नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले माक्र्सवाद धर्मशास्त्र जस्तो रटेर भट्याउने विषय नभएको बताएका छन्।
मंगलबार क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालसहितका विभिन्न समूहबाट आएका युवाहरुलाई पार्टी प्रवेश गराउँदै उनले यस्तो बताएका हुन्।
पार्टी कार्यालय पेरिसडाँडामा आयोजित एकता घोषणा समारोहलाई सम्बोधन गर्दै संयोजक दाहालले देशको विषम राजनीतिक परिस्थिति र वैदेशिक शक्ति केन्द्रहरूको चलखेल रोक्न सम्पूर्ण वामपन्थी र देशभक्तहरूको बलियो शक्ति निर्माण अपरिहार्य रहेको बताए।
नवप्रवेशीहरूलाई सम्बोधन गर्दै उनले भने, ‘लेनिनले पटक-पटक भन्नुहुन्थ्यो, ठोस परिस्थितिको ठोस विश्लेषण नै मार्क्सवादको जिउँदो आत्मा हो। धर्मशास्त्रमा जस्तै श्लोक उच्चारण गर्नु र भट्याइराख्नु मार्क्सवाद होइन। देश, काल र परिस्थितिमा के परिवर्तन आइरहेको छ र कम्युनिष्टहरूले त्यसमा कसरी पहलकदमी लिने भन्ने विचार गर्नु नै मार्क्सवादको गुदी कुरा हो।’
दाहालले युवाहरूले क्रान्तिको खोजीमा विभिन्न प्रयोग गरेको तर अन्त्यमा वैज्ञानिक बाटो रोजेर मूल घरमै फर्किएकोमा खुसी व्यक्त गरे।
‘तपाईंहरू क्रान्तिको खोजीमा हुँदाखाँदाको राम्रो पार्टी छाडेर जानुभयो, विप्लवजीहरूसँग पनि अनुभव गर्नुभयो। तपाईँहरूको नियतमा म शंका गर्दिनँ, तर इमानदार हुनु र वैज्ञानिक हुनु एउटै कुरा होइन,’ दाहालले भने, ‘अहिले तपाईंहरू बुद्धि बढाएर, अनुभव हासिल गरेर आउनुभएको छ। अब यो एकता दह्रो हुन्छ।’
संयोजक दाहालले १० वटा समूहबाट सुरु भएको एकता अभियान अहिले २३ वटा समूहमा विस्तार भएको जानकारी दिँदै भोलि (बुधबार) पनि नेकपा माओवादी भन्ने समूहबाट ठूलो संख्यामा नेता कार्यकर्ताहरू ध्रुवीकरणको प्रक्रियामा आउन लागेको बताए।
उनले अब भावनात्मक आवेगमा मात्र नभई विज्ञान र विचारको आधारमा विशाल समाजवादी भवन निर्माण गर्न सबैलाई अपिल समेत गरे।
प्रकाशित: १३ माघ २०८२ १५:१९ मंगलबार





