७ वैशाख २०८१ शुक्रबार
अर्थ

तिलाको बजेट : शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकता

जुम्लाको तिला गाउँपालिकाले शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ । यसैगरी रोग,भोग र रोजगारलाई पहिलो आवश्यकताका रुपमा हेरेको छ । वर्ष २०७७।०७८ को नीति कार्यक्रम र बजेट प्रस्तुत गर्दै उपाध्यक्ष विष्णु बुढाले शिक्षा, स्वास्थ्य र पूर्वाधार विकास प्राथमिकतामा परेको बताइन् । उनले शिक्षा तर्फ चालिस लाख रुपैयाँ विनियोजन गरेकोमा स्वास्थ्य तर्फ एक करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिइन् ।  

भौतिक पूर्वाधार विकासमा २५ करोड रकम ५९ लाख ८४ हजार रुपैयाँ विनियोनजन गरिएको हो । कृषि विकास तर्फ ५० लाख रुपैयाँ, पशु विकास तर्फ ३० लाख रुपैयाँ, पर्यटन तथा सस्ंकृतिमा १० लाख रुपैयाँ र उद्योग व्यवसाय तर्फ २० लाख रुपैयाँ विनियोजन गरिएको हो । उपाध्यक्ष बुढाले प्रस्तुत गरेको नीति कार्यक्रम र बजेटमा महिला तथा बालबालिका तर्फ ४० लाख रुपैयाँ, पोषण तर्फ ३० लाख, अपांगता भएका ब्यक्ति तर्फ ५ लाख रुपैयाँ, युवासंग अध्यक्ष कार्यक्रममा १५ लाख रुपैयाँ र लक्षित बर्गमा ३० लाख रुपैयाँ विनियोजन गरिएको हो ।  

सुशासन तथा संस्थागत विकासमा ७५ लाख रुपैयाँ, वन वातावरण तथा विपद् व्यवस्थापनमा २० लाख रुपैयाँ विनियोजन गरिएको हो । विपद् व्यवस्थापन कोषमा १० लाख र प्रकोप व्यवस्थापन कोषमा ९० लाख रुपैयाँ प्रस्ताव गरिएको छ । उपाध्यक्ष बुढाले आर्थिक बर्ष २०७७।०७८ को कुल ४० करोड १० लाख ८० हजार रुपैयाँ बरावरको बजेट प्रस्तुत गरिन् ।  चालु तर्फ ६ करोड ४५ लाख, शसर्तमा १५ करोड ८५ लाख रुपैयाँ र पुजिगत खर्चमा १७ करोड ८० लाख रुपैयाँ विनियोजन गरिएको हो ।

आगामी दिनमा नागरिकलाई स्थानीय सरकारको आभाष दिलाइने गरि नीति तथा कार्यक्रम सार्वजनिक गरिएको उपाध्यक्ष बुढाले बताइन् । कृषि क्षेत्रलाई गाउँपालिकाको उत्पादनको प्रमुख क्षेत्रका रुपमा स्थापित गर्ने, नतिजामा आधारित विकास गर्ने परिपार्टीको विकास गरिने र बालविवाहलाई निरुत्साहित गर्न सरोकारवाला संग प्रभावकारी समन्वय गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ  ।  

छुईगोठ मुक्त अभियानलाई निरन्तरता दिने, सेवाप्रवाहलाई सुशासनमैत्री, नागरिकमैत्री र भ्रष्टचार मुक्त बनाउने र  कार्यक्रममा दोहोरोपना हुन नदिन विशेष सतर्कता अपनाउने पनि नीति तथा कार्यक्रमले बोलेको छ । उपाध्यक्ष बुढाले भनिन्,‘ आगामी आर्थिक वर्षमा रसायनमुक्त गाउँपालिका घोषणा गर्न आवश्यक पुर्वाधार निर्माण गर्ने, आफ्नो वडा आफै बनाउ भन्ने नीतिलाई कार्यन्वयनमा लैजाने, एक घर एक धारा अभियानालाई पुर्णतः कार्यन्वयनमा लिइने छ  ।’

आधारभुत विद्यालयमा कक्षा एक देखि अग्रेजी माध्यमबाट पठनपाठन गर्ने व्यवस्था मिलाइने, चिनौ आफ्नै माटो, बनाउ आफ्नै गाउँ कार्यक्रम सञ्चालन गरेर युवाहरुलाई विकास निर्माण र व्यवसायमा लाग्न उत्प्रेरित गर्ने र उत्पादनका आधारमा किसानलाई प्रोत्साहन स्वरुप पुरस्कृत गर्ने नीति अवलम्बन गरिएको छ ।  

तिला गाउँपालिकाले खाद्य वस्तुको गुणस्तर र नियमनलाइ प्रभावकारी बनाउदै  उच्च मुल्यका कृषि वस्तु उत्पादनमा किसानको ध्यान केन्द्रित गराउने देखि बाँझो जग्गा प्रयोजनका लागि एक गाउँ एक उत्पादन कार्यक्रम सञ्चालन गर्ने र  सामूहिक खेतिलाई बढवा दिने खालको नीति सार्वजनिक गरेको हो । विदेशबाट फर्केका युवाहरुको लगत संकलन गरेर स्वरोजगार सिर्जना गरिने र युवा स्वरोजगार तथा उद्यमशिलता विकासका लागि युवा उद्यमशिलता कार्यक्रम सञ्चालनमा ल्याइनेछ ।  

मेरो साथी पर्यटक, हाम्रो पर्यटकीय स्थल कार्यक्रमको थालनी गरि पर्यटक आकर्षित गर्नुका साथै पर्यटकीय स्थलहरुको अभिलेखिकरण गर्ने नीति छ । 

तत्काल कोरोनाको प्रभावबाट अवरुद्ध पठनपाठनमा जोड दिनका लागि बैकल्पिक शिक्षण क्रियाकलापमा जोड दिइने,प्रत्येक माबि लाई प्रबिधिमैत्री बनाउन स्रोत साधनको ब्यबस्था मिलाउने, शिक्षण सिकाइलाई प्रभावकारी बनाउन अभिभावक शिक्षामा जोड दिने, शिक्षाको पालिकास्तरीय प्रोफाइल तयार गरि शैक्षिक योजना निर्माण गरिने, उच्च शिक्षा अध्ययनका लागि पालिकास्तरिय छात्रवृत्ति कार्यक्रम संचालन गरिने पनि नीति तथा कार्यक्रम भित्र समावेश गरिएको छ ।,  

पालिकास्तरिय शिक्षा निति निर्माण गरी कार्यान्वयनमा ल्याइने र तत्काल विदेशबाट फर्किएका सिपयुक्त जनशक्तिलाई मध्येनजर गरि छोटो अवधिको रोजगार कार्यक्रम संचालनमा जोड दिइनेछ ।

सुनौलो हजार दिन भित्रका महिलाका लागि गर्भवती आमासँग उपाध्यक्ष कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै निरन्तरता दिने, स्वास्थ्य क्षेत्रको पहिलो खुड्कीलो महिला स्वास्थ्य स्वयमसेविकालाई काम गर्ने हौसला बढाउनका लागि उत्प्रेरित गर्ने खाले कार्यक्रम सञ्चालन गरिने, आगामी वर्षमा नियमित रुपमा स्वास्थ्य संस्थामा गर्भजाँच गर्नुका साथै स्वास्थ्य संस्थामा सुत्केरी हुने दरलाई बढाउदै घरमा सुत्केरी हुने कार्यलाई निरुत्साहित बनाइने नीति अवलम्बन गरिएको उपाध्यक्ष बुढाले बताईन् ।  

महिला स्वरोजगार सिर्जना गर्नको लागि ढाँका उद्योग औपचारीक रुपमा दर्ता गरेर सञ्चालनमा ल्याईनेछ । मेरो फोहोर मेरो जिम्मेवारी भन्ने मुलनाराका साथ सडक संग जोडिएका बजार सुधार गर्ने, गाउँपालिकालाई बेरुजु रहित बनाउने र तिला गाउँपालिकालाई कोभिड १९ महामारी मुक्त गाउँपालिका बनाउनु पहिलो प्राथमकिता भएकोले महामारी रोगथामका लागि अपनाउनु पर्ने स्वास्थ्य सजगताको नियम पालान गर्ने निती बनाइने छ।

पटक पटक कार्यालयमा आएर कर्मचारीमाथि गरिने दुव्र्यवहारलाई मध्येजर गर्दै कर्मचारीको मनोबल उच्च पार्न सुरक्षाको प्रत्याभुति दिलाइने नीति समेत नीति तथा कार्यक्रमले समावेश गरिएको छ ।

प्रकाशित: १० असार २०७७ १५:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App