२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

वामदेवको दाबी- हाम्रो पार्टीले बहुमत ल्याउँछ, समाजवादको आधार खडा गरेर देखाउँछौं

फाइल तस्बिर।

नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले आफ्नो पार्टीले बहुमत ल्याउने दाबी गरेका छन्। मंगलबार केही युवाहरुलाई पार्टी प्रवेश गराउँदै उनले यस्तो बताएका हुन्।

नवप्रवेशीहरूलाई सम्बोधन गर्दै नेता गौतमले पार्टीले बहुमत हासिल गर्नासाथ मुलुकमा समाजवादको आधार कसरी सिर्जना हुन्छ भनेर व्यवहारमै गरेर देखाउने प्रतिबद्धता समेत व्यक्त गरे।

उनले भने, ‘हाम्रो पार्टीले बहुमत ल्याउँछ। बहुमत हासिल गर्नासाथ हामीले समाजवादको आधार कसरी सिर्जना हुन्छ, त्यो गरेर देखाइदिने छौं। कुनै पनि व्यक्ति काम गर्न नपाउने गरी, बेरोजगार भएर बस्नुपर्ने स्थिति सदाका निम्ति समाप्त हुनेछ। सभ्यता र समृद्धि हामीले विकसित गरेर देखाइदिने छौं।’

गौतमले आफ्नो पार्टी साना-साना नदीहरू मिसिएर बनेको महासागर जस्तै बन्दै गएको टिप्पणी गरे। ‘अहिले साना-साना नदीहरूबाट बग्दै-बग्दै आएको यो पार्टी अब महासागरमा परिणत भएको छ,’ गौतमले भने, ‘महासागर बनेको यो पार्टीमा बुझेका, पढेका र अनुभव प्राप्त व्यक्तिहरूको जमघट छ।’

उनले पार्टीमा प्रवेश गर्नु वा समाहित हुनु केवल औपचारिकता मात्र नभई एउटा संकल्प भएको बताए। यो पार्टीले ठूलो जिम्मेवारी पूरा गर्नुपर्ने भन्दै उनले सो जिम्मेवारी र संकल्प पूरा गरेरै छाड्ने दृढता व्यक्त गरे।

आज पार्टीमा समाहित हुनेहरूले खुसीसाथ आफ्नो राजनीतिक जीवन बिताउन पाउने भन्दै उनले युवाहरूलाई स्वागत समेत गरे।

प्रकाशित: १३ माघ २०८२ १४:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App