coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

बजेट सिध्याउन असारमा कामको चटारो

भ्रष्टाचार गर्न सहज

वर्षभरीका १२ महिनामा फुर्सदमा झै वसिरहने र असारको झरीमा हतार हतारमा काम गर्ने वर्षौदेखिको परम्परागत समस्या हो । देश संघीयतामा गएर तीन तहका सरकार बनेपछि विकासको बाधक रहेको यो ‘असारे विकास’ टुट्ने धेरै आशा गरेका थिए । तर यो क्रम टुट्न सकिएको छैन । 

सुदूरपश्चिमका नौ वटै जिल्लामा बजेट सिध्याउन धमाधम निर्माणका काम भैरहेका छन्। देश लकडाउनमा रहेर सबैजना घरभित्र रहेका बेला जेठ महिनामा प्रदेश शभा सदस्यको प्रदेश विकास कार्यक्रम(प्रदेश सासंद कोष)को तीन करोड रकम सिध्याउन बिभिन्न विषयगत कार्यालयमा उपभोक्ता समिती सम्झौता गर्नमा व्यस्त थिए । प्रदेश सासंदहरूले समेत सम्झौता गर्न दवाव दिए । 

‘प्रदेशशभा सासंदहरूले दिएको दवाव थेग्न नसकेर असार भित्र काम सिध्याउन नसकिने अवस्थामा पनि हामीले सम्झौता गर्नु परेको छ,’ पर्यटन विकास कार्यक्रम कार्यान्वयन ईकाईका प्रमुख किशोर आर्यालले भने, ‘लकडाउनमा सबै घर भित्र भएका वेला जेठ महिनाभरी हामिलाई बिहान देखि साँझ सम्म यही कामले गर्न भ्याई नभ्याई भयो ।’ 

सुदूरपश्चिम प्रदेशमा प्रदेशशभा सदस्यका ३२ निर्वाचन क्षेत्र रहेका छन्। तीन करोडका दरले ९६ करोड भौतिक पुर्वाधार विकास कार्यक्रम अन्तर्गत बजेट बिनियोजन भएको छ । करिब आधा बजेटको बिभिन्न कार्यक्रम लकडाउनको अवधीमा बैशाख र जेठमा सम्झौता गरेर हतार हतारमा काम भैइरहेको छ । बिभिन्न निर्माणका काम देखि सडकमा गा्रभेल सम्मका कार्यक्रम उपभोक्ता समिती मार्फत भैरहेका छन्।  

यसैगरी धनगढी उपमहानगरपालिकाले पनि बिकासका काम असारमा गरिरहेको छ । जेठ महिनामा सम्झौता गरेर बिभिन्न ठाँउमा नाली निर्माण, बिभिन्न भवन निर्माण लगायतका काम गरिरहेको छ । यसैगरी बिभिन्न नगरपालिका र गाउँपालिकाले पनि असारमा काम गरिरहेको स्थानीय बताउँछन्। प्रदेश सरकार र संघीय सरकार अन्तर्गत काम पनि असारमा हतारहतार गरिरहेका छन्। जेठ महिनामा मात्र धेरै योजना सम्झौता गरेर अहिले झरीमा समेत रातारात काम भैरहको छ ।

पिच गर्ने, गा्रभेल गर्ने, नाली बनाउने, मन्दिर बनाउने, सामुदायिक भवन निर्माण लगायतका बिकास निर्माणका काम भैरहेका छन्।

‘असारको झरीमा रातबिरात काम गरिरहेका छन्, यो बजेट कुम्लाउन हो भनेर सबैले बुझेका छन्,’ कृष्ण महरा भन्छन्, ‘जसले जे गर्दापनि असारमा मात्र काम हुने भएपछि जनताले तिरेको करको रकम भ्रष्टाचारमा सिद्धिने बाहेक अरु केही उपलब्धी छैन ।’

भ्रष्टाचार गर्न सहज

असारमा हतारहतारमा काम गरेर कागजपत्रमा काम देखाएर पैसा खान सहज हुने भएकाले वर्षभरी काम नगरेर असारमा मात्र काम गर्ने समस्या रहेको कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक डा. हेमराज पन्त बताउँछन्। ‘देश बनाउ, जनतालाई सुविधा दिउ र विकास गरु भनेर काम गर्ने नभई कागजपत्रमा काम देखाएर भ्रष्टाचार गर्न सजिलो हुने हुनाले असारमा काम गर्ने गरिन्छ,’ उनी भन्छन्, ‘असारमा काम गर्नु भनेको जनताले तिरेको करको दुरुपयोग हो ।’ असारमा गरिने काम गुणस्तरहिन हुने गर्छ । ‘हतार हतारमा रातबिरातमा काम गर्ने, असार २५ भित्र पास गरिसक्नु पर्ने भएकाले असारमा अन्तिममा कागजपत्र मिलाएर भ्रष्टाचार गर्ने जुगाड हो,’ उनले भने, ‘असार भएको विकासका कामको सही अनुगमन भएमा पुरै गुणस्तरहिन काम भएको र व्यापक भ्रष्टाचार भएको पाईन्छ ।’

हातले पिच उम्किने ५/६ महिनामै भत्किने, अन्य भौतिक पुर्वाधार पनि कमजोर र गुणस्तरहिन काम हुने गरेका छन्।

असारमा सबैतिर काम हुने भएकाले र हतारहतारमा काम गर्नुपर्ने भएकाले कामको गुणस्तर जाँच नहुने, हतारमै पास पनि गरेर भुक्तानी हुने भएकाले जानीजानी वर्षभरी काम नगरेर असारमा काम गर्ने गरिएको स्थानीय बताउँछन्। कर्मचारी देखि जनप्रतिनिधी, उपभोक्ता समिती, प्राविधिक सबैको मिलेमतो हुने हुनाले सम्झौता बमोजिमको गुणस्तर र राम्रो काम नभएपनि कागजपत्र बनाएर बजेट भुक्तानी हुने गरेको एक कर्मचारीले बताए । ‘आधा भन्दा बढी बजेट खल्तीमा गएपछि कसरी गुणस्तरीय काम हुन्छ,’ उनले भने ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पदग्रहण लगत्तै असारे बिकास विकासको वाधक भएकाले यो रोक्ने भनेर घोषणा गरेका थिए । अहिले सम्म असारे विकास रोकिएको छैन ।  

असार महिनामा सबैतिर विकास निर्माणका काम भइरहेको स्थानीय बताउँछन्। ‘जताततै अहिले असारमा विकास निर्माणका काम भ्याई नभ्याई गरी भइरहेका छन,’ स्थानीय दलबहादुर वोहरा भन्छन्,‘बजेट सिध्याउन असारमा हतार हतारमा काम भैरहेको छ, अनि कसरी देशको विकास हुन्छ,’ उनले भने, ‘असारे विकास नरोकेसम्म देशको विकास हुदैन ।’ असारमा काम गर्नु भनेको विकासका लागी नभई जसरी पनि बजेट सिध्याउन उद्येश्यले हुने सबैले बुझेपनि यसलाई रोक्न र सुधार गर्न जिम्मेवारीमा रहेका कसैले पनि ध्यान दिएको छैन्।

प्रकाशित: ८ असार २०७७ १३:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App