८ वैशाख २०८१ शनिबार
अर्थ

इटहरीको बजेट एक अर्ब ७८ करोड

इटहरी उप–महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७–०७८ का लागि एक अर्ब ७८ करोडको बजेट सार्वजनिक गरेको छ । बुधबार सातौं नगर परिषदबाट उपप्रमुख लक्ष्मी गौतमले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेकी हुन् । सार्वजनिक गरिएको बजेटमध्ये चालुतर्फ ७१ करोड ७५ लाख, पूँजीगततर्फ एक अर्ब चार करोड ८५ लाख र वित्तिय व्यवस्थातर्फ एक करोड ४० लाख अनुमान गरिएको छ ।  

इटहरीले चालु आर्थिक वर्षका लागि एक अर्ब ८५ करोड ५० लाखको अनुमानित बजेट सार्वजनिक गरेको थियो । आर्थिक वर्ष २०७५–०७६ मा एक अर्ब ३७ करोड १० लाख ५८ हजार र २०७४–०७५ मा एक अर्ब ३१ करोड १७ लाख २५ हजार छुट्याएको थियो ।  

विश्वभर कोरोना भाइरस (कोभिड–१९ ) को महामारीले आक्रान्त बनाएको बेला चालु आर्थिक वर्षभन्दा आगामी आर्थिक वर्षका लागि यहाँ अनुमान गरिएको खर्च व्यर्होने श्रोत मध्ये संघीय सरकारबाट प्राप्त समानिकरण अनुदानबाट ३० करोड ९२ लाख, संघीय सर्शत अनुदानबाट ४१ करोड १८ लाख, संघीय राजश्व बाँडफाँडबाट १५ करोड पाँच लाख ८६ हजार ४१० र संघीय समपुरकवाट एक करोड ६८ लाख हुने उल्लेख छ ।  

यस्तै, प्रदेश समानिकरण अनुदानबाट ९४ लाख ७० हजार, प्रदेश शर्शत अनुदानवाट सात करोड, प्रदेश समपुरकवाट एक करोड, प्रदेश राजश्व वाँडफाँडबाट २४ करोड २१ लाख ४३ हजार ५९०,  आन्तरिक आयबाट ३८ करोड १५ लाख तथा तराई मधेस समृद्दि कार्यक्रमबाट ३५ लाख, शासकीय सुधार कार्यक्रमबाट दुई करोड, न्युनवित्त परिचालनवाट पाँच करोड ५० लाख र नपुग हुने रकम दस करोड सञ्चित कोषको मौज्दात परिवर्तनबाट प्राप्त गरि परिपूर्ति गरिने सार्वजनिक गरियो ।  

आगामी आर्र्थिक वर्षमा कानुन बमोजिम जनप्रतिनिधिले बैठक भत्ताबाट पाउने रकममा १५ प्रतिशत कटौती गरि त्यस्तो रकम कोरोना भाइरस नियन्त्रण कोष वा स्वास्थ्य कोषमा जम्मा गरिने प्रस्ताव पेस गरिएको छ। बजेटमा कोरोना भाइरसको महामारीबाट उपमहानगरपालिकालाई सम्भव भए सम्म सुरक्षित राख्न आवश्यक प्रवन्ध गर्ने, वैदेशिक रोजगारबाट फर्कनेलाई रोजगारीको अवसर श्रृजना गर्ने, नगरक्षेत्रमा औधोगिक व्यापारिक, व्यवसायिक, कृषिजन्य तथा पर्यटकीय क्षेत्रलाई सुढृढ तथा व्यवस्थित गरी आर्थिक क्रियाकलापलाई चलायमान गर्ने कार्य समेटिएको छ।  

यस्तै, पछाडि पारिएका वर्ग तथा समुदायलाई सामाजिक आर्थिक परिचालनको माध्यमबाट नेतृत्व क्षमत्ता विकास गरी नगरको विकास र सम्वृद्दिमा पहँुच स्थापित गर्ने, सुशासन प्रर्वद्दन गर्दै भ्रष्टचारमा शुन्य सहनशिलताको नीति अपनाइने  तथा व्यवस्थित सडक पूर्वाधार निर्माण गरी हिलो र धुलो मुक्त नगरमा रुपान्तरण गर्ने लक्ष्य राखेर बजेट सार्वजनिक गरिएको उपप्रमुख गौतमले नगरसभामा बताइन् ।

प्रकाशित: १० असार २०७७ १२:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App