहित विमानस्थलमा दुरी कायम राख्ने लगायत तयारी भए पनि अन्तर्राष्ट्रिय उडान खोल्न आइकाओ मापदण्ड र विभिन्न देशका नियमअनुसार साउन १५ अगाडि खोल्न नसक्ने अवस्थामा मन्त्रालय रहेको स्रोतको दाबी छ ।

उडान खोल्नुअघि चैत ११ पहिले हुँदै आएका दैनिक तीन सय ५० जति उडान तथा अवतरणमा भने कटौती र उडान समयसमेत परिर्वतन गर्नेबारे मन्त्रालयले तयारी गरिरहेको स्रोतले भनाइ छ ।

पर्यटन व्यवसायीले अहिले नै अन्तर्राष्ट्रिय उडान खोले २० प्रतिशतसम्म पर्यटक आगामी सिजनका लागि नेपाल आउन सक्ने अनुमानसहित सरकारलाई दबाब दिन थालेका छन् । हवाई उडान बन्द हुँदा आरोहणका लागि आउन चाहनेसमेत आउन नपाएको आरोहण सम्बद्ध अधिकारीको भनाइ छ ।  

सरकारले सन् २०१५ कै अवस्था बनाउनुभन्दा आरोहणका लागि आउन दिए सरकारलाई राजस्व र व्यवसायीले काम पाउने र आरोहणका लागि आउने पर्यटक धेरै दिन काठमाडौंमा नटेक्ने भएकाले समेत हिमाली पर्यटन र पदयात्रालाई सञ्चालनमा ल्याउन सरकारले निश्चित उडान खोल्न व्यवसायीले सरकारलाई दबाब दिइरहेका छन् ।

आन्तरिकतर्फका विमान कम्पनीले उडानका लागि तयार रहेको जानकारी सरकारलाई दिइसकेका छन् । स्वास्थ्य मापदण्डसहित देशभरका विमानस्थल उडानका लागि तयार रहे पनि साउन ७ बाट आन्तरिक उडान खोल्नेबारे एक हप्ता पहिले मात्रै निर्णय सार्वजनिक गर्ने मनस्थितिमा मन्त्रालय रहेको जनाइएको छ ।

यता, आज (बुधबार) देखि पुनः एक हप्ताभित्र अलपत्र नेपाली ल्याउन विमान कम्पनीले उडान तालिका सार्वजनिक गरे पनि वास्तविक अप्ठेरोमा परेकाहरू आउन नपाएकाले व्यावसायिक उडान नै खोल्नुपर्ने माग उठिरहेको छ ।

अध्यागमन विभाग त्रिभुवन विमानस्थल कार्यालय प्रमुख सागर आचार्यका अनुसार गत जेठ २३ गतेयताका उडानमार्फत २६ हजार सात सय ३९ नेपाली स्वदेश भित्रिएका छन् । चैत ११ देखि व्यावसायिक उडान बन्द रहे पनि १६ हजार दुई सय तीनजना नेपालबाट बाहिरिएका छन् । चैत ११ यता अहिलेसम्म चार सय ३१ उडान तथा अवतरण भएको उनको भनाइ छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सह–सचिव बुद्धिसागर लामिछानेका अनुसार अन्तर्राष्ट्रिय उडान खोल्न सरकारले छलफल जारी राखे पनि निणर्य हुन सकेको छैन ।

‘सरकारले विदेशमा अप्ठेरोमा परेकालाई प्राथमिकताका आधारमा नेपाल ल्याइसकेको छ । नेपाल आएकाहरूको सूचीमा अप्ठेरोमा परेका, गर्भवती, आफन्त भेट्न गएका, रोजगारी गुमेकाहरू छन्,’ उनले भने, ‘अझै विदेशमा ५० हजार जतिले नेपाल आउन त्यहाँस्थित नियोगमा नाम दर्ता गराएकाले थप एक हप्तामा १८ हजारलाई ल्याउने तयारीसहित उडान गर्न लागिएको छ ।’

सरकारले सम्बन्धित मुलुकको अवस्था हेरेर निर्णय लिन सक्ने जनाउँदै साउन अन्त्यसम्म उडान खुल्न सक्ने उनको अनुमान छ ।  

भारत, पाकिस्तान, बंगलादेश लगायत छिमेकी मुलुकमा समेत संक्रमण बढिरहेकाले महामारीको अवस्था अनुसार सरकारले उपयुक्त समय हेरेर उडान तयारी भएरहेको उनको भनाइ छ ।

देशमा हाल रहेका क्वारेन्टिनको अवस्था हेरेर विदेशबाट आउन दिने सरकारको नीति अनुसार भनेजस्तै सहजै खुला गर्न सक्ने अवस्था नरहेको उनको भनाइ छ । ‘विदेशबाट हुने व्यावसायिक उडानमा एक सिट खाली गरेर यात्रु ल्याउँदा टिकट महँगो हुने र पूर्ण क्षमतामा नभई विमानहरूले उडान नगर्ने भएकाले संक्रमणको अवस्था नै कहिले खुल्छ भन्ने आधार हो,’ उनले बताए ।

सरकारले पहिलो चरणको उद्धार बन्द गरेपछि सोमबार र मंगलबार कार्गाे उडानबाहेक कुनै पनि यात्रु नेपाल भित्रन तथा बाहिरिन पाएनन् ।

विमानस्थल कार्यालयका अनुसार सोमबार सोमबार दुई कार्गाे उडान भए भने मंगलबार चार कार्गाे उडान भएका छन् । 

प्रकाशित: ३१ असार २०७७ ०४:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App