coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

म्याग्दीमा ४० प्रतिशत रोपाइँ सकियो

क्याप्शन

धान रोपाइँका लागि उपयुक्त मानिने वर्षातकाे समय असार १५ बितिसक्दा हिमाली जिल्ला म्याग्दीमा ४० प्रतिशत रोपाइँ भएको छ । एक नगरपालिका र पाँच गाउँपालिका रहेको म्याग्दीको अधिकांश ठाउँमा रहेका खेतहरूमा धान रोपाइँ गरिएको हो । यसवर्ष समयमै मनसुन सुरु भएको हुँदा जिल्लाको अधिकांश ठाउँमा रोपाइँ भैरहेकाले हालसम्म जिल्लामा ४० प्रतिशतको हाराहारीमा धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।

गएको हिउँदबाट नै पटकपटक हिमपात तथा वर्षा परिरहेको हुँदा यसवर्ष समयमै पर्याप्त मनसुनी वर्षा भएकाले पनि पहाडी क्षेत्रमा खेत रोपाइँ गर्न सहज भएको स्थानीय कृषकहरू बताउँछन् । गत वर्षको तुलनामा यसवर्ष समयमै मनसुन परेको हुँदा धान रोपाइँ गर्न कृषकलाई सहज हुनुका साथै धान उत्पादन समेत बढने कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख गोविन्दराज कोईरालाले बताए ।

‘माथिल्लो क्षेत्रसहित मकै खेती नगरिएको तल्लो क्षेत्रमा पनि धमाधम रोपाइँ भैरहेको छ,‘यसपटक धान खेतीको हेक्टर जमिन वृद्धि भएकाले उत्पादन बढ्छ’ उनले भने । कोरोना भाइरसका कारण यसपटक गाउँघरमा खेती किसानी गर्न युवा जनशक्ति भएकाले बाली लगाउन सहज हुनुका साथै उत्पादन बढने कृषि प्राविधिकहरूको भनाइ छ ।  

जिल्लाको कुल खेतीयोग्य जमिन ३० हजार आठ सय ५६ हेक्टरमध्ये १९ हजार ४ सय ९८ हेक्टरमा मात्रै खेती गर्ने गरिएको छ भने तीन हजार आठ सय ९८ हेक्टरमा धान खेती हुँदै आएको छ । गत आर्थिक वर्षसम्म कुल खेतीयोग्य जमिनको करिब ११ प्रतिशत जमिनमा मात्रै सिँचाई सुविधा पुगेको कृषि ज्ञान केन्द्रको तथ्यांक छ । म्याग्दीको बेनी नगरपालिकासहित पाँचवटै गाउँपालिकामा धान खेतीको उत्पादन हुन्छ । म्याग्दीमा गौरिया, जेठोबुढो, छुम्रुङ, खुमल, गुडुरा, दर्माली, मार्सी, आङा, झिनुवा, ताकमारे, माछापुच्छ्रे–३, लुम्ले–२ जस्ता लोकल जातका स्थानीय धानहरू रोप्ने गरिन्छ ।

प्रकाशित: १६ असार २०७७ ०७:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App